त्य छिं त्य, बक छिं त्य
थाबले यागु सामा वलः, यःमरी छगः ति यः
व्यूसा ल्यासे म्ह, मव्यूसा सितिकुती
न्यग व्यूसा काय् वुई, छग व्यूसा म्याय् वुई
तालापाता कुलिचां जुसें त्यः
यःमरी माकु, उकि दुने चाकु
व्यूसा ल्यासेचा, मव्यूसा बुरीचा
कुरी कुरी...
भक्तपुर। यःमरी पूर्णिमा (धान्य पूर्णिमा) अर्थात् आजको दिन साँझ नेवार समुदायको घरआँगनमा गुञ्जिने यो लोकभाका अचेल गुञ्जिन छाडेको छ । लोकप्रिय र महत्वपूर्ण पर्वमध्येको एक यःमरी पुन्हीको साँझ नेवार समुदायको घरआँगनमा गुञ्जिने यो भाका लोप हुने अवस्थामा पुगेको छ । परम्परागत लोक चाडपर्वहरु आधुनिकताको चपेटामा परेसँगै जीवन्त लोकसंस्कृति लोप हुने क्रममा यःमरी भाका पनि लोप हुँदै गएको हो ।
नेवार समुदायमा धान्य पूर्णिमाको साँझ घरघरमा गई यःमरी माग्ने प्रचलन छ । तिहारमा खेलिने देउसी–भैलो जस्तै नेवार समुदायका केटाकेटी तथा युवायुवती टोल–छिमेकका घरघरमा गएर उल्लिखित नेवारी लोकभाका गाएर यःमरी माग्ने गर्दछन् ।
यःमरीको अर्थ मनपर्ने रोटी हो । यो चामलको पीठोमा चाकु वा स्वादअनुसार खुवा, गुँदपाक, मासु राखेर बनाइने विशेष प्रकारको रोटी हो । यही रोटीको नामले यस पर्वको नामाकरण गरिएको हो । नेवार समुदायमा यःमरीको विशेष महत्व रहेको छ । विशेषगरी जन्मदिन लगायतका विशेष शुभकार्यमा यःमरी नभई नहुने पकवानमध्ये एक हो । यःमरी मठमन्दिर, मानिसको जोडा जन्मदिन जस्तैः दुईवर्ष, चारवर्षको अवसरमा नभई नहुने पकवान भएको इतिहास तथा संस्कृतिविज्ञ पुरुषोत्तमलोचन श्रेष्ठ बताउँनुहुन्छ ।
आजको दिन यःमरी नयाँ धानको चामलको पीठोबाट बनाइन्छ । चामलको पीठो मुछेर रोटीको माथिल्लो भाग गजुर जस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा रहेको खाली भागमा विशेषगरी चाकु राख्ने गरिन्छ । आजभोलि खुवा, मासु, गुँदपाक, मास, मुँगीलगायत सामग्री राख्ने प्रचलन पनि रहेको छ ।
यःमरी माग्ने प्रचलन धान्य पूर्णिमाको एक महत्वपूर्ण सांस्कृतिक पाटो भएको इतिहास तथा संस्कृतिविद् श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यो प्रचलन लिच्छवीकालीन राजा अंशुबर्माको पालादेखि चलेको हो । लोपोन्मुख यःमरी संस्कृतिको संरक्षणका लागि नेवारी संस्कृतिको पक्षमा काम गर्ने सङ्घसंस्था अघि सर्नुपर्ने उहाँको सुझाव छ । नेवारका हरेक चाडपर्व समय र मौसम अनुसारको हुने तर्क गर्दै श्रेष्ठले नेवारको धरोहर भनेकै उनीहरुको जीवन्त कलासंस्कृति भएकाले यःमरी माग्ने प्रचलनलाई स्थानीय निकायले संरक्षणको पहल गर्नुपर्ने बताउनुभयो ।
उहाँले यो संस्कृति पर्यटकलाई देखाउन सके पर्यटन उद्योगको विकासमा समेत थप टेवा पुग्ने बताउनुभयो । यःमरीलाई नेवार समुदायले कुवेर र गणेशका प्रतीकका रुपमा पनि लिइन्छ । पूर्णिमाका दिन यःमरीलाई धानको भकारी लगायतमा चढाइने गर्दछ । यसरी चढाएको यःमरी चार दिनपछि मात्र प्रसादका रुपमा बाँडेर खाने प्रचलन छ ।
यःमरी भगवतीलाई अन्नपूर्ण देवीको प्रतीकका रुपमा पनि लिइन्छ । यस दिन नेवार समुदायले यःमरीको कुवेर, गणेश, लक्ष्मी, ज्यापु ज्यापुनी, ख्याः महादेव, पार्वती लगायतको मूर्ति बनाएर आफ्ना अन्नका भकारी र भण्डार कोठामा चढाएपछि मात्र आफूले खाने चलन रहेको इतिहास तथा संस्कृतिविद् श्रेष्ठले बताउनुभयो ।
यसरी यःमरी चढाउँदा आफ्नो अन्नमा वृद्धि हुने र त्यसको प्रभावमा घर अन्नले भरिपूर्ण हुने तथा धनलाभ हुने जनविश्वास रहिआएको छ । यःमरी पूर्णिमाका बारेमा ऐतिहासिक कथनअनुसार तत्कालीन पांचाल देशमा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा महाजन बस्दथे । उनका दम्पती भगवान् विष्णुका परमभक्त थिए । उनीहरुको दयालु स्वभावको जाँच गर्न एक दिन धनपति कुवेर गरिब ब्राह्मणको भेषमा भिक्षा माग्न सुचन्द्रका घरमा पुगे । सुचन्द्रका श्रीमतीले ब्राह्मणरुपी कुवेरलाई श्रद्धापूर्वक आफूले तयार पारी राखेको यःमरी खुवाए ।
उनको सत्कारदेखि प्रशन्न भई कुबेरले आफ्नो असली रुप देखाई यःमरीको गुण र धानको भकारीमा श्री गणेश, कुबेर, लक्ष्मीको पूजा गरी यःमरी चढाउने विधि बताएर गए । सोही अनुरुप सुचन्द्र दम्पतीले यःमरी धानको भकारीमा चढाएर चार दिनपछि प्रसादका रुपमा बाँडेर खाएकाले उनीहरुको धनसम्पति अझ वृद्धि भएको खबर जताततै फैलिएपछि त्यही समयदेखि नेवार समुदायमा यःमरी पूर्णिमाको संस्कृति विकास भएको जनश्रुति रहेको पाइन्छ । रासस