arrow

अभिभावकमुखी शिक्षा आवश्यक : मन्त्री थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १० बिहिबार
bindukumar-thapa-minister-gandaki.jpg

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

शिक्षा विकास निर्देशनालय पोखराले आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को अभिलेख संशोधन र शैक्षिक तथ्याङ्कसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले शिक्षा क्षेत्रमा सुधार ल्याउन अभिभावकमुखी शिक्षालाई जोड गर्नुपर्ने बताए ।

“मन्त्रालयले राखेको अभिभावकमुखी शिक्षा नयाँ कार्यक्रम हो, यसलाई प्रभावकारी बनाउन आवश्यक छ, शैक्षिक क्षेत्रलाई सुदृढीकरण गर्न यस्ता कार्यक्रमले मदत पुग्छ”, उनले भने ।

मन्त्री थापाले तथ्याङ्कको विश्वसनीयतामा शंका नआउने गरी यथार्थपरक तथ्याङ्क उपलब्ध गराउनुपर्ने आवश्यकतालाई औंल्याए ।

तीनै तहको सरकार मिलेर नै शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिने भन्दै मन्त्री थापाले घोकन्ते विद्याभन्दा पनि संस्कारमुखी शिक्षा आजको आवश्यकता रहेको स्पष्ट पारे ।

मन्त्रालयले यसपटकको बजेटमा समेत व्यवसायिक र नैतिकवान शिक्षालाई जोड दिएको उनले बताए ।

उनले फ्राइडे फर फ्यूचर, सिक्दै कमाउँदै, अभिभावक शिक्षा गायतका कार्यक्रम महत्वपूर्ण रहेको र यसको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिए ।

गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रघुराम विष्टले कक्षा १० का विद्यार्थीको सर्टिफिकेटमा नामथर, जन्ममितिका बारेमा ध्यान दिन आवश्यक रहेको बताए । जसका लागि अभिभावकमुखी शिक्षा प्रभावकारी हुने भनाइ उनको छ । सही तथ्याङ्कको आवश्यकतालाई उनले जोड दिए ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव तोयानाथ लम्सालले प्रदेश स्तरमा शैक्षिक तथ्याङ्कको विश्वसनीयता बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी गराए ।

उनले मन्त्रालयले बिँग्रदो, हराउँदो संस्कारलाई परिवर्तन गरी समाज र व्यक्तिलाई सुधार गर्न शिक्षाको क्षेत्रमा नयाँ कार्यक्रम ल्याएको उल्लेख गरे ।

उनले मन्त्रालयअन्तर्गत प्रदेशका ११ वटै जिल्लाका विभिन्न कार्यालयलाई प्रभावकारी बनाउन साँझेदारी मोडलमा बजेट विनियोजन गरेको जानकारी दिए ।

शिक्षा निर्देशनालय पोखराका प्रमुख अम्बिका आचार्यले मुस्कानसहितको गण्डकी प्रदेश बनाउन शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन विविध कार्यक्रमको आयोजना गर्दै आएको उल्लेख गरे ।

कार्यक्रम असोज १० र ११ गते दुई दिनसम्म चल्नेछ । कार्यक्रममा ११ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख र ८५ वटै पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ