- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर । पूर्वाञ्चलमा हुन लागेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । शुक्रबारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन् हुने विराटनगरस्थित शहीद रंगशाला खुब सजाइएको छ । प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ ।
प्रतियोगिताका केही खेल पहिले भइसकेका छन् भने केही जारी छन् । विधिवत उद्घाटनका लागि सातौं राष्ट्रिय खेलकुद व्यवस्थापक र खेलाडी खेलस्थल पुग्न थालिसकेका छन् । प्रतियोगिताको उद्घाटन् हेर्नेहरुको भीड विराटनगरमा हुने र खेल हेर्नेको भीड सुनसरीमा हुने बताइएको छ । सुनसरीको इटहरी र धरानमा प्रतियोगिताका १३ खेल हुने राष्ट्रिय खेलकुद परिषद्का प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।
विराटनगरमै रहेका दाहालले भने, ‘सातौंल राष्ट्रिय खेलकुदमा प्रदर्शनी खेलसहित कुल ३५ खेल समावेश छन् । रग्वी, डान्स स्पोर्ट्स, साम्वो, रक क्लाइम्विङ र दोहोरीलाई प्रदर्शनी खेलको रुपमा राखिएको छ ।’ दाहालले प्रतियोगिताको उद्घाटन हुने मोरङमा ८, झापामा ५, सिरहा, धनकुटा, सप्तरी, उदयपुरमा एक–एक खेल हुने समेत जानकारी दिए । यस्तै, लन टेनिस कास्की र स्नुकर ललितपुरमा हुनेछ ।
प्रतियोगितामा गल्फ, आर्चरी, फेन्सिङ र स्नुकर गरी चार खेलका विजेताले पदक पाउने छैनन् । ३ हजार ९ सय ७२ खेलाडीले ९ सय ५२ पदकका लागि स्प्रर्धा गर्ने छन् । २ सय ६८ स्वर्ण र समान २ सय ६८ रजत तथा ४ सय १६ कांस्य पदकको छिनोफानो हुने बताइएको छ ।
प्रतियोगितामा त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र गरी तीन विभागीय र पाँच विकास क्षेत्रले सहभागिता जनाउने छन् । यद्यपि, आयोजकलाई प्रतियोगिताको बजेट अपुगले टाउको दुखाएको छ । राष्ट्रिय खेलकुद परिषदले ११ करोडको बजेट माग गरे पनि अर्थ मन्त्रालयले ८ करोड मात्रै निकासा दिएको भन्दै आयोजकले बजेट अभावको चिन्ता गरिरहेको हो ।