arrow

दुई दलीय शासन व्यवस्था नेपाली जनतालाई स्वीकार्य छैन - माधव नेपाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३० बुधबार
madhav-nepal-04-30.jpg

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दुई दलीय व्यवस्था नेपाली जनताका लागि स्वीकार्य नहुने बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष नेपालले दुई दलीय व्यवस्था नेपाली जनताका लागि स्वीकार्य नहुने बताएका हुन् । 

उनले संविधान संशोधनमार्फत देशमा दुई दलीय व्यवस्था ल्याउन खोजिएको भन्दै दुई दलीय शासनको कुराले देशलाई नोक्सान पुर्‍याउने बताए । दुई दलीय शासन व्यवस्था कसैले नसहने उनको भनाई छ । उनले बङ्गलादेशको घटनाले सबैलाई सचेत बनाएको भन्दै कुनै किसिमको तानाशाही नेपालमा चल्न नसक्ने बताए । उनले नेपाली जनतालाई प्रतिगमन र अधिनायकवाद स्वीकार्य नभएको स्पष्ट पारे । 

उनले भने – ‘प्रधानमन्त्रीले के कुरा ल्याउनुभयो भनेदेखि अहिले त हामीले संविधान संशोधन गर्न खोजिरहेका छौँ । क्या मिठा कुरा छ । अनि मध्यरातमा हस्ताक्षर गर्ने हो ? दुई दलीय शासन ल्याउन खोजेको हो ? दुई दलीय शासन नेपालमा आउन सक्दैन । हामी आउन दिँदैनौँ । बहुदलीय व्यवस्था हामीले ल्याएका हौँ । बहुदलीय व्यवस्था यहाँ रहन्छ । बहुदलीय लोकतन्त्र, गणतन्त्रलाई, संघीय लोकतन्त्रलाई, हामी अझै समृद्ध बनाउन चाहन्छौँ । अनुभवको आधारमा त्रुटि, कमजोरीलाई सुधारेर । तर कति समय पछि ? के छलफलको विषय बनाउनु पर्दैनथ्यो ? बोलाउनु पर्दैनथ्यो ? मध्यरातमा कागजमा सही गर्नुपर्थ्यो ? यसबाट नियत के हो भन्ने कुरा बुझ्न सकिन्छ । हाम्रो शेरबहादुर(शेरबहादुर देउवा) माननीय पनि धेरै सोझो हुनुहुन्छ । उनले त्यति बुझ्दै बुझ्नुहुन्न जस्तो पनि लाग्छ । बुझ्न त फेरि सिपालु हुनुहुन्छ । ख्याल गर्नुस्, दुई दलीय शासनको कुराले देशलाई नोक्सान पुर्‍याउँछ । कोही सहने वाला छैनन् । यसअर्थमा म सुनिरहेको छु ठुलठुलो प्रवचनहरू दुई दलीय प्रणाली नेपालमा स्थापित गर्नुपर्छ । अरू पार्टीको कुनै काम छैन । त्यसको कुनै भूमिका हुँदैन । महत्त्व छैन । यो सबै कसैलाई लागेको छ भने त्यो भ्रमबाट मुक्त हुनुस् । अहिले एउटा घण्टी बजेको छ(यो रास्वपाको भनेको होइन है) । बङ्गलादेशको घटनाले सबैलाई सचेत बनाएको छ । कुनै किसिमको तानाशाही नेपालमा चल्न सक्दैन । टिक्न सक्दैन । प्रतिगमनको, अधिनायकवादको, दुई दलीय शासनको, दुई दलीय नाममा एक दलीय शासनमा जाने कुरा नेपाली जनतालाई स्वीकार्य छैन ।’

अध्यक्ष नेपालले नेपाललाई शान्ति प्रक्रियामा ल्याउन आफूले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै त्यसको चर्चा समेत गरे । उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने नाममा प्रमुख तीन राजनीतिक दलहरूले मात्रै चोचोमोचो नमिलाउन आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ