स्टेडिमल अफ लाइट । इङलिश प्रिमियर लिग फुटबलमा चेल्सी उपाधिको लहरमा देखिएको छ । हुनत भर्खर १६ औं चरणका खेल सकिएका छन् । तर चेल्सीले जितका लागिमात्र खेलिरहेको छ । यसको अर्थ हो उपाधि जित्ने अनि आफ्ना खेलाडीलाई अर्को खेलका लागि सही सलामत राख्ने ।
बुधबारको खेलमा पनि चेल्सीले सन्डरल्याण्डजस्तो कमजोर टिमलाई १–० ले हरायो । सन्डरल्याण्डको मैदानमा भएको खेलमा चेल्सीलाई जिताउन ४० औं मिनेटमा सेस फेब्रिगासले गोल गरे ।
त्यसपछि चेल्सीले जितका लागि खासै मेहनत गरेन । गोलका लागि केवल ५ प्रहारमात्र गरेको छ । त्यसको तुलनामा सन्डरल्याण्डले १३ वटा प्रहार गरेको थियो ।
तर चेल्सीको यो लगातार १० जित हो । यो जितसंगै शीर्ष स्थानमा कायमै छ । चेल्सकिो ४० अंक भएको छ भने दोस्रो स्थानको लिभरपुलको ३४ अंक छ ।
बुधबार रातिको खेलमा लिभरपुलले मिडिल्सब्रोलाई उसकै मैदानमा ३–० ले हरायो । एडम लालनाले दुई तथा डिभोक ओरिजीले एक गोल गरे ।
म्यानचेष्टर युनाइटेडले पनि क्रिष्टल प्यालेसमाथि जित हासिल गरेको छ । म्यानचेष्टरले खेल २–१ ले जित्यो । क्रिष्टल प्यालेसकै मैदानमा भएको खेलमा म्यानचेष्टर युनाइटेडलाई जिताउन पल पोग्बा र इब्राहिमोभिच ज्लाटानले एक एक गोल गरे ।
त्यस्तै म्यानचेष्टर सिटीले घरेलु मैदानमा वाट्फोर्डमाथि २–० को जित निकाल्यो । पाब्लो जाबालेटा र डेभिड सिल्भाले एक एक गोल दिलाए ।
अन्य खेलमा टोटनह्याम हट्सपरले हल सिटीलाई ३–० ले, वेष्टब्रोमले स्वान्सीलाई ३–१ ले, वेष्टह्यामले बर्नलेलाई १–० ले हरायो । स्टोक र साउथह्याम्पटनले भने गोलरहित बराबरी खेलेका छन् ।
लिगमा ३४ अंकसहित आर्सनल तेस्रो स्थानमा छ भने ३३ अंकको म्यानचेष्टर सिटी चौथो स्थानमा छ ।
पुछारको सन्डरल्याण्डको ११ अंक छ भने स्वान्सी र हल सिटीको समान १२ अंकसहित रेलिगेशन क्षेत्रमा छन् । साविक विजेता लेस्टर सिटी भने १६ अंकसहित १४ औं स्थानमा छ ।