arrow

तरकारीको बजारीकरण पालिकाबाटै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १८ मंगलबार
tarkari-bazaar.jpg.jpeg
फाइल तस्बिर

गुल्मी । गुल्मीका दुई पालिकाले तरकारी र फलफूलको बजारीकरणको सुरुवात गरेका छन् । जिल्लाको धुर्कोट र रुरुक्षेत्र गाउँपालिकाले गाउँको कृषिजन्य उत्पादनको बजारीकरणको सुरुवात गरेका हुन् ।

धुर्कोटले किसानको उत्पादनको बजारीकरणका लागि बुटबलको देवीनगरस्थित पहाडी ताजा तरकारी पसलसँग र रुरुक्षेत्रले पाल्पाको मिलनसार सामाजिक उद्यमी महिला सहकारीद्वारा सञ्चालित तरकारी थोक बजारसँग सम्झौता गरेको छ ।

पालिकाले किसानको उत्पादन खरिद गर्ने र सोही मूल्यमै पसललाई बिक्री गर्ने गरेका छन् । त्यसका लागि कर्मचारी र ढुवानी खर्च पालिकाले व्यहोर्ने सहमति रहेको छ ।

पालिकाले किसानसँग तामा, करेला, बोडी सोस्ता, स्कुस, कागती, फर्सिको मुन्टा, चिचिन्ना, नास्पाती, पुदिना, सिन्की, काँक्रोलगायतका तरकारी तथा फलफूलको बजारीकरण गरिरहेका छन् ।

किसानका कृषिजन्य सामग्री खरिद गर्नका लागि पालिकाले प्रत्येक हप्ताको दुई पटक तरकारी भएको टोलमा सवारी साधन पठाउने गर्दछन् ।

धुर्कोटमा आइतबार र बिहीबार तथा रुरुक्षेत्रमा मङ्गलबार र शनिबार किसानको तरकारी स्ङ्कलन हुँदै आएको छ । दुवै पालिकामा गरी अहिलेसम्म एक सय क्विन्टल तरकारी बिक्री भइसकेको छ ।

त्यसमध्ये धुर्कोटबाट ३० क्विन्टल बिक्री भएको छ । धुर्कोटमा प्रति किलो तरकारीको मूल्य औषतमा ४० का दरले हालसम्म रु एक लाख २० हजारको बिक्री गरेको धुर्कोट कृषि परियोजनाका संयोजक भरत भण्डारीले जानकारी दिए।

रुरुक्षेत्रबाट हालसम्म ७० क्विन्टल तरकारी बिक्री भएको छ । रुरुक्षेत्रमा औषतमा तरकारीको मूल्य रु ४५ का दरले हालसम्म दुई लाख ८० हजारको तरकारी बिक्री भएको रुरु कृषि परियोजनाका संयोजक प्रकाश चालिसेले जानकारी दिए ।

दुवै पालिकाबाट हालसम्म चार लाखको तरकारी तथा फलफूल बिक्री भएको छ । धुर्कोटमा महिनाको पहिलो हप्तामा किसानले बिक्री गरेका सामग्रीको नगद मूल्य पाउँछन् भने रुरुक्षेत्रमा नगदै कारोबार गरिएको छ ।

धुर्कोटका अध्यक्ष भुपाल पोखरेलले किसानको उत्पादनको बजारीकरणको ग्यारेन्टी गरेको बताए । आफूहरुले गरेको कामबाट बिचौलियाको समेत अन्त्य भई किसानले उत्पादित वस्तुको उचित मूल्य पाउने उनले बताए।

रुरुक्षेत्रका अध्यक्ष यदु ज्ञवालीले गाउँमा ठूला उद्योग स्थापना गर्न असम्भव भएकाले कृषिजन्य उत्पादनको बजारीकरण गरेको बताए । उनले जतिसक्दो धेरै उत्पादन गरी आम्दानी गर्नसमेत किसानलाई आग्रह गरे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ