arrow
ADVERTISEMENT

गाईजात्रा विशेष

झोले बनाइँदै पञ्चाङ्ग निर्णायक समितिलाई, पदाधिकारी ‘नेता’

logo
लुनाटिकको कलमबाट,
प्रकाशित २०८१ भदौ ४ मंगलबार
panchanga-gaijatra-81.jpg

नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति हिन्दू धर्मावलम्बीका लागि सबैभन्दा ठूलो न्यायालय हो । धर्म संस्कृति र चाडपर्वबारे कुनै गाँठो पर्यो भने उक्त गाँठो फुकाउने सूत्र यसै समितिलाई छ । 

अर्थात् कुनै समस्या पर्यो भने पञ्चाङ्ग निर्णायक समितिले नै निर्णय गर्दछ । यसको निर्णय शिरोपर मानिन्छ । किनकि कुनै चाडपर्व विशेष कुन समयमा उत्तम भन्ने कुराको निचोड नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकाल्छ । 

यति ठूलो जिम्मेवारी पाएको समिति भने पछिल्लो समय झोले समिति बन्दै गएको छ । त्यसका पदाधिकारीहरु नेता बन्दै गएका छन् । 

कि न्यायालय हो भन्दैमा नेपालको न्यायपालिका बिग्रिएसरी बिग्रनुपर्छ र ? के यहाँ वादी प्रतिवादी खडा हुन्छन् र ? के यहाँ विपक्षी बहस हुन्छ र ? यहाँ त आफ्नै प्रमाण छन् होला नि ? 

जसरी नेपालको राजनीति दलले बिगार्यो भनिन्छ त्यसरी नै दललाई बिगार्ने नेता हुन् । नेतामा इमान नभएपछि र ज्ञान नभएपछि उसले गर्ने निर्णय बकम्फुस हुन्छ । अनि त्यही बकम्फुसलाई ढाक्नका लागि उसले झुट बोलिदिन्छ । दोष अर्कैलाई लगाइदिन्छ । 

पछिल्लो विवाद भनेको जनै पूर्णिमाको हो । जनै लगाउने समय नै कहिले भन्ने समयमै निचोड ननिकाल्दिँदा अलमल भयो । 

खासमा उत्कृष्ट समय त्यो जहिले तिथि, बार, नक्षत्र, योग र करण मिलेको हुन्छ । त्यो दिन सिद्धिदायक दिन नै मानिन्छ । 

सोमबार परेको जनै पूर्णिमा धेरै हिसाबले राम्रो भए पनि करणका कारण भने नराम्रो मानियो । ११ वटा करण हुनेमा सबैभन्दा नराम्रो भद्रालाई मानिन्छ । भद्रामा कुनै पनि शुभ कार्यहरू गर्न वर्जित मानिन्छ । 

स्वभावैले त्यो आधारमा सोमबार पूर्णिमाको दिन तिथि ४७ घटि १९ पलाको रहेकामा भद्रा करण १९ घटि ४५ पलाको थियो । अर्थात् दिउँसो १ः३१ बजेसम्म भद्रा रहेको थियो । 

स्पष्टै छ भद्रा करणमा धार्मिक लगायका महत्वपूर्ण कार्य गर्नु उपयुक्त मानिँदैन । त्यसैले जनै पूर्णिमामा जनै फर्ने र रक्षाबन्धन अर्थात् डोरो बाँध्ने काम दिँउसो १ः३१ बजेपछि मात्र उपयुक्त हुने देखियो । 

पञ्चाङ्ग निर्णायक विकास समितिले यति ठूलो अनिष्ट परेका बेलामा पनि पूर्वसूचित गरेन । केबल उसले सामाजिक सञ्जालमा ब्यापक टिप्पणी आएपछि बल्ल साउन ३१ गते प्रेस विज्ञप्ति जारी गरेर उसले भद्राका बारेमा उल्लेख गर्यो । 

तर त्यहाँ पनि उसले गल्ती गर्यो । उसले समय सापेक्ष निर्णय गरेन । 

केबल संस्कृतको शास्त्रीय वचन 
‘भद्रायां द्वे न कर्तव्ये श्रावणी फाल्गुनी तथा ।
श्रावणी नृपर्ति हन्ति ग्रामं दहति फाल्गुनी ।।

लाई आधार मानेर वर्णन गर्यो । 

त्यसको अर्थले भद्रामा श्रावणी सम्बन्धी काम र होलिका दहनको काम गरेमा श्रावणीको कामबाट राजा अर्थात् राष्ट्र प्रमुख र होलिका दहन गरेमा गाउँ एवं सहरको नाश हुन्छ भन्ने विषय स्पष्ट गरेको उल्लेख छ । 

यहाँ नृपतिको अर्थ राजा, राष्ट्रप्रमुख राज्यसञ्चालनमा विशिष्ट भूमिका निर्वाह गरी उच्च प्रशासनिक कार्य गर्ने विशिष्ट व्यक्तिहरूको बोध हुन्छ । 

मानिसको हैसियतको मापन पञ्चाङ्ग निर्णायक समितिले यसरी गर्नुले सर्वसाधारण कोही हैनन् भन्ने स्पष्ट हुन्छ । सर्वसाधारणले भद्राको उल्लंघन गरे पनि हुन्छ भन्न खोजेको हो वा तिथि, बार, नक्षत्र, योग र करण केबल विशिष्ट भूमिका निर्वाह गरेकाहरूलाई मात्र लागू हुने हो भन्न खोजेको हो यो स्पष्ट भएन । 

होइन भने अहिले गणतन्त्र छ । सबै बराबरी हुन् । सबैका अधिकार बराबर छन् । सबैले पालना गर्नुपर्ने एउटै हो । ठूलाबडाका घरमा सधै पूर्णिमा र गरिबका घरमा सधै औँशी लाग्ने होइन । 

त्यसैले पञ्चाङ्गलाई झोले बनाउनु कदापि स्वीकार्य हुनु हुँदैन । अनि समितिका पदाधिकारीहरू नेता बन्ने होइन । 

नेताले त मौसम हेरेर रूप बदलेको देखिएको छ । झुटो बोलेको देखिएको छ । जसले भ्रष्टाचार गर्दिन भन्छ उसैले सबैभन्दा बढी भ्रष्टाचार गरेको देखिएको छ । 

के समितिका पदाधिकारीलाई त्यो सुबिधा वा छुट छ ? कदापि छैन । नेता नपढे पनि मन्त्री बन्न सक्छ । तर पञ्चाङ्ग समितिमा धर्मशास्त्रको ज्ञाता नै चाहिन्छ । 

त्यो ज्ञाता कुनै दलको झोले हुनु हुँदैन । झोले भए कम्युनिष्टरूपी रहेछ भने हचुँवामा बोलिदिन सक्छ । अझ नेपालको हिन्दू धर्म संस्कृति बिगार्ने सुपारी खाएको रहेछ भने जतिसुकै विद्धान भए पनि त्यो पञ्चाङ्ग समितिमा बस्न लायक हुँदैन । 

गत साउनभर पाशुपत क्षेत्रमा कोटिहोम चल्यो । कोटिहोम गर्दा बीचमा औँशी पार्नु हुँदैन भनेर झोले पदाधिकारीहरुले टेलिभिजन, युट्युबहरूमा फलाक्दै हिँडे । 

गलत भइरहेको छ भने उनीहरूले कडिकडाउ गरेर यो गर्नु गलत हो भनेर रोक्ने काम किन गरेनन् ? केबल कर्मकाण्डी बन्नु गलत हो । 

कि ‘हामी त झोले बरिलै’ भन्दै हिँड्नु पर्यो । त्यसो हो भने चाहिएन यस्तो पञ्चाङ्ग समिति । 

हैन भने यस्ता झोलेहरूले सनातन धर्ममाथि गरेको प्रहारलाई किन सहने ? यिनीहरूलाई नै कारबाही गरे भयो । 

राजनीतिले कुसंस्कार सिकायो भन्दैमा हरेक क्षेत्रमा कुराजनीति मिसाउनु पर्छ भन्ने छैन । हिन्दू धर्मको रक्षाका लागि हिन्दू नै चाहिन्छ भने अन्य धर्मका लागि सम्बन्धित धर्मका विज्ञ । 

सबैलाई आफ्नो धर्मको रक्षा गर्ने हक छ । अनि नेताका बोलीजस्ता बहुरूपी झोले पञ्चाङ्ग समितिमा भइदिए भने अब आउँदै गरेका चाडबाड के होलान् ? 

तिमीहरू सर्वसाधारणले यतिबेला दशैँको टीका लगाउनू र महाराजहरूले लगाउने समय बिन्ती चढाउँछौँ भन्ने होलान् । 

केही विद्धानले त पातालमा भद्रा रहेकाले यसको असर पृथ्वीमा नपर्ने भनेर कुसन्देश फैलाउने काम पनि गरे । पृथ्वीको जानकारी नहुनेलाई पातालको भैसक्यो ? 

धर्मो रक्षति रक्षित भनेझैँ हामीले धर्मको रक्षा गरेमात्र धर्मले पनि हाम्रो रक्षा गर्छ । तर जिम्मेवार पदमा बसेर अनेक तरहका चटके निर्णय गर्नु त गलतै भयो नि । 

कि अझै पनि घैँटामा घाम लाग्या छैन ? कि पात्रो निकाल्ने बेलामा मात्र हामीहरूले भनेको कुरा नराखे कारबाही गर्छौँ भन्ने तर आफूहरूको कुसंस्कारका कारण संस्थालाई चुहिएको लोहटा बनाउन खोजेको त हैन होला क्यार । 

 कि अझै पनि मुरली बजाएरै बस्ने मन हो र ? कि जताततै गाईजात्रा छ भने पञ्चाङ्ग समिति पनि अछुतो हुन नखोजेको त होला नि है ? 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ