अदालतको अवहेलनामा सिधा कुरालाई सजाय, माफी मागे तीन महिनाको कैद सात दिनमात्रै [पूर्णपाठ]
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १४ सोमबार
733
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । सर्वोच्च अदालतले सिधाकुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गर्दै सम्पादक, प्रकाशक र समाचार स्रोत राजकुमार तिमल्सिनालाई कैद सजाय सुनाएको छ ।
सर्वोच्च अदालतका अनुसार आइतबार बसेको पूर्ण इजलासले राजकुमार तिमल्सिनालाई ६ महिना कैद, प्रकाशक युवराज कँडेललाई र सम्पादक नवीन ढुंगानालाई तीन-तीन महिना कैद सजाय सुनाएको हो ।
त्यस्तै सर्वोच्चले सिधाकुरा डट कमलाई ५ हजार जरिबाना सुनाएको छ । सर्वोच्चले सम्पादक ढुंगाना र प्रकाशक कंडेलको हकमा सर्वोच्च अदालतमा उपस्थित भएर क्षमायाचना तथा पुन: त्यस्तो कार्य नदोहोराउने लिखित प्रतिबद्धता व्यक्त गरेमा तीन महिनाको कैदबाट सात दिनको मात्र कैद सजाय हुने आदेश गरेको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत इजलासले उक्त फैसला गरेको हो।
अख्तियारले गर्ने स्टिङ अपरेसनसम्बन्धी नियमावली खारेज गर्ने फैसला नै प्रभावमा परेर गरिएको दाबी गर्दै सिधा कुरा डटकमले 'डार्क फाइल्स' नामक शृंखलाबद्ध समाचार प्रसारण गरेको थियो ।
सिधाकुरा डटकमले ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ लगायतका शीर्षकमा समाचार लेखेको थियो ।
यसरी समाचार प्रसारण भएपछि झुट्टो भन्दै सर्वोच्चमा रिट परेको थियो। त्यस रिटमा सिधाकुरा डटकमका अध्यक्ष तथा प्रस्तोता युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र राजकुमार तिमल्सिनालाई प्रतिवादी बनाइएको थियो ।