arrow

वैकल्पिक शिक्षा लिएका बालबालिका स्कुल भर्ना, अभिभावक नभएकाले पढ्न छाडे

logo
प्रकाशित २०७३ मंसिर २७ सोमबार
education.jpeg
रोल्पा । वैकल्पिक शिक्षामार्फत दक्षिण रोल्पाका ३५१ बालबालिका स्कुल भर्ना भएको एक तथ्याङ्कले देखाएको छ । मानव अधिकार सचेतन केन्द्र रोल्पाले हालै दक्षिण रोल्पाका जौलिपोखरी, जेद्वाङ, करेटी, कोर्चवाङ, तालावाङ, गैरीगाउँ र घर्तीगाउँ गाविसमा गरेको सर्वेक्षणले यस्तो नतिजा देखाएको हो । 
 
सो क्षेत्रमा अझै स्कुल उमेरका ११५ बालबालिका स्कुल बाहिर रहेको तथ्याङ्कले देखाएको छ । यसरी स्कुल बाहिर रहेका बालबालिकामध्ये अधिकांश घरमा अभिभावक नभएका रहेको शिक्षा अधिकृत प्रमिला घर्तीमगरले बताइन् ।  
 
गरिबीका कारण सानै उमेरमा बाबुआमासँग इँटाभट्टा जाने, साथीको लहलहैमा स्कुल छोड्ने बालबालिकाको सङ्ख्या पनि यथेष्ट रहेको घर्तीले बताइन् ।  
 
त्यस्ता बालबालिकालाई लक्षित गरी सो क्षेत्रमा विगत तीन वर्षदेखि वैकल्पिक शिक्षा कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । विगत दुई वर्षभित्र सञ्चालित ३९ वटा वैकल्पिक कक्षामा अध्ययन गरेका ३५१ बालबालिका स्कुल  भर्ना भएको हुरेक रोल्पाका कार्यकारी निर्देशक राजु आचार्यले बताए । 
 
कार्य क्षेत्रभित्र पर्ने सबै गाविसका स्कुल बाहिर रहेका बालबालिकालाई वैकल्पिक शिक्षामार्फत स्कुलभित्र ल्याउने गरी काम भइरहेको आचार्यले जानकारी दिए । 
 
स्कुल बाहिर रहेका बालबालिकालाई स्कुलभित्र ल्याउन तथ्याङ्क सङ्कलन एवम् अभिभावकसँग परामर्श गरी सहजीकरण गर्ने काम स्कुल स्रोत व्यक्तिले गरिरहेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ