काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ विधान विशेष साधारण सभाबाट पारित भएको दुई महिनासम्म पनि स्वीकृत गराउनको लागि जिल्ला प्रशासन (सिडिओ) कार्यालय पठाईएको छैन । अन्तिम समयमा अदालतले विशेषसाधारण सभाको लागि बाटो खोलिदिएपछि महासंघको गत कात्तिक ४ गते काठमाडौंमा विशेष साधारणसभा भएको थियो ।
त्यही विशेष साधारण सभाबाट पारित भएको विधान झण्डै दुई महिना पुग्नै लाग्दापनि सिडिओ कार्यालयमा स्वीकृतिकोलागि नपठाईएको महासंघको विधान समितिका एक सदस्यले जानकारी दिए । सिडिओ कार्यालयबाट पारित नभएसम्म विधान लागू गर्ने कानूनी बाटो रहँदैन ।
उता, महासंघले विधान पारित गर्न नपठाएपछि महासंघकाबारेमा चासो लिनेहरुले भने अनेक खालका टीकाटिप्पणीहरु गर्न थालेको छन् । एक सदस्यले हाम्राकुरासँग विधान पारित हुने सम्भावना कम देखेर संस्थापनले विधान सिडिओकार्यालयमा नै नपठाएको आरोप लगाए । उनले कर्मचारीहरुको मानसिकता बुझेर पारित नभएको खण्डमा त आफू समस्यामा पर्ने देखेर नपठाएको हुनसक्ने आकलन गरेका छन् ।
तर, विधान समितिका एक सदस्यले भने विधानको भाषालाई शुद्ध बनाएर मात्रै पठाउनको लागि रोकेर राखिएको बताए । विधान समितिका संयोजक चण्डीराज ढकाल अहिले मुलुक बाहिर रहेकोले पनि विधान पठाउन ढिला भएको हुनसक्ने उनको बुझाई रहेको थियो ।
महासंघको यो विधान पारित नभएसम्म कुन विधानका अनुसार निर्वाचन गर्ने भन्ने समेत टुङ्गो लागेको छैन । तर, साधारणसभाले पारित गरिसकेको कुरालाई प्रशासनले भने नरोक्नेमा भने लगभग महासंघका सबै सदस्यहरु ढुक्क छन् । यो विधान पारित भएपछि भने अहिलेसम्म अध्यक्षको लागि भईरहेको निर्वाचन वरिष्ठ उपाध्यक्षको लागि हुनेछ ।