arrow

ध्यानको तागत

logo
बद्रीप्रकाश ओझा, 
प्रकाशित २०८१ भदौ ८ शनिबार
badri-ojha-81-5-8.jpg

मैत्री उपनिषदको ६.३४ मा भनिएको छः ध्यानं निरोधोऽभ्यसनं मुक्तिर्निरोधो ह्यात्मदर्शनम् । अर्थात् ध्यान एक मानसिक प्रक्रियाको अन्त्य हो, यसले मुक्तितर्फ लैजान्छ, कारण मानसिक डुलुवापनको अन्त्य नै ध्यान हो । 

यस्ता धेरै ज्ञान भएका पूर्वीय दर्शनका आलेखहरू आजको दुनियाँमा आउटडेटेड हुँदै गए । खासगरी अध्ययन तथा अनुसन्धानको तहमा यस्ता आलेखहरू काम नलाग्ने भनिएको छैन तर समाजमा व्याप्त व्यवहारिक तथा राजनीतिक दर्शनका कारण आदिम ज्ञानहरूलाई अन्धविश्वास मानिन्छ । 

आज पूर्वका कुरा सुनिँदैन । पश्चिमाहरूको दबदबा छ । पूर्वी नेपालको लिम्बू संस्कृतिमा रहेको भुँडीपूजालाई पश्चिमाहरूले बेबीसावर बनाइदिएपछि हामी त्यसको लगालग अभ्यासमा छौँ । लिम्बू संस्कृतिमा गर्भवती महिला र उनको सन्तानको श्रीवृद्धिका लागि गर्भको पूजा गरिन्छ, जसलाई भुँडी पूजा भनिन्छ । 

यही कुरो पश्चिमबाट बेबीसावरका रुपमा आयो, सबैले मन पराए । संभवत धेरै नेपालीहरूलाई नै पनि नेपालमा यो रिति थियो भन्ने थाहा छैन होला । 

पूर्वमा शुरु भएको ध्यान तपले पश्चिममा गएर बजार पाएको छ । खासगरी पूर्वीय गुरुहरूले ध्यानलाई कर्मकाण्ड र पूजापाठसँग जोडेपछि एक हिसाबले यसको अन्त्य नै भयो । पूर्वमा अनुसन्धानको चलन नहुनु नै हाम्रो सबैभन्दा ठूलो दुर्दशा हो । आफैँले पत्ता लगाएका कुराहरूलाई वैज्ञानिक ढंगले प्रस्तुत गर्न नसकेकै कारण त्यस्ता ज्ञान अरुको काखमा सुम्पन पूर्वीयाहरू बाध्य छन् । 

बेबीसावर झै ध्यान अब पश्चिमबाट विश्वभर फैलिएको छ । आज पश्चिममा प्रायः सबै मानसिक समस्याको समाधानका रुपमा ध्यानलाई लिइन्छ । ध्यानले कसरी मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ भन्नेबारे आज हामी पश्चिमाहरूका अध्ययनलाई आधार मानेर चर्चा गरौँ ।

पश्चिमी जगतमा ध्यानबारे अनुसन्धान गर्नेमा अमेरिकी मनोवैज्ञानिक विलियम जेम्स र अस्ट्रेलियाका डा.आइन्जली मेयर्सलाई पूराना ध्यान वैज्ञानिक मानिन्छ । 

डा.मेयर्सले शिवपूरी बाबाबाट ध्यान सिकेर चिकित्सा क्षेत्रमा उपयोग गरे । त्यस पछिकी ध्यान वैज्ञानिकमा मलेसियाकी लिलियन टुको नाम पनि आउँछ । उनले चिनियाँ रीतिको यिङयाङ प्रविधिलाई ध्यानसँग जोडेर अध्ययन गरेकी थिइन् । 

त्यसपछिका ध्यान वैज्ञानिकमा हार्भार्ड विश्वविद्यालयका प्राध्यापक डा हबर्ट बेन्सन र मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजिका प्राध्यापक डा. जान कोबाट जिन अग्र पंक्तिमा छन् । यिनै दुई वैज्ञानिकले ध्यानको पूर्वीय आधारसमेत अध्ययन गरेका छन् । 

डा. बेन्सनले सन् १९७० मा मष्तिष्कको शिथिल अवस्थाबारे अनुसन्धान गरेका थिए । उनले लामो समयसम्म १० देखि २० जना बिरामीका ६–७ वटा समूहमाथि अनुसन्धान गरेका थिए । 

डा. बेन्सनको अध्ययनलाई आधार मानेर डा. कोबाटजिनले कोरियन जेन मास्टरहरू जस्तै सेउङ सोन लगायतसँग जेन ध्यानबारे ज्ञान लिए । 

यसैगरी उनले अमेरिकामा सञ्चालनमा रहेको ध्यान केन्द्र इनसाइट मेडिटेसन सोसाइटीमा संलग्न ध्यान गुरुहरू ज्याक कोर्नफिल्ड, सारोन साल्जबर्ग तथा जोसेफ गोल्डस्टिन आदिसँग विपस्यना ध्यान सिकेका थिए । 

यी ध्यानहरूको अभ्यासपछि डा. कोबाटजिनले जोसेफ लिडक्सको अध्ययनमाथि थप अध्ययन गरे । अघिल्ला वैज्ञानिकहरूका अध्ययनलाई आधार मानेर लिडक्सले गरेको अध्ययन अनुसार मानिसको दिमागमा एउटा कोषको संग्रह हुन्छ, जसको नाम हो  अमिगडाला ।

अमिगडालाको काम संवेग तथा त्राससम्बन्धी जानकारी संकलन गरी मष्तिष्कलाई उपलब्ध गर्नु हो भन्ने तथ्य पत्ता लागेपछि डा. कोबाटजिनले थप अध्ययन गरे । खासगरी ढुंगे युगमा मानिसहरू शिकार गरेर जिविका चलाउँथे । 

त्यतिबेला जंगली जनावर वा अन्य पक्षबाट जतिबेला पनि आक्रमण हुन्थ्यो । त्यसैले अमिगडालाले सधैभरि आक्रमण हुन सक्ने जानकारी प्रदान गर्दथ्यो । जब अमिगडालाले आक्रमणसम्बन्धी जानकारी प्रदान गर्दछ, मष्तिष्कले शरीरमा कोर्टिसल नामक ग्रन्थी पैदा गर्दछ । 

यसका साथै दिमागले फोक्सोलाई छिटोछिटो अक्सिजन लिन र मुटुलाई छिटोभन्दा छिटो रक्त सञ्चार गरी शरीरलाई लड्न वा भाग्न तयार रहन निर्देशन दिन्छ । 

यसका साथै मष्तिष्कले कलेजोलाई शरीरमा अत्याधिक मात्रामा ग्लुकोज बहाव गरी शरीरलाई तयारी अवस्थामा रहन निर्देशन दिन्छ । यसैगरी रगतको बहाव दिमाग र मांशपेशीमा केन्द्रित गर्दछ । आँखालाई थप बल प्रदान गरी चनाखो पार्दछ । 

जब यो क्रम लामो समयसम्म रहन्छ, शरीरमा कोर्टिसल नामक एक किसिमको ग्रन्थिको बहाव बढ्छ । यसलाई तनाव ग्रन्थी पनि भनिन्छ । 

यसले शरीरमा विभिन्न किसिमका रोगहरू उत्पन्न गर्दछ । मूख्यगरी मुटु, मष्तिष्क तथा पाचन क्रियालाई यसले प्रभाव पार्दछ । लामो समयसम्म त्रसित रहे अल्सर पनि हुन्छ । 

अनिद्रा, प्रजनन समस्या र हड्डीमा समेत यसले प्रभाव पार्दछ । यसले कपाल झर्ने तथा छालामा दाग देखिने समेत समस्या उत्पन्न गर्दछ । 

ध्यानले कसरी ठीक पार्न सकिन्छ त ?
डा. कोबाटजिन लगायतका वैज्ञानिकहरूको अध्ययन अनुसार ध्यान गर्नाले शरीर शिथिल बन्दछ । जब दिमाग शिथिल बन्छ, शरीरलाई आराम दिने र पाचनक्रिया सक्रिय गर्न दिमागको भाग पारासिम्पेथेटिक नर्भस सिस्टम (पीएनएस) सक्रिय हुन्छ । 

यसले दिमागको अर्को भाग सिम्पेथेटिक नर्भस सिस्टम (एसएनएस) लाई आफ्नो काम गर्ने मौका दिल्छ । यसको काम भाग वा भीड अवस्थालाई नियन्त्रण गर्नु हो । 

जब एसएनएसले आफ्नो काम सकेर दिमागी हालतलाई सिएनएसमा बदल्न सहयोग गर्दछ, तब सम्पूर्ण शरीर शिथिल बन्छ र कोर्टिसल लगायतका तनाव ग्रन्थीको बहाव घट्छ । जब शरीर शिथिल बनी लामो र गहिरो सास लिन्छ, तब मुटुको धडकन घट्छ र भागादौडीको अवस्थाबाट मुक्त भएपछि रक्त सञ्चार पनि सुस्त गतिमा बग्दछ । 

यसले शरीरमा अनावश्यक तनाव पैदा हुनबाट रोक्दछ । यसैगरी ध्यानका कारण अमिगडालाले अनावश्यक रूपमा मष्तिष्कमा भ्रम फैलाउन पाउँदैन र हामी सुरक्षित महसुस गर्दछौँ । 

आजको मानिस ढुंगे युगमा जस्तो असुरक्षित छैन तैपनि अमिगडालाले त्राससम्बन्धी जानकारी भने प्रदान गरी नै रहन्छ । लामो समय लगाएर शरीरले विकास गरेको अंग आठ दश वर्षमा नष्ट हुने कुरै भएन । 

हाल यसले ससना समस्या जस्तै तर्सिंदा शरीरमा उत्पन्न हुने अवस्था, पारिवारिक झैँझगडा, आर्थिक समस्या, परीक्षाको त्रास आदिलाई पनि ठूलो समस्याका रुपमा परिभाषित गर्दछ । 

जसले गर्दा हामी बिरामी पर्दछौँ । जब यस अंगलाई व्यवस्थापन गरिन्छ, तब हामी तनावरहित जीवन यापन गर्न सक्छौँ । यसले जुन सत्य घटना हो, त्यतिमात्र जानकारी प्रदान गर्दछ र हामी आँधी, बेहरी, भेलबाढी, भूकम्प जस्ता विपत्तिमा सुरक्षित बन्दछौँ ।

गुदी कुरो यत्ति हो, यसलाई तर्क संगत रुपमा हाम्रा गुरुहरूले प्रस्तुत गरिदिएको भए आज हामी तनावरहित समाज निर्माण गर्न सक्थ्यौँ । त्यो भएन, यता ध्यानलाई धर्मसँग जोडियो । 

कर्मकाण्डसँग जोडियो । यस्तो लुगा लगाउनु, उस्तो खानु, यसो गर्नु, उसो गर्नु आदि अर्ती दिएर ध्यानलाई रहस्यमय बनाएर आफ्नो स्वार्थ पूरा गर्ने प्रचलन बढ्यो । यसले हामीलाई आफ्नै ज्ञानको भिक्षा माग्न बाध्य पारेको छ । 
क्रमशः


 



नयाँ