arrow

‘ग्रो टु सेल’ अवधारणामा सिन्धुली करिडोरका कृषक

logo
हरि लामिछाने,
प्रकाशित २०७३ मंसिर २९ बुधबार
karidor-ma-kheti.jpeg
सिन्धुली। परम्परागत कृषि प्रणाली विस्थापित गर्दै आधुनिक खेती प्रवद्र्धनमा सिन्धुली सडक करिडोरका कृषक निरन्तर क्रियाशील छन् । आधुनिक प्रविधिमा आधारित खेतीबाट जीवनस्तरमा सुधार ल्याउन यहाँका कृषकले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)को सहयोग लिइरहेका छन् । सर्वसाधारणको तहमा हुने सहयोग कार्यक्रमअन्तर्गत जापान ओभरसिज कोअपरेसन भोलुन्टर्स(जेओसिभी) र वरिष्ठ स्वयम्सेवकले जनतासँगै बसेर सहयोग सञ्चालन गर्दै आएका छन् । जापानको जेओसिभी कार्यक्रम सन् १९६५ मा स्थापाना भएको हो । 
 
सिन्धुली सडक करिडोर व्यावसायिक कृषि परियोजना(यसआर–क्याप)मार्फत जाइकाले काभ्रे, रामेछाप र सिन्धुलीका पहाडी भेगका जनताको आर्थिक सवलीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । सडक करिडोरमा पर्ने कटुन्जेबेँसी–४ काभ्रेमा स्थानीय सामुदायिक तरकारी उत्पादक कृषक समूहले व्यावसायिक रुपमा कृषिउपज उत्पादन गरिरहेको छ । उक्त परियोजनामार्फत जाइकाले कृषकलाई प्राविधिक सहयोग पुर्‍याइ राखेको छ । 
 
कृषक समूहका सोनाम लामाले परियोजना लागू भएपछि कृषिउपज बिक्री गरेर नगद आर्जन गर्न सकेकोमा खुसी व्यक्त गर्नुभयो । सिँचाइ नहुँदा प्रायः बाँझो रहने यहाँको जमिन अहिले बाह्रै महिना हरियाली भएको छ । मैसमी र बेमौसमी तरकारीका कारण यहाँका कृषकलाई अन्यत्र मजदुरी गर्न जानु परेको छैन । पछिल्ला वर्षमा प्रतिपरिवारले रु एक लाखभन्दा बढी नाफा गर्न सफल भएका छन् । 
 
कृषक समूहमा २५ घरपरिवार आवछ छन् । यहाँका कृषकलाई परियोजनाका प्राविधिकले पहिले गोलभेँडा, प्याज, बोडी र काउलीको बीउ छनोट गर्ने विधि सिकाउँछन् । त्यसपछि नर्सरी, रोग र किरा तथा माटोसम्बन्धी ज्ञान दिइन्छ । त्यसको लगत्तै बजार अध्ययन गरिन्छ र चौथो चरणमात्र तरकारी उत्पादन गरिन्छ । 
 
यसरी चरणबद्ध तरकारी खेतीलाई व्यवस्थित गरेपछि बजारको समस्या नहुने बताउनुहुन्छ, कृषि इन्जिनियर किरण काफ्ले । उनले भने– “यहाँका कृषकले ‘ग्रो टु सेल’ अवधारणामा उत्पादन गर्दै आएका छन् । उनीहरुको उत्पादनले सजिलै बजार पाउँछ ।” 
 
कटुन्जेबेँसी– ४ र ५ का किसानले १०० रोपनी जग्गामा पम्प लगाएर पानी तानेर सिँचाइ गरेका छन् । सिँचाइसँगै उत्पादनमा वृद्धि तथा उनीहरुको जीवनस्तरमा आर्थिक सुधार भएको कृषि सेवा केन्द्र भकुन्डेबेँसीका मन्दिलकृष्ण श्रेष्ठ बताउनुहुन्छ । “यहाँका कृषकमा उत्साह जागेको छ,” उनले भने। जीवनस्तर सुधारका लागि पाइप, इनार खन्नका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको उनको भनाइ छ । 
 
कृषिका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउँदै आएको जाइका नेपाल कार्यालयका प्रमुख प्रतिनिधि जुन साकुमा बताउछन् । निरन्तररुपमा सडक करिडोरका जनताको जीवनस्तर सुधारमा सहयोग गर्ने जाइकाको नीति भएको उनको भनाइ छ । नेपालमा जाइकाको स्वयम्सेवक कार्यक्रम कृषि, वन तथा मत्स्यपालन, मर्मत सम्भार, सिभिल इन्जिनियरिङ, सरसफाइ, शिक्षा र संस्कृतिका साथै योजना तथा प्रशासनलगायत छ क्षेत्र र उपक्षेत्रमा फैलिएको छ । 
 
सन् १९७१ मा जनकपुर कृषि विकास परियोजनासँगै नेपालमा जाइकाको सहयोग कृषिमा सुरु भएको हो । त्यसपछिका दिनमा विभिन्न परियोजनामार्फत सिन्धुली सडक करिडोर व्यावसायिक कृषि परियोजनाले कृषि व्यावसायिकीकरणको माध्यमबाट प्रत्येक कृषि घरधुरीको आम्दानी अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । स्वयम्सेवकको सक्रिय सहभागितामा सर्वसाधारण तहमा कृषिसम्बन्धी सीपको विस्तारलाई प्रवद्र्धन गरिएको छ । 
 
जाइकाले नेपालमा सम्पन्न गरेको महत्वपूर्ण परियोजनामध्ये सिन्धुली सडक निर्माण परियोजना महत्वपूर्ण छ । चार लेनको काठमाडौँ–भक्तपुर सडक(९.१किमी) र सिन्धुली सडक १६० किलोमिटर रहेको छ । उक्त परियोजनाले राजधानीलाई मध्य तथा पूर्वी तराईसँग जोडेको छ । सो सडकलाई वैकल्पिक मार्गका रुपमा लिइन्छ । उक्त परियोजना सन् २०१५ मा सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरिसकेको छ । 
 
परियोजना अवलोकनमा गएका अर्थ मन्त्रालयका उपसचिव श्यामनिधि तिवारीले जापान सरकारको सहयोगबाट ग्रामीण जनताको जीवनस्तरमा सुधार आई देशको अर्थतन्त्र सबल बनाउन महत्वपूर्ण सहयोग पुगेको बताए । उनले जाइका सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्दै दिगो आर्थिक विकासमा दाता राष्ट्रको महत्वपूर्ण भूमिका रहिआएको बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ