arrow

सहकारी प्रकरणमा रवि

सहकारीमा रविको दोष शिशिरलेसमेत स्वीकारेका छन् – ध्रुवबहादुर प्रधान

'सहकारीहरुबाट ल्याइएको जनताको पैसा हो, त्यो फिर्ता गर्नुपर्छ भन्ने कि क्लिन चिट पाएँ भनेर उफ्रिदै हिँड्ने ? त्यो कुरा गर्न मिलेन’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २ बुधबार
dhurba-bahadur-pradhan_nawalparasi-2-rpp-mp-2079-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने सहकारी प्रकरणमा दोषी पाइएका छन् । सहकारी संस्थाको बचत दुरुपयोग सम्बन्धमा छानबिन गर्न सांसद सूर्य थापाको संयोजकत्वमा गठित संसदीय छानबिन विशेष समितिले रविमाथि कारबाहीका लागि सिफारिस गरेको हो । उक्त सिफारिसलाई कार्यान्वयनमा ल्याउनका लागि सभामुख देवराज घिमिरेले सरकारका नाममा रुलिङसमेत गरिसकेका छन् । थापाको संयोजकत्वमा बनेको उक्त छानबिन विशेष समितिमा एमालेबाट सरिता भुषाल, नेपाली कांग्रेसबाट बद्री पाण्डे (पाण्डे मन्त्री भएपछि दिलेन्द्रप्रसाद बडू) र ईश्वरी न्यौपाने, माओवादी केन्द्रबाट लेखनाथ खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ध्रुवबहादुर प्रधान तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शिशिर खनाल सदस्य रहेका थिए । यो टोलीले साढे तीन महिना समय लगाएर छानबिन गरी प्रतिवेदन तयार गरी प्रतिनिधि सभामा गत सोमबार (भदौ ३१ गते) बुझाएको थियो । गत जेठ १५ गते गठित समितिले जेठ २२ गतेदेखि काम थालेको थियो । सो क्रममा सहकारी सम्बद्ध व्यक्तिहरुसँग ६३ ओटा बैठक गरेको थियो । यसरी तयार भएको अहिलेसम्मकै सहकारीका क्षेत्रमा सबैभन्दा बढी गहन अध्ययन गरी तयार गरिएको दाबी गरिएको छ । यो प्रतिवेदन पेश भएपछि भने रवि लामिछानेसहित रास्वपाको टिमले रवि निर्दोष रहेको दाबी गरेको छ भने कांग्रेस, एमाले लगायतका नेताहरुले दोषी रहेको भन्दै राम्रोसँग नेपाली भाषाको अर्थ बुझ्न सुझाएका छन् । सोमबारदेखि अहिलेसम्म पनि यो विषय तातिरहेको छ । रास्वपाले रवि चोखिएको भन्दै राष्ट्रिय भेलामै पनि दाबी गरिरहेको छ । खासमा रास्वपाका सांसद शिशिर खनाल नै यो छानबिन समितिका सदस्य थिए । उनले कहीँ कतै रवि चोखिएको कुरा गरेका छैनन् । किनकि उनलेसमेत गहन अध्ययन गरी निष्कर्ष निकालिएको प्रतिवेदनमा उनी पनि साक्षी हुन् । यहाँ रवि विशेषका लागि भनेर कांग्रेस, एमाले, माओवादी वा राप्रपा कसैले पनि छुट्टै नियम बनाएका छैनन् । 

आखिर यसको वास्तविकता के हो त भनी हाम्राकुराले राप्रपा सांसद एवं छानबिन समिति सदस्य ध्रुवबहादुर प्रधानसँग कुराकानी गरेका छौँ । उक्त कुराकानी संक्षेपमा–
 सहकारीको प्रतिवेदन कस्तो रह्यो ? 
हाम्रो हिसाबले हामीले ‘बेष्ट’ कुराहरु गरेका छौँ । 

चर्चा बढी रवि लामिछानेको छ । रास्वपाबाटै शिखिर खनाल पनि सदस्य रहेको समिति थियो । के उहाँको फरक मत थियो र ? 
पहिला त उहाँले दस्तखत गर्न नै मान्नु भएको थिएन । रवि लामिछानेलाई कारबाही हुने भएपछि कहाँ दस्तखत गर्ने भनेर भन्दै हुनुहुन्थ्यो । तर हामीले के भन्यौँ भने तथ्यको आधारमा हामीले भन्नुपर्छ । तपाईंको पार्टीको हिसाबले कुरा नगर्नुस् । तपाईंको इमेजको कुरा पनि छ । हामीले निष्पक्ष ढंगले सबै कुरा गरेका छौँ भन्ने पनि देखिनु पर्छ । त्यसकारण तथ्य नलुकाउँ भन्ने कुरा गरेपछि उहाँले नै भन्नुभयो त्यसो भए ठीकै छ सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा पैसा आएकै हो । त्यसमा दुईमत रहेन । गोर्खा मिडिया नेटवर्कको पैसा रवि लामिछानेले चलाएकै हुन् भन्ने भएपछि त्यो कुरा पनि भएन । यो कुरा लेख्न मिल्यो भन्ने खालको उहाँको कुरा थियो ।

एउटै कुरा जुन ‘ट्रान्जेक्सन’ भएको छ त्यसको टीडीएस, ट्याक्सेसहरु त्यो काटिएको छैन । कुरो कसरी हुन्छ उहाँले आफै जवाफ दिइहाल्नु होला यसबारेमा हामीले विस्तृतमा सोधेनौँ पनि । जस्तै ७५ लाखको एउटा रहेको छ । ५–५ लाखको उहाँको तलब भत्ता रहेको छ । त्यो कुराका बारेमा उहाँले स्पष्ट गर्नुभएन । एउटै कुरा तीन करोड रुपैयाँ विभिन्न ठाउँबाट उहाँको नाममा आएको छ मेरो नाम छैन, मैले दस्तखत गरेको छैन मेरो नागरिकता नम्बर छैन भन्ने कुरा भएको छ । त्यसलाई हामीले सहज ढंगले राख्यौँ त्यही । ल ठीक छ तपाईंकै भनाइ भनेर राख्यौँ । तर सहकारीको पैसा आयो । म्यानेजिङ डाइरेक्टरको हिसाबले गइयो । अधिकांश पैसा उहाँले खर्च गर्नुभएको छ । सबै गरेर एक अर्ब २० करोड हो । अहिले ६५ करोडको तथ्याङ्क प्रतिवेदनमै राखेका छौँ । 

यतिधेरै कुरा छताछुल्ल हुँदा पनि रास्वपाले अफबाह फैलाउँदै हिँडेको छ नि ? 
कांग्रेसलाई सोधे हुन्छ नि । कांग्रेसबाट बडू र ईश्वरी न्यौपाने हुनुहुन्छ । उहाँहरुले पनि बोल्नुहुन्छ नि । म त लिबरल मान्छे भएँ । राप्रपा भएपछि तटस्थ भएँ । जे छ त्यो सत्य छ । साँचो लुकाएर लुक्छ र ? लुक्दैन । 

रवि लामिछानको गैरजिम्मेवारीपनलाई के भन्नुहुन्छ ? 
दुई ओटा कुरा यसमा स्पष्ट छन् । पूर्व उपप्रधानमन्त्री भइसक्या, गृहमन्त्री भइसक्या, एउटा पार्टीको नेता, जनताको प्रतिनिधित्व गर्न खोज्ने, जनताको यतिधेरै पैसा अपचलन भएको, हिनामिना भएको, आर्थिक संकटग्रस्त अवस्थामा मैले क्लिन चिट पाएँ भन्दै हिँड्न उपयुक्त हुँदैन । जुनचाहिँ गोर्खा मिडिया नेटवर्क अध्यक्ष जीबी राई र प्रबन्ध निर्देशक रवि लामिछाने, छविलाल र रम्तेल सबैको जिम्मेवारी छ ।

जीबी राई र रवि लामिछाने

जीबी राईसँग जति पनि नजिकका सहकारीहरु छन् त्यहाँबाट ल्याइएको जनताको पैसा हो । त्यो फिर्ता गर्नुपर्छ भन्ने कि क्लिन चिट पाएँ भनेर उफ्रिदै हिँड्ने ? त्यो कुरा गर्न मिलेन । एउटा नेताले जनताको हितमा सोच्नुपर्छ । आफूले पैसा खर्च गरिएको छ । त्यसकारण जिम्मेवारी निर्वाह गर्ने कुरा गर्नुपर्छ । गल्ती गरेको भएपछि थाहा नपाएर मैले गल्ती गरैँ भनेर माफी माग्नुपर्छ । आफ्नो एकाउन्टिबिलिटी त छँदैछ जिम्मेवारीमा हामीले कारबाही गर्नुपर्छ भनेका छौँ । त्यस्तै घटनामा अरु थुनामा परेका छन् । रवि लामिछानेको हकमा ढाकछोप, क्लिनचिट भन्ने कुरा पटक्कै छैन । कारबाही गर्नुपर्छ भनेर त्यसै लेखेको हैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ