arrow

अर्थतन्त्रका परिसूचक राम्रो छ : डा खतिवडा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ९ आइतबार
yubraj-khatiwada-pokhara.jpg

पोखरा । पूर्वअर्थमन्त्री एवं पूर्वगभर्नर डा. युवराज खतिवडाले अहिले नेपालको अर्थतन्त्रका परिसूचक राम्रो रहेको बताएका छन् । उनले अर्थतन्त्रमा भ्वाङ पर्ने अवस्था नभएको समेत जिकिर गरे ।

पोखरा चेम्बर अफ कमर्स कास्कीले शनिबार पोखरामा आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र सुधारका प्रयास’ विषयक छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकारसमेत रहेका खतिवडाले वर्तमान सरकारले अर्थ व्यवस्थालाई लयमा फर्काउने प्रयास गरेको दावी गरे ।

अघिल्लो सरकारले अर्थतन्त्रलाई सही बाटोमा लैजान नसकेको जिकिर गर्दै उनले अहिलेको सरकारले अर्थतन्त्रलाई चलायमान बनाउने कोसिस गरिरहेको स्पष्ट पारे ।

उनले कोभिडमा समेत ९६ प्रतिशत राजश्व संकलन भएको भन्दै अघिल्लो सरकारले नेपालको इतिहासमा सबैभन्दा कम ७६ प्रतिशत राजश्व संकलन गरेको तर्क गरे ।

उनले अघिल्लो सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेको मात्र होइन पुँजीगत खर्चसमेत गर्न नसकेर असफल हुने अवस्थामा पुगेको आरोप लगाए ।

उनले थपे, ‘अघिल्लो सरकारले स्रोतबिना ठेक्कापट्टा लगाएपछि भुक्तानी गर्न सकेन, अझै पनि छ खर्ब बराबरको ठेक्कापट्टामा स्रोत सुनिश्चित भएको छैन ।’

आर्थिक क्षेत्रको सुधारका लागि आयोग गठन

पूर्वअर्थमन्त्री खतिवडाले निजी क्षेत्रको समेत सहभागितामा आर्थिक क्षेत्रको सुधारका लागि आयोग गठन गरेर काम अघि बढाएको जानकारी दिए ।

उनले आयोगलाई सहयोग गर्न तथा आर्थिक नीति निर्माणमा सहयोग गर्न आग्रह गरे । उनले आफू अर्थमन्त्री हुँदा गरेको लगानी सम्मेलनमा नेपालमा लगानी भित्र्याउन आवश्यक नीति र संरचना तयार गरेको दाबी गरे ।

अहिले पाँच वर्षपछि नेपाल लगानी गर्न योग्य मुलुकमा दर्ज भएको भन्दै उनले रोडम्याप अनुसार काम गरेर अर्को वर्षको मूल्यांकनमा खस्कन नदिने स्पष्ट पारे ।

खतिवडाले सरकार परिवर्तन हुनेबित्तिकै आर्थिक नीति फेरिँदा निजी क्षेत्रलाई व्यवसाय गर्ने वातावरण नभएको तर्क गरे । अर्थतन्त्र सुधारका लागि उत्साह भर्न र लगानी गर्ने वातावरण बनाउन निजी क्षेत्रसँग उनले आग्रह गरे ।

उनले भने, ‘सरकारले मात्र विकास निर्माणको काम गर्छ भन्ने होइन, निजी क्षेत्रको लगानीले देश विकास हुन्छ, सरकारको पाँच अर्ब पुँजीगत खर्च हुँदा १५ अर्ब खर्च निजी क्षेत्रको छ ।’

उनले थपे, ‘निजी क्षेत्रको मनोबल उच्च हुने बित्तिकै नेपालमा लगानीको सम्भावना बढ्छ ।’ सार्वजनिक खरिद ऐन, जग्गा खरिद, जिल्ला दररेटलगायतका लगानीसँग बाझिने कानूनलाई सशोधन गर्नुपर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्रीको चीन भ्रमण

खतिवडाले प्रधानमन्त्रीको आशन्न चीन भ्रमणमा २०१७ मा भएको बीआरआई समझ्दारी अनुसार प्राविधिक सेवा, अनुदान र लगानीको अवसर खोजिने बताए ।

प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने विषयमा समेत छलफल हुने स्पष्ट पारे ।

पोखरा धेरै सम्भावना भएको क्षेत्र भएकोले विमानस्थल विस्तारै चल्ने दाबी गर्दै उनले विमानस्थल चलेर पोखरा गुल्जार हुने जिकिर गरे ।

छलफलमा पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोला, वरिष्ठ उपाध्यक्ष प्रेम सुवेदी, उपाध्यक्ष नवराज आचार्य, श्यामकुमार मल्ल, महासचिव गोकर्ण अधिकारी, सल्लाहकार आनन्द बराल, कार्यसमिति सदस्य कृष्णराज पोखरेल, श्रीराम गौतम, जुना अधिकारी, शोभाकान्त पौडेल, तुलसी दाहाललगायतले निजी क्षेत्रको समस्याका बारेमा जिज्ञासा राखेका थिए ।



नयाँ