काठमाडौं । सोमबार सम्पन्न संसारका बालबालिकाको लागि एक्सपो चेसमा नेपाललाई तेश्रो स्थान प्राप्त भएको छ । विश्वका पाँच महादेशका आठ राष्ट्र सहभागी प्रतियोगितामा एशियाबाट नेपालको सहभागीता रहेको एक्सपोचेसका नेपाल संयोजक उमेश केसीले बताए ।
संसारका बालबालिकाहरुलाई चेस खेलको माध्यमबाट अन्य देशको भाषा तथा संस्कृतिका विषयमा समेत ज्ञान आर्जन गर्न सहयोग पर्याउने उद्देश्यले आयोजित प्रतियोगितामा नेपालबाट ११ जना बालबालिकाको सहभागीता रहेको थियो । अनलाईन प्रविधिबाट सञ्चालन भएको प्रतियोगिताको प्रत्येक चरणमा ४ जना खेल्ने, ४ जनाले विद्दुतीय उपकरणमा सहयोग पुर्याउने तथा ३ जना प्रत्यक्ष कुराकानीमा सहभागी भएका थिए । संसारभर एउटै समयमा प्रतियोगिता सञ्चालन भएको थियो ।
सात चरणमा सम्पन्न प्रतियोगितामा स्पेन १० म्याच प्वाईन्टका साथ पहिलो स्थानमा रह्यो भने पेरु ९ म्याच प्वाईन्टका साथ दोश्रो स्थानमा रह्यो । ८ म्याच प्वाईन्ट बटुल्दै तेश्रो भएको नेपालले २ मा जित, ४ मा बराबरी तथा १ खेलमा हार बेहोरेको थियो । नेपालले चिलिलाई ०.५ अंकका विरुद्ध ३.५ अंकले पराजित गर्यो भने हंगेरीलाई ३.१ ले हरायो ।
त्यसैगरी पेरु, युगाण्डा, मेक्सिको तथा अमेरिकासँग २–२ अंकका साथ बराबरीको नतिजा आत्मसात गर्यो । उता विजेता टोलि स्पेनसँग ०।५ का विरुद्ध ३।५ अंकको हार व्यहोर्न पुग्यो । स्पेनी स्वयंसेवी संस्था एक्सपोचेसको आयोजनामा भएको कार्यक्रममा चित्रकला तर्फ समेत नेपालका बालबालिका सहभागी भएका थिए । चित्रकलामा हंगेरीकी बालिका प्याट्रिसिया नेजी उत्कृष्ठ सावित भईन ।