arrow

थापाठाना एकैदिन पूर्ण साक्षर, पूर्ण खोप र उज्यालो गाविस घोषणा

logo
प्रकाशित २०७३ पुष ८ शुक्रबार
Parbat_district_location.png
फलेवास । मुलुककै दोस्रो र पर्वतकै एकमात्र सरसफाइयुक्त नमुना गाउँ विकास समिति एकै दिन तीनवटा अभियान सम्पन्न गरेर झनै नमुना बनेको छ । पर्वतको थापाठाना गाविस बिहीबार एकैदिन पूर्ण साक्षर, पूर्ण खोपयुक्त तथा उज्यालो गाविस घोषित भएको हो । 
 
गाविसमा आयोजित एक विशेष समारोहबीच पूर्ण साक्षर, पूर्ण खोप तथा उज्यालो गाविस घोषणा गरिएको छ । 
 
गाविसमा रहेका १५ वर्षदेखि ६० वर्ष उमेर समूहका नागरिक लेख्न र पढ्न र हिसाब गर्न जान्ने भएपछि पूर्ण साक्षर घोषणा गरिएको छ । गाविसमा अहिले निरक्षरको सङ्ख्या शून्य रहेको गाविस सचिव पूर्णबहादुर भण्डारीले जानकारी दिए । 
 
त्यस्तै, उक्त गाविसमा जन्मेदेखि २ वर्षसम्मका बालबालिकालाई नियमित खोपको मात्रा पूरा गरेपछि पूर्ण खोप गाविस घोषणा गरिएको छ भने गाविसका सबै वडामा फलामे पोलसहित विद्युतीकरण गरिएकाले उज्यालो गाविस घोषणा भएको हो । 
 
उक्त अभियान सँगै गाविस जिल्लाकै नमुना र सक्रिय गाविसका रुपमा परिचितसमेत भएको छ । 
 
घोषणा सभामा जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले थापाठाना गाविस सबैखाले अभियानमा सबैभन्दा अगाडि देखिएको भन्दै थापाठानाको अभियानलाई अरू गाविसले पनि सिको गर्नुपर्ने बताए । 
 
घोषणा मात्र सबैथोक नभएको उल्लेख गर्दै पौडेलले अभियानको निरन्तरतामा जोड दिन सरोकारवालालाई आग्रह गरे । 
 
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा फणिन्द्र बरालले अभियानमा देखिएको जोस र जाँगर निरन्तर राख्न आग्रह गरेका छन् । 
 
सो अवसरमा स्वास्थ्य चौकी निर्माणका लागि पाँच रोपनी जग्गादान गर्ने थापाठाना–६ का जुद्धबहादुर केसी र कलावती केसी तथा कृषि सम्पर्क केन्द्रको भवन निर्माणका लागि तीन रोपनी जग्गादान गर्ने थापाठाना–६ का धनबहादुर क्षेत्री र भीमकुमारी क्षेत्रीलाई सम्मान गरिएको थियो । 
 
त्यस्तै, पूर्ण खोप अभियानमा सहयोग गर्ने नौवटै वडाका स्वास्थ्य स्वयम्सेविका, पूर्ण साक्षरता अभियान चलाउने सबै विद्यालय र शैक्षिक, सामाजिक तथा सरसफाइको क्षेत्रमा उल्लेख्य योगदान गर्ने थापाठाना माविका शिक्षक गणेश शर्मा पौडेललाई सम्मान गरिएको छ । 
 
सन् २०१७ भित्र पर्वत जिल्लालाई नै पूर्ण साक्षरतायुक्त जिल्ला र पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने योजना अघि बढाइएको छ । अहिलेसम्म २५ गाविस पूर्ण साक्षर र ३१ गाविस पूर्ण खोपयुक्त घोषणा भइसकेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ