ओलीको अमेरिका भ्रमण स्वीकृत, यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २१ शुक्रबार
825
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभामा सहभागी हुने भएका छन् । भदौ २० गते अपराह्न (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधि मण्डललाई सो महासभामा भाग लिनका लागि स्वीकृति प्रदान गर्ने औपचारिक निर्णय गरेको हो । आगामी असोज ७ गतेदेखि अमेरिकाको न्युयोर्कमा आयोजना हुने सो महासभामा भाग लिनका लागि प्रधानमन्त्री ओलीको नेतृत्वको टोलालाई प्रतिनिधिमण्डल गठन गर्न समेत सहमति दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।
त्यसै गरी सरकारले विमस्टेक कृषि मन्त्री स्तरीय र कृषि सम्बन्धी उच्च पदाधिकारीहरूको तेस्रो बैठक आगामी २०८१ चैत्र १४ र १५ गते नेपालमा आयोजना गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले एसियाली विकास बैकबाट सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर ११५ मिलियन करिब १५ अरब २९ करोड सहुलियतपूर्ण ऋया सहायता स्वीकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ ।
त्यसै गरी अर्थ मन्त्रालयका राजश्व सचिव दिनेशकुमार घिमिरेलाई कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्ष र सञ्चालक समितिका रिक्त सञ्चालक पदमा कृषि विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई मनोनीत गर्ने निर्णय पनि सरकारले गरेको प्रवक्ता गुरुङले बताए ।
सरकारले नेपाल इन्जिनियरिङ परिषद्को रिक्त सदस्यमा विनोदबहादुर पाल सुदूरपश्चिम, अम्बिका महत कर्णाली प्रदेशबाट, लेखनाथ पाण्डेय लुम्बिनी प्रदेशबाट, डा. राममणि अधिकारी गण्डकी प्रदेशबाट, निर्जला श्रेष्ठ चौधरी बागमती प्रदेशबाट, श्याम किशोर यादव मधेस प्रदेशबाट र लैला श्रेष्ठ कोशी प्रदेशलाई मनोनयन पनि गरेको छ । त्यसै गरी बाल सुधार गृह भक्तपुर, मोरङ र कास्कीको सञ्चालन र व्यवस्थापनको लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम यूनिसेफबीच भएको सम्झौताको अवधि हाललाई २०८१ साल पुस मसान्तको लागि थप गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । प्रवक्ता गुरुङले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ग्लोबल ओपरेशनल नेटवर्क अफ एन्टि करप्शन ल इन्फोर्समेन्ट अथोरिटिज अफ ग्लोबल नेटवर्कको सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान पनि गरिएको बताए ।
उनले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ग्लोबल ओपरेसनल नेटवर्क अफ एन्टि करप्शन ल इन्फोर्समेन्ट अथोरिटिज अफ ग्लोबल नेटवर्कको सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने भनिएको छ । त्यस्तै अर्थ मन्त्रालयका सचिव राजश्वतर्फको श्री दिनेशकुमार घिमिरेलाई कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरिएको छ । यसमा कर्मचारीको तर्फबाट लैजाने चलन छ । कर्मचारी संचयकोषको सञ्चालक समितिका रिक्त सञ्चालक पदमा कृषि विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द गुरुङलाई मनोनीत गर्ने । एसियाली विकास बैकबाट सिँचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर ११५ मिलियन करिब १५ अर्ब २९ करोड सहुलियतपूर्ण ऋया सहायता स्वीकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने । त्यस्तै प्रकारले २०८१ भदौ ३१ मा काठमाडौँमा हुने नेपाल अमेरिका टिफा ट्रेड एण्ड इन्भेष्टमेण्ट फ्रेमवर्क एग्रीमेन्ट काउन्सिलको सातौँ बैठकमा नेपालको तर्फबाट प्रस्तुत गरिने विषयसूची स्वीकृत गर्ने । र वार्ता टोली गठन गर्ने । यसका लागि हामीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जिम्मा दिइएको छ । त्यस्तै प्रकारले लहान–सुखीपुर १३२ केभी प्रसारण लाइन आयोजना तथा आयोजना अन्तर्गत १ सय ३२ केभीको टावर प्याड निर्माण गर्न आवश्यक पर्ने करिब ८ बिगाहा जग्गा प्राप्ति गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने । त्यस्तै गरेर नेपालगन्ज–नानपारा १३२ केभी प्रसारण लाइन आयोजनालाई बाँके जिल्लामा प्रसारण लाइनको टावर प्याड निर्माणको लागि करिब २ बिगाहा जग्गा प्राप्ति गर्न सोही मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने । त्यस्तै विमस्टेक कृषिमन्त्री स्तरीय र कृषि सम्बन्धी उच्च पदाधिकारीहरूको तेस्रो बैठक मिति २०८१ चैत्र १४ र १५ गते नेपालमा आयोजना गर्ने प्रस्ताव छ । त्यो प्रस्ताव हिजोको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको जानकारी गराउन चाहन्छु । आर्थिक वर्ष २०८१÷०८२ मा दुग्ध विकास संस्थानको कच्चा दूधको आपूर्तिकर्ता कृषकहरूलाई भुक्तानी गर्न बाँकी रकम भुक्तानी दिने प्रयोजनार्थ नगद प्रवाह व्यवस्थापन गर्ने गरी प्रविधि सुधार तथा व्यवसाय विस्तार गर्न अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपैयाँ ऋण लगानी गर्न स्वीकृति दिने । यो ऋण दिएको हो । त्यस्तै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभामा सहभागी हुन सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वको प्रतिनिधिमण्डल गठन गर्ने र २०८१ असोज ७ देखिको भ्रमण कार्यक्रम स्वीकृत गर्ने । नेपाल इन्जिनियरिङ परिषद्को रिक्त सदस्यमा श्री विनोदबहादुर पाल सुदूरपश्चिम प्रदेशबाट, श्री अम्बिका महत कर्णाली प्रदेशबाट, श्री लेखनाथ पाण्डेय लुम्बिनी प्रदेशबाट, डा. राममणी अधिकारी गण्डकी प्रदेशबाट, श्री निर्जला श्रेष्ठ चौधरी बागमती प्रदेशबाट, श्यामकिशोर यादव मधेस प्रदेशबाट र लैला श्रेष्ठ कोशी प्रदेशलाई मनोनयन गर्ने निर्णय गरिएको छ । त्यस्तै बाल सुधार गृह भक्तपुर, मोरङ र कास्कीको सञ्चालन र व्यवस्थापनको लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम यूनिसेफबीच भएको सम्झौताको अवधि हाललाई २०८१ साल पुस मसान्तको लागि थप गर्ने । त्यस्तै प्रकारले पेरिस २०२४ को ओलम्पिक खेलमा सहभागी नेपाली खेलाडी पलेशा गोवर्द्धनलाई ६५ लाख रुपैयाँ, प्रशिक्षक कविराज मेगी लामालाई ५ लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई २ लाख ९२ हजार पुरस्कार र सम्मान प्रदान गर्ने ।’
मन्त्रिपरिषद् बैठकले लहान–सुखीपुर १३२ केभी प्रसारण लाइन आयोजना तथा आयोजना अन्तर्गत १ सय ३२ केभीको टावर प्याड निर्माण गर्न आवश्यक पर्ने करिब ८ बिगाहा जग्गा प्राप्ति गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने, नेपालगन्ज–नानपारा १३२ केभी प्रसारण लाइन आयोजनालाई बाँके जिल्लामा प्रसारण लाइनको टावर प्याड निर्माणको लागि करिब २ बिगाहा जग्गा प्राप्ति गर्न सोही मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।