arrow

हिमालयन सल्ट अथवा हिमाली नूनको खानी नेपालमै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १२ बुधबार
badriprakash-ojha-81-5-12.jpg

स्वास्थ्यका दृष्टिले अति नै उत्तम मानिने हिमालयन सल्ट पाकिस्तानमा पाइन्छ भन्ने जानकारी विश्वभर फैलिएको छ । तर विश्वका धेरै मानिसलाई नेपालको कर्णाली क्षेत्रमा यसको खानी छ भन्ने अझै थाहा छैन । 

विदेशीको त कुरै छोडौँ हाम्रा नेपालका तत्कालीन राजा महाराजा, आजका नेता तथा अभियन्ताहरुलाई पनि हिमालयन सल्ट कर्णालीमा पाइन्छ भन्ने जानकारी छैन भन्न सकिन्छ । 

यदि जानकारी हुँदो हो त भारतले नून मट्टितेलमा प्रतिबन्ध लगाएका बेला आफ्नै देशको नून खानी खन्थे होला । यस्तो लाभदायी वस्तु आफ्ना जनतालाई ख्वाउँथे होला तर आजसम्म यस चिजको उपभोग धेरै कमले गरेका छन् । 

सहरमा यस नूनलाई भान्सामा पस्कनेमा हुम्लाका दीपक बुढा अग्र पंक्तिमा छन् । उनले ललितपुरको सातदोबाटोमा अर्गानिक जोन रेस्टुरेन्ट खालेर राजधानीबासीलाई कर्णाली स्वाद चखाउँदै आएका छन् । 

सर्वसाधारणलाई मात्र नभइ अहिले त सरकारी कार्यालय खासगरी मन्त्रिपरिषदको बैठकमा पनि उनको खाजा जान थालेको छ । 

हिमालयन सल्ट नेपालको डोल्पा, मुस्ताङ, मनाङ, हुम्ला, सिन्धुपाल्चोक लगायतका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइने बुढा बताउँछन् । उनी हाल संस्कृत विश्व विद्यालयमा लोकतत्व विषयमा विद्यावारिधिको अनुसन्धान गरिरहेका छन् । 

उनको अनुमानमा तातोपानीको मूल भएको पहाडमा हिमालयन सल्ट हुनसक्छ । तर यस सम्बन्धमा थप अध्ययन आवश्यक रहेको पनि उनले बताए । मुस्ताङको थाकखोला क्षेत्रमा थकालीहरु यही नून र सुनको व्यापार गरेर धनी भएको उनको तर्क छ । 

पछि सभ्यता र पोषणका नाममा समुद्री आयो नून आएपछि हिमालको रैथाने नूनको माग घटेको उनको तर्क छ । उनको विचारमा साल्ट ट्रेडिङको स्थापनापछि आयो नूनको फेसन बढेर जाँदा हिमाली नूनको मागमात्र घटेन, हिमाली क्षेत्रका बासिन्दाको आयआर्जनको बाटो पनि बन्द भयो । अझ उनी त फ्री टिबेटको नारा लाग्छ भन्ने बहाना पारेर हिमाली नूनको व्यापार निर्मूल पारिएकोसमेत शंका गर्छन् ।
 
बुढाको पसलमा अझै पनि हिमाली नूनका ठूलठूला ढिक्का देख्न पाइन्छ । तस्बिरमा देखिएका ढिक्का उनले डोल्पाको छार्का भोट क्षेत्रबाट ल्याएका हुन् । छार्का समुद्री सतहबाट करिब ४३ सय मिटरको उचाइमा पर्दछ । 

बुढाका अनुसार उत्खनन गरियो भने हजारौं मेट्रिक टन हिमाली नून पाइन्छ । काली गण्डकी नदी उपत्यका पनि हिमाली नूनको खानी क्षेत्र मानिन्छ । डोल्पाका मगर जातिले नून महोत्सव पनि मनाउने गरेका छन् । यसले नून संस्कृतिलाई बढावा गर्दछ । 

दीपक बुढा

आखिर किन यस्तो महत्व छ त हिमालयन सल्टको ? 
पृथ्वीको उत्पत्तिपछि आएका विभिन्न किसिमका धरातलीय उतारचढावका कारण समुद्री क्षेत्र माथि उठी हिमाल बनेको र बाँकी रहेको पानी सुक्दै गएर हिमालयन सल्ट बनेको वैज्ञानिकहरुको तर्क छ । 

हुन त समुद्री नून र हिमालयन सल्ट एउटै हो तर बन्ने क्रम मात्र फरक हो । समुद्री नून पानी सुकाएर तुरुन्तै बनाइन्छ तर हिमालयन सल्ट करोडौँ वर्षको इतिहास बोकेको तत्व हो । 

हिमालयन सल्टबारे विभिन्न अनुसन्धानात्मक लेख रचना प्रकाशित छन् । चिनियाँ चिकित्सक जिल्पा सेख पनि अनुसन्धानकर्ता मध्येकी एक लेखक हुन् । उनले चिकित्सा क्षेत्रमा महत्व बोकेका तर लुकेर बसेका यस्ता विषयलाई उजागर गर्दछिन् । 

सेखले नेपालको हिमाली नूनको चर्चा गरेकी छैनन् । उनको अध्ययन अनुसार हिमालयन सल्ट पाकिस्तानको पञ्जाब प्रान्तमा पाइन्छ । वर्षमा करिव चार लाख केजी यस्तो नून विदेश जान्छ । 

तर डोल्पाली अनुसन्धानकर्ता बुढाका अनुसार भने पाकिस्तानमा पाइने हिमालयन सल्ट कम गुणस्तरको हुन सक्छ । उनको तर्क के छ भने यो नून पाकिस्तानमा १५–१६ सय मिटरको उचाइमा पाइन्छ । ‘कहाँको १६ सय मिटर उचाइ र कहाँको ४३ सय, गुणस्तरमा त यसै फरक पर्छ नि’, बुढा भन्छन् । 

हाल हामीले उपभोग गर्ने नून समुद्रको पानी सुकाएर बनाइन्छ । तयार पार्ने क्रममा यसमा पोटासियम, म्याग्नेसियम, क्याल्सियम तथा यदाकदा जिंक र आइरन मिसाइन्छ । हिमालयन सल्टमा यी सबै तत्व प्राकृतिक रुपमै मिसिएका हुन्छन् ।  यस नूनमा थप एउटा तत्व पाइन्छ, त्यो हो, आइरन अक्साइड, जो समुद्री नूनमा पाइँदैन । 

हिमालयन सल्टमा ८४ किसिमका स्वास्थ्यवर्धक तत्व पाइने डा सेखले बताएकी छिन् । हाल बजारमा पाइने खानेकुरामा सोडियमको मात्रा बढेकाले विश्वव्यापी समस्या बनेको छ । सबैभन्दा विकराल समस्या अमेरिकामा देखिएको छ । 

अध्येता बुढाका अनुसार जब आयो नूनको फेसन बढ्यो तब डोल्पालीहरु बजारे नून खाँदा शरीर चिलाउँछ भन्थे । कालान्तरमा यो कुरो सत्य नै सावित भयो । डा सेखले यस विषयलाई उठाइन् । हिमालयन सल्टको उपभोगबाट छाला चिलाउने रोग नियन्त्रणमा आउने उनले बताएकी छन् । 

हिमालयन सल्टको उपभोगबाट उच्च रक्तचापको समस्या कम पार्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार आज विश्वमा उच्च रक्तचापबाट पीडितको संख्या करिब एक अर्ब तीन करोड छ । तीमध्ये दुई तिहाई पीडितहरु गरिब देशका बासिन्दा हुन् । 

तीमध्ये २१ प्रतिशतको उच्च रक्तचाप नियन्त्रण गर्न सकिने किसिमको हुन्छ । डा सेखका अनुसार यदि हिमालयन सल्टको उपभोग मात्र बढाए पनि बिना उपचार ती २१ प्रतिशतलाई रोगमुक्त गर्न सकिन्छ । 

हिमालयन सल्टको उपयोग गरी वातावरण प्रदूषण घटाउन सकिने, शरीरमा उर्जाको बहाव बढाउन, तनावबाट मुक्ति दिन सकिन्छ भन्ने लगायतका केही दाबीको भने अनुसन्धान तहबाट पुष्टि हुन बाँकी रहेको सेखको तर्क छ । 

हिमालयन सल्टको उपभोगबारे विस्तृत अध्ययन बाँकी रहेको डा सेखले स्वीकार गरेकी छिन् । अमेरिकन हार्ट एसोसिएसनले दैनिक २३ सय मिलिग्रामभन्दा बढी नून नखान सुझाव दिएको छ । 

एक चिया चम्चा समुद्री नूनमा २३ सय मिलिग्राम हुन्छ । सोही मात्राको हिमालयन सल्टमा २२ सय मिलिग्राम मात्र नून तत्व हुन्छ । तर शरीरलाई आवश्यक पर्ने तत्वमा कुनै पनि किसिमको कमी आउँदैन । 

त्यसैले पनि हिमालयन सल्टको उपभोग गर्न डा. सेखको सुझाव छ । उनका विचारमा समुद्री नूनबाट शरीरलाई पुग्ने हानि हिमालयन सल्टले पनि नपार्ने चाहिँ होइन, यसमा पनि सजक हुनुपर्दछ । 

नूनले शरीरमा रगत, वीर्य, पसिना, आँसु र पिसाब लगायतका तरल पदार्थ निर्माणमा सहयोग गर्दछ । यसले शरीरमा पानीको मात्रा व्यवस्थापन गरी शरीर सुक्नबाट रोक्दछ । 

तर यसका लागि हामीले बढी नून खानैपर्छ भन्ने छैन । अध्येताहरुले कतिपय स्वास्थ्य समस्या जस्तै उच्च रक्तचाप नियन्त्रणमा साँच्चिकै हिमालयन सल्टले सहयोग गर्छ कि गर्दैन भन्ने तथ्य पत्ता लगाउँन पोर्चुगलमा १० जना चिकित्सक मिलेर एउटा अध्ययन गरेका थिए । 

यसमा हिमालयन सल्टले नै लाभ दिन्छ भन्ने तथ्य भने पत्ता लागेन । तर उनीहरुको अध्ययनले यस नूनको बेग्लै गुलाबीे रङले स्वास्थ्यमा लाभ दिने भने निश्चित भयो । प्राकृतिक गुलाबी रङ आफैँले क्यान्सर जस्ता असाध्य रोगका कोष नियन्त्रणमा सहयोग गर्दछ । 

अर्को एक अध्ययनमा डा. डेब्रा रोज विल्सन र उनका सहलेखक हेनेल वेस्टले उल्लेख गरेअनुसार हिमालयन सल्टको ठूलो ढिक्कालाई प्वाल पारेर बिजुलीको बल्ब बाल्नाले उत्पन्न प्राकृतिक गुलाबी प्रकाशले वातावरण सफा गर्नुका साथै मानिसलाई काम गर्ने उर्जा प्रदान गर्दछ । 

जनावरमा गरिएको एक अध्ययनअनुसार यस्तो प्रकाशले मस्तिष्कमा सेरोटेनिन तत्वको बहाव बढाउने हुनाले प्राणी हर्षित बन्दछ । यही अध्ययन मानिसमा गर्दा मानिसलाई पनि हर्षित बनाएको पाइयो । 

सन् १९५७ देखि २०१२ सम्म प्रकाशन भएका ३३ वटा अनुसन्धानको सिंहावलोकन गर्दा प्राकृतिक गुलाबी प्रकाशले वातावरणमा हर्षित अवस्था पैदा गर्दछ भन्ने तथ्य पत्ता लागेको छ । 

यसैगरी हिमालयन सल्टलाई हेलोथेरापीमा प्रयोग गरिने डा विल्सनकै अर्को अध्ययनले देखाएको छ । हेलोथेरापीमा नूनिलो हावा फैलाएर मानिसलाई सास लिन लगाइन्छ । यसो गर्दा ब्रोंकाइटिस, दम, चुरोटले घाँटी तथा फोक्सोमा पार्ने असर, छालाका सामान्य रोगहरु निको पारिन्छ । 

यी त भए हिमाली नूनको महिमा । लौन यस्तो गुणकारी नूनलाई चिनौँ र सुनको दाममा बेचौँ । 


 



नयाँ