arrow

गाईजात्रा विशेष

गगन र बाख्राका सपना 

logo
डा बद्रीप्रकाश ओझा, 
प्रकाशित २०८१ भदौ ४ मंगलबार
gagan-thapa-81-5-4.jpg

काठमाडौँ । गगन थापा त्यतिबेला युवा कांग्रेस नेता थिए । उनले बाख्रा पालेको विषयले मिडियामा पनि खुब स्थान पाएको थियो । बाख्रा पालेकाले उनले सरकारी अनुदानका लागि आवेदन दिएका थिए । 

अनुदानमा उनको आवेदन स्वीकृत पनि भयो । तर जब अनुदान लिने बेला आयो उनी माननीय बने । माननीय मात्र नभइ कृषि समितिका सभापति नै भए । 

उनको हैसियत कृषि सम्बन्धमा सरकारलाई निर्देशन दिने स्तरमा पुग्यो । एकातिर कृषि अनुदानबारे सरकारलाई निर्देशन दिने अनि त्यही सरकारले उपलब्ध गराएको अनुदान पनि लिने ? 

यस प्रश्नले उनलाई झक्झक्यायो होला । उनले अनुदानको आवेदन रद्द गरिदिन अनुरोध सहितको पत्र पठाउन लगाए । 

उनका कारिन्दाले आवेदन दिए । सरकारले उक्त आवेदन स्वीकृत गरेर सुनखानी बाख्रा पालनको अनुदान रद्द गरिदियो । 

भएको यत्ति हो । 

अर्को पटकको चुनावमा कुरा उठ्यो । शायद त्यतिबेलासम्ममा उनको बाख्राको व्यवसाय बन्द भइसकेको थियो । उनीमाथि सरकारी अनुदान पचाएर बाख्रा बेची खाएको आरोप लाग्यो । 

अहिले पनि गगनको बाख्रा गोठ आसपासलाई गगन थापा चोक भन्छन् । सो स्थानमा अहिले पनि कालिज फार्म छ भन्ने सुनिएको छ । तथ्य राम जाने । 

बाख्रा र गगनका सपना
भनिन्छ, काठमाडौँमा माननीय गगनले बाख्रा पाले । उतिबेला माननीय थिएनन् तर माननीय भएपछि बाख्रापालनबाट हात धोए । बाख्रा र गगनका आ–आफ्नै सपना थिए होलान् ।

अँ साँच्ची बाख्राले पनि सपना देख्छ हो ? देख्छ नि । बाख्राका सपनाबारे विश्वमा सबैभन्दा पहिले अमेरिकाको सिकागो विश्वविद्यालयकी छात्रा युजिन एसेरिन्स्की र उनका प्राध्यापक नाटालिन किटम्यानले अध्ययन गरेका थिए । उनीहरुले बोका बाख्राले पनि सपना देख्ने तथ्य पत्ता लगाए । 

त्यसपछि यसलाई अन्य विद्धानहरुले अघि बढाए । पछिल्लो अनुसन्धान क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक डा जेरोमी एम सिगेलको अध्ययनलाई सबैभन्दा बढी लोकप्रिय मानिन्छ । उनले अघिल्ला अध्ययनका तथ्यलाई पनि समेटेका छन् । 

आउनुहोस् बोका र मान्छेका सपनाबारे विद्धानहरुले पत्ता लगाएका विषयमा चर्चा गरौँ । 

मान्छेले विगत वर्तमान र भविष्य तिनै कालका सपना देखिदिन्छ । बाख्रा पालेर जग्गा किन्छु । जग्गा किनेर घर बनाउँछु । घर बनाएपछि गाडी किन्छु । 

गाडी किनेपछि राम्री र धनीकी छोरी पट्याउँछु । त्यसपछि मालामाल । यसैबेला बाख्रा मरे । जति उफ्र्यो भ्यागुत्तो ठाउँका ठाउँ भो । 

यता बोको सपना देख्छ, क्या रमाइलो चौर, घाँसैघाँस । हुर्कदै गरेका पठेक्रीहरु । आज मस्त हुने भो । उता मालिक आत्मसम्मान, धन बटुल्ने । आर्थिक समस्या समाधान गर्ने सपना देख्छ । तर बोको बिचरा आँखा अगाडिको घाँस र तरुनी पठेक्रीमात्र देख्छ । 

यता मालिक संवेगका सपना देख्छ, आरोप सहन्छ, रिसाउँछ, परे सिध्याउने कुरो सपनामा देख्छ । बोको सिध्याउनेबारे सोच्दैन तर कतै बाघले बिताउला कि भन्ने त्रास चाहिँ राख्छ । 

मालिकले भाषामा सपना देख्छ । प्रतीकात्मक भाषाको प्रयोग गरी गहन अर्थ लाग्ने किसिमको तर बिचरा बोको यस्ता प्रतीकको प्रयोग कसरी गरोस् ?

एउटा कुरो मालिक र बोको दुवैका सपनामा एकरूपता देखिन्छ, त्यो हो, अनुभवजन्य सपना अथवा आफूले अनुभव गरेका विषयमा सपना देख्नु । दुवैका सपना अनुभवमा पनि आधारित हुन्छन् । 

विचरा माननीयज्यूलाई बाख्राको भूतले कहिल्यै नछोड्ने भो । पूर्वतिर बाख्रालाई गाली गर्दा भुतेक्रा भन्ने प्रचलन छ । माफ गर्नुहोला यो मैले अरुले गरेका गालीलाई उतारेकोमात्र हुँ । 

म मांशाहारी भएकाले बाख्रो मेरो भोजन हो, उसलाई निचो देखाउनु मेरो कुनै चाहना होइन । 

बाख्रालाई भूतको प्रतीक मानिन्छ । अझ खतरा, यो कालीको बाहन पनि हो । 

कालो बोको कालीको बाहन मानिन्छ । त्यसैले पनि माननीयमाथि कुन कालीको कुदृष्टि परेछ त ? 

की कालीको बुढाको आँखा लाग्यो होला, नत्र चुनावकै मुखमा बाख्राको भूत किन निस्कन्थ्यो ? 

गगनमाथि कतिपय नेताहरूका कर्तुतलाई जनतासामु छताछुल्ल पारेर राजनीतिको खोलबाट उतार्ने ध्यान छ । दुःखको कुरा उनी खाँदै नखाएको बाखाको त्यो अनुदानको नामबाट जहिले पनि रुमलिइरहेका छन् । 

त्यसैले त उनी कसैले कुन कुराले झल्याँस्स पार्छ भनेर सोध्दा पनि ठट्टा गरेरै भन्छन् – बाख्रा ऽऽ

अनि तुहिन्छन् गगन र बाख्राका सपना ।
 



नयाँ