arrow

ध्यानले बढाउँछ हर्षग्रन्थी

logo
डा बद्रीप्रकाश ओझा,
प्रकाशित २०८१ असोज ५ शनिबार
badri-ojha-81-6-5.jpg

ध्यानबारे आजसम्म विश्वमा करिब २१ हजार वटा अध्ययन भएको अमेरिकी माइन्डफुलनेस रिसर्च एसोसिएसनले जनाएको छ । ध्यानले मानिसलाई हर्षित बनाउने ग्रन्थी पैदा गर्ने हुनाले नियमित ध्यान गर्नाले खुशी हुन कसैको आश गर्नु नपर्ने अध्ययनहरूले देखाएका छन् । 

चार ग्रन्थीले मानिसको दिमागमा हर्ष पैदा गर्दछन् । तीमध्ये पहिलो ग्रन्थी हो, डोपामिन । यसलाई सम्मान ग्रन्थी पनि भनिन्छ । 

कारण यो ग्रन्थी मानिसमा सम्मानित हुँदा, आनन्दित हुँदा र उत्प्रेरित हुँदा पैदा हुन्छ । हामीले सास वा मन्त्रमा केन्द्रित रहेर ध्यान गर्यौं भने डोपामिनको बहाब बढ्छ । 

ध्यान केन्द्रित हुँदा मष्तिष्कमा धेरै विचार आउँदैनन् । यस कार्यले मष्तिष्कलाई काम सम्पन्न भएको जानकारी दिन्छ । काम सम्पन्न भएको जानकारीले मानव मष्तिष्कमा डोपामिनको बहाब बढ्दछ । 

डेनिस स्नायुविज्ञ केयर बर्टेल्सन र उनका पाँच साथी मिलेर गरेको एक अध्ययन अनुसार कुनै निश्चित मन्त्र वा संगीत वा दृश्यमा केन्द्रित रहेर गरिने ध्यानले मानव मष्तिकमा ६५ प्रतिशतसम्म डोपामिन वृद्धि भएको पाइएको छ । 

यसैगरी नियमित ध्यान गर्नाले मानव मष्तिष्कको एक भाग पारासिम्पेथेटिक नर्भस सिस्टममा प्रभाव पर्दछ । यसबाट पाचन क्रियामा सुधार तथा आरामको अवस्था सिर्जना हुँदा तनाव कम हुन्छ । 

तनाव घटेपछि शरीरमा डोपामिनको बहाब बढ्छ । यसबाट शरीरमा हर्षग्रन्थी पैदा हुन्छ र हामी खुशी बन्दछौँ ।  

नियमित ध्यान गर्नाले मष्तिष्कको भेन्टल टेगमेन्टल एरिया नामक भागमा प्रभाव पार्दछ । यस भागले डोपामिनको बहाबमा वृद्धि गर्दछ । यस भागले मानव मष्तिष्कमा शान्ति, अमनचयन र सन्तुष्टिको भाव पैदा गर्दछ । 

स्नायु विज्ञानका अनुसार मानिसको मष्तिष्कमा चार किसिमले डोपामिनको बहाब कायम हुन्छ । तीमध्ये एउटा माध्यम हो ‘मसोलिम्बिक पाथ वे’ । 

यस मार्गबाट डोपामिन बहाब बढ्दा आनन्द र सम्मानको भाव पैदा हुन्छ । मानिस हर्षित हुन्छ । याद गरौँ यसले सकारात्मक मात्र नभइ नकारात्मक भाव पनि दिन्छ । 

यसले मादक पदार्थ वा यस्तै अन्य विषयमा लत पैदा गर्दछ । मादक पदार्थ सेवन, लागुऔषध, जुवा तास आदिको लत डोपामिनको व्यवस्थापनमा हुने कमजोरीका कारण हुने हो ।  त्यसैले यस मार्गमा आइपर्ने नकारात्मक संवेग कम पार्नु पनि अर्को चुनौतीका रुपमा लिइन्छ । 

लतमा फसेका मानिसले यसलाई नकारात्मक रुपमा लिँदैनन् । कारण उनीहरू आनन्द महषुस भइरहेको हुन्छ । 

अर्को माध्यम भनेको मेसोकर्टिसल पाथ वे हो । यसमार्फत उत्पादन हुने डोपामिनले सिकाइ, उत्प्रेरणा र संवेगलाई व्यवस्थापन गर्दछ । यसले निर्णय क्षमता, काममा एकाग्रता र काम गर्ने क्षमता वृद्धि गर्दछ । 

यदि यस किसिमको डोपामिनको बहाब घटे मानिस मानसिक समस्यामा पर्दछ । उसलाई डिप्रेसन र सिजोफेर्निया जस्ता समस्या उत्पन्न हुन्छन् । 

अर्को माध्यम हो निग्रोस्ट्राइटल पाथ वे । यस माध्यमबाट निस्कने डोपामिनले गति र यसको व्यवस्थापनको क्षमता प्रदान गर्दछ । यदि यस किसिमको डोपामिनको कमी भए मानिसलाई पार्किन्सन जस्तो खतरनाक रोग लाग्छ । 

अर्को माध्यम हो ट्युबेरोइनफन्डिबुलर पाथ वे । यस माध्यमबाट निस्कने डोपामिनले मानिसलाई सन्तान उत्पादनको क्षमता वृद्धि गर्दछ । 

डोपामिनको कमीले त रोग लाग्छ नै तर बढी हुँदा पनि सुख छैन । डोपामिनको बहाब बढेमा मानिसलाई भ्रम पैदा हुने हुनाले अनावश्यक रुपमा आफ्नो गुणगान गाउने वा सिजोफेर्नियाजस्तो समस्याबाट ग्रसित हुन सक्दछ । यस्तै अन्य वस्तुको तलतल जस्तै मादक पदार्थ वा जुवातास आदिको लत बस्न सक्दछ । 

ध्यानले कसरी काम गर्छ ?
ध्यानले मष्तिष्कको मेसोलिम्बिक पाथ वेमा डोपामिनको बहाब विस्तारै वृद्धि गर्दछ । यसले हाम्रो हर्ष व्यवस्थापनमा सहयोग पुग्दछ । 

वाह्य तत्व जस्तै लागुऔषध वा मादक पदार्थको सेवनले एक्कासी डोपामिन बहाब गर्नाले मष्तिष्कमा नकारात्मक असर पर्दछ । ध्यान मार्फत उत्पन्न हुने डोपामिनले दीगो रुपमा खुशी प्रदान गर्दछ । 

ध्यान गर्दै जाँदा मानिसलाई खुशी हुन सामाजिक सञ्जाल वा अन्य वाह्य तत्वप्रतिको आकर्षण घट्दै जान्छ । 
ध्यानका खास विधि जस्तै माइन्डफुलनेस मेडिटेसन र फोकस्ट अटेन्सन मेडिटेसनले मष्तिष्कको मेसोकर्टिसल पाथ वे मा प्रभाव पार्ने हुनाले डोपामिनको उचित बहाब हुने हुनाले लामो समयसम्म सम्झिन सक्ने र काम गर्ने क्षमता वृद्धि हुने अध्ययनहरूले देखाएका छन् । 

यसले मानिसमा झन्किने व्यवहार र संवेगात्मक व्यवहार सुधारमा पनि सहयोग गर्दछ । यसैगरी डोपामिन व्यवस्थापनका कारण मानिसको दिमागमा नकारात्मक भावको कमी हुने हुनाले तनाव कम भई करुणाभावको विकास हुन्छ । 

यसैगरी योगासन तथा हिँडडुल गर्नाले मानिसको मष्तिष्कमा डोपामिनको बहाब व्यवस्थापन गरी तनावबाट उत्पन्न हुने ट्युमर र पार्किन्सन्स रोगको जोखिमबाट बचाउन सहयोग गर्दछ । 

यो त एउटा सानो उदाहरण मात्र हो । ध्यानका अनगिन्ती लाभ छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ