arrow

समृद्ध तराई–मधेस सिँचाइ कार्यक्रम सुरु

logo
सुरेशकुमार झा,
प्रकाशित २०७३ पुष ३ आइतबार
Water_Irrigation-Gawler.jpeg
सिरहा। कमला नहरको प्रभावकारी व्यवस्थापन एवम् व्यवस्थित निर्माणले सिरहाको पश्चिम र धनुषा जिल्लाको पूर्वी क्षेत्र अन्तर्गत ७६ गाविसमा सिँचाइ सुविधा पुर्‍याएको छ । 
 
फलस्वरुप सिरहाका ४० गाविस र धनुषाका ३६ गाविसमा जनताको मागअनुसार उक्त नहरबाट पानी दिने गरिएको र कृषि उत्पादनमा अत्यन्त वृद्धि भएको स्थानीयवासी कृषकको भनाइ छ । 
 
लामो समयदेखि कमला नदीको कटान र डुबानमा पर्दै आएको सिरहा पश्चिम र धनुषाको पूर्वी क्षेत्रमा आवश्यक निर्माण गरी नहर सञ्चालन गरेपछि सिरहा र धनुषाका साढे १२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको कमला हर्दिनाथ सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय पोर्ताहाले जनाएको छ । 
मूल नहरको लम्बाइ ३० किमी, आठ नहर शाखा तथा १७ प्रशाखा रहेको सो नहरबाट प्रत्येक वर्ष धान र गहुँखेतीका लागि दुई पटक पानी छर्ने गरिएको र आवश्यक परे पानी छाडिँदै आएको डिभिजनका प्रमुख गौतम ठाकुरले बताए । 
 
सीमित स्रोत र साधन भए पनि कार्यालयले स्थानीय प्रशासन, जल उपभोत्ता तथा किसानको सहयोग एवम् समन्वयमा नहरको निर्माण, सरसफाइ, ग्राभेलिङलगायत अन्य पूर्वाधारका काम भइरहेको जनाइएको छ । 
 
नहर सिञ्चित क्षेत्रमा प्रतिकठ्ठा पाँच मन धान र तीन मन गहँ उत्पादन भइरहेको छ । पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका कृषि अधिकृत नीलकमल सिँहले कमला नहरबाट सिँचाइमा धेरै सुविधा पुगेको र यसलाई थप व्यवस्थित गर्नुपर्ने अवस्था रहेको छ भने । 
 
डिभिजन कार्यलयका अनुसार चालु आवमा कमला नहरको बृहत् सरकारी सिँचाइ योजनातर्फ १७ करोड र मर्मततर्फ  दुई करोड निकासा गरिएको । समृद्ध तराई– मधेस सिँचाइ कार्यक्रमका लागि पाँच करोड विनियोजन भएको बताइएको छ । 
 
पोर्ताहा गाविसका किसान रामदयाल मण्डल पहिला नहर व्यवस्थित नहुँदा बाढीले बगाउँथ्यो तर अहिले नहरको निर्माणले बाढी नियन्त्रण मात्र होइन सिँचाइ सुविधाले जीवनमा सुधार आएको बताए । 
 
यसैबीच सिरहाका प्रजिअ श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा प्रहरी प्रमुख, जिल्ला उपभोक्त संस्थाका प्रतिनिधि र स्थानीय कृषक पत्रकारको टोलीले कमला नहर प्रणलीको निर्माण भइरहेको भौतिक पूर्वाधारको अनुगमन तथा निरीक्षण गरेको छ । 
 
विसं २०१७ कात्तिक २६ गते तत्कालीन सिँचाइमन्त्री गणेशमान सिंहले शिलान्यास गरेको सो सिँचाइ डिभिजन कार्यालयले २०७०/७१ देखि प्रभावकारी रुपमा विभिन्न ठेकेदार कम्पनीमार्फत पूर्वाधारको निर्माण गरिरहेको प्रमुख ठकुरले बताए । 
 
कार्यालयका इन्जिनियर अरुण यादवले जल उपभोक्ता संस्थाको निर्वाचन तथा नवीकरणतर्फ पहल भइरहेको बताए । निर्वाचन नभएका बारे उपभोक्त संस्थामाथि यहाँ व्यापक गुनासो छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ