डीसीसीको दुरावस्थाः किसानलाई दिन पैसा छैन, गोदाममा स्टक बढेको बढ्यै
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १७ बिहिबार
1.6k
Shares
काठमाडौँ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) एकपछि अर्को समस्यामा पर्दै गएको छ । उत्पादनभन्दा कम बिक्री भएर गोदाममा स्टक थपिँदै जाने र किसानको भुक्तानीसमेत थपिँदै जाने कारणले संस्थान दिन प्रतिदिन कमजोर बन्द गएको हो ।
दूध संकलनका लागि अफ सिजन मानिने यो समयमै संकलन भएको दूधको उत्पादनसमेत बिक्न नसक्दा संस्थानले नजिकिँदै गरेको पिक सिजनमा कसरी दूध संकदन गर्ने भन्ने समस्यासमेत देखिएको छ ।
संस्थानको अनुमानमा अहिले किसानहरुबाट संकलित दूधका लागि तत्कालै भुक्तानी गर्नुपर्ने रकम मात्रै १ अर्ब ३० करोड रुपैयाँ हाराहारीमा रहेको छ । उता संस्थानसँग अहिले मख्खन मात्रै ९०० मेट्रिकटनको हाराहारीमा छ ।
त्यसबाहेक धुलो दूध तथा अन्य स्टकहरु समेत गरी ७० देखि ८० करोडको स्टक गोदाममा छ । तर ती सामानहरु बिक्री हुन नसकिरहेको संस्थानका उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारी बताउँछन् । सोही कारण अहिले बक्यौता भुक्तानीमा समस्या भइरहेको उनको भनाइ छ ।
गोदाममा रहेको सबै सामान बिक्यो भने पनि किसानलाई भुक्तानी गर्न बाँकी रकम ५० देखि ६० करोड बाँकी हुन्छ । तर यो स्टक क्लियर गर्न नै समस्या भइरहेको उपमहानिर्देशक अधिकारी बताउँछन् । यस्तो अवस्थामा दशैँ आउन लाग्दा समेत किसानले भुक्तानी पाउन नसक्ने अवस्था देखिएको छ ।
छैन स्टक क्लियरेन्सको विकल्प
अहिले गोदाममा थुप्रिएको मखन र धुलो दूध बिक्रीका लागि डीडीसीसँग दुईवटा विकल्प छन् । पहिलो, निर्यात गर्ने र दोस्रो आन्तरिकखपत बढाउने ।
अहिले मखन तथा घ्यु निर्यात हुने सम्भावित ठाउँ भनेको भारत, बंगलादेश र तिब्बत रहेको डीडीसीको भनाइ छ । तर, लागतको अवस्था हेर्दा यी कुनै पनि ठाउँमा निर्यात हुने सम्भावना देखिँदैन । अहिलेको अवस्थामा नेपालको भन्दा यी क्षेत्रमा दूधजन्य पदार्थको मूल्य ३० देखि ४० प्रतिशत सस्तो छ । डीडीसीको लागत नै महँगो भएका कारण ‘ब्रेक इभेन’ मूल्यमा बेच्दा समेत त्यो मूल्यसँग प्रतिस्पर्धा गर्ने अवस्था छैन । यस्तो अवस्थामा घाटा खाएर बेचे मात्रै यस्तो स्टक क्लियर हुन सक्छ ।
अहिले आन्तरिक रुपमा विभिन्न उपभोग्य वस्तुहरुको खपतका लागि दूधजन्य पदार्थको अपत हुन्छ । बिस्कुट उद्योग, बेकरी, कन्फेक्सनरी, चाउचाउ लगायत उद्योगहरुमा प्रशस्त रुपमा यस्तो पदार्थको माग हुने भए पनि समस्या फेरि पनि लागतकै छ ।
तुलनात्मक रुपमा सस्तो हुने भएका कारण यी कम्पनीहरुले समेत बनस्पती घ्युको प्रयो गर्दै आएका छन् । सस्तो नै बिक्री गर्दा पनि नियमित रुपमा आपूर्तिको नगर्ने भएकोले ती कम्पनीहरुले यस्तो सममान खपत गर्नेए सम्भावना कम छ । यस्तो अवस्थामा बजारमूल्यभन्दा धेरै नै सस्तो मूल्य कायम गर्दा मात्रै स्कट क्लियर हुन सक्छ, तर त्यसरी लचिलो मूल्य कायम गर्न डीडीसीले सक्दैन । यस्तो अवस्थामा स्टक नै नबिक्ने सम्भावना देखिएको छ ।
किन थपिँदैछ स्टक ?
दुग्ध क्षेत्रमा भदौदेखि पुस माघसम्मको अवधिलाई पिक सिजन र त्यसपछिको अवधिलाई ड्राइ सिजन मानिन्छ । साउन र भदौ महिनामा हरियो घाँस उत्पादन हुो र अधिकांश गाईभैसी ब्याउने सिजन समेत हुने भएकोले यो समयपछि दूधको संकलन बढ्ने गर्छ । तर, पुसमाघ पछि भने हरिया घाँसको उत्पादन नहुने भएकोले उत्पादन घट्ने गर्छ । दूध संकलनको स्तरमा समेत यसले असर गरिरहेको हुन्छ ।
तर यसपटक भने अवस्था फरक देखिएको उपमहानिर्देशक अधिकारी बताउँछन् । उनका अनुसार यसपटक ड्राइ सिजनमा पनि सोचेजस्तो संकलन घटेन । तर, यस्तो किन भयो भन्ने विषय भने आफूलाई थाहा नभएको उनी बताउँछन् । ‘माग छैैन भनेर अरुले किनेनन् र डीडीसीको संकलन बढ्यो कि उत्पादन नै धेरै भएर बढ्यो भन्ने थाहा छैन, तर यो वर्ष ड्राइ सिजनमा पनि दूध संकलन धेरै घटेन ।’
उता मागमा भने यो वर्ष पोहोर परारको भन्दा कम देखिएको उनको भनाइ छ । ‘पोहोर परार माग धान्न नसकेर स्टकको धुलो दूध खपत गर्नुपथ्र्यो । यो वर्ष त्यो खपत गर्नुपर्ने अवस्था पनि भएर । त्यही भएर स्टक थपिँदै गयो ।
‘मिल्क’ भर्सेस ‘मिल्क आइटम’को विकल्प
अहिले डीडीसीले करिब ७०० वटा सहकारी संस्थाहरुसँग दूध संकलन गर्दै आएको छ । तीमध्ये सबैजसोलाई भुक्तानी बाँकी छ । तर, पैसा नभएर भुक्तानी दिन नसकेपछि दूधकै आइटम फिर्ता गर्ने विकल्पमा समेत आफूहरु गएको अधिकारी बताउँछन् ।
‘हामीसँग कारोबार गर्ने सहकारी संस्था र समूहहरु संकलक मात्रै छैनन्, बिक्रेता पनि छन् । ड्राइ सिजनमा कम माग हुने भएकोले त्यही उत्पादन लिएर हिसाब मिलान गर्नुस् भनेर पनि हामीले भन्यौं, तर यसमा पनि अपेक्षित प्रगति देखिएन’ अधिकारी भन्छन्, ‘उहाँहरुले पनि लिन नचाहकोले पनि स्टक क्लियर हुन समस्या भयो ।’
त्यसो त, स्टक क्लियर हुन नसक्दा बक्यौता बढ्दै गएको, स्टक बिक्री नभएर नष्ट गर्नुपर्ने अवस्थामा पुग्ने अवस्था एकातर्फ छँदैछ, अर्कोतर्फ स्टकको लागत समेत दिनप्रतिदिन बढ्दै गएको छ । अघिल्ला वर्षहरुमा यो अवधिमा गोदाम खाली हुने भएकोले लागत कम लाग्थ्यो । अहिले स्टक सामान भण्डारण तथा तापक्रम व्यवस्थापनको कामका लाथि थप खर्च लागेको उनको भनाइ छ ।
अर्को सिजनमा दूध नउठ्ने संकेत
त्यसो त स्टक थपिँदै जाँदा अब केही समयमै सुरु हुने पिक सिजनमा आपूर्ति भएको सबै दूध उठाउन समेत डीडीसीलाई समस्या हुने देखिएको छ । गोदाम खाली नहुँदा आपूर्ति भएर खपत नभएको दूधलाई पाउडर बनाउन समस्या हुने देखिएको हो ।
‘अघिल्ला वर्षहरुमा गोदाम खाली हुन्थ्यो, जति पनि दूध लिन सकिन्थ्यो, खपत नभएको दूधलाई पाउडर दूध बनाएर राख्न सकिन्थ्यो । अब पोहोरकै दूध नबिकेपछि दैनिक रुपमा बिक्री हुनेभन्दा बाहेक दूध लिन नसक्ने अवस्था आउने हो कि भन्ने चिन्ता देखिएको छ’ अधिकारी भन्छन् ।
सरकारसँग ६० करोड ऋणको ‘अप्रोच’
दूध किसानलाई भुक्तानी गर्ने रकम नभएपछि डीडीसीले सरकारसँग ऋणका लागि प्रस्ताव पठाएको छ । दुई महिना अघि नै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा उक्त प्रस्ताव गरिएको हो ।
अहिले उक्त प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ । अर्थ मन्त्रालय ऋण दिएर किसानको रकम भुक्तानी गर्न सकारात्मक रहेको डीडीसीको बुझाइ छ । यसो हुन सक्यो भने दूध किसानले दशैंमा बाँकी भुक्तानीको केही अंक भने पनि प्राप्त गर्न सक्छन् । तर, यो दीर्घकालीन विकल्प नभएको अधिकारी बताउँछन् । उनी भन्छन्, ‘ऋण भनेको अल्पकालीन समाधान मात्रै हो । दीर्घकालीन समाधानका लागि विभिन्न विकल्पमा स्टक क्लियरेन्स गर्ने र कारोबार बढाएरै रकम चुक्ता गर्ने नै मुख्य विकल्प हो ।’