मधेसमा रोहिंग्याको संख्या बढ्दो, राजनीतिक संरक्षणको आरोप
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १४ शुक्रबार
504
Shares
सप्तरी । सप्तरीको बोदे बरसाइन नगरपालिका र काञ्चरुप नगरपालिकामा केही रोहिंग्या परिवार बसोबास गर्दै आएका छन् ।
बोदे बरसाइनको जाजर क्षेत्रको वडा नं ५ मा पाँच रोहिंग्या परिवार र काञ्चरुप नगरपालिकाको बालुवा क्षेत्रमा तीन रोहिंग्या परिवार बस्दै आएका छन् ।
यी परिवारलाई नेकपा एमालेका नेता अख्तर मियाँ र सुमनराज प्याकुरेलले सहयोग गरिरहेको स्थानीयले बताएका छन् ।
यसका साथै नेपाल घुम्न गएका केही रोहिंग्या परिवारलाई नेकपा एमाले क्षेत्रका प्रमुख नेता ताराकान्त चौधरी र मेयर रामलखन मल्लले डाकनेश्वरी नगरपालिकामा आश्रय दिइरहेको बताइएको छ ।
उनीहरूले वरपरका क्षेत्रमा थप रोहिंग्याहरूलाई सुविधा दिने योजना बनाएकोसमेत स्रोतले बताएको छ ।
यसका लागि प्याकुरेलले आफ्नो राजनीतिक सम्पर्क र चिनजानका प्रमुख विकास अधिकृतलाई सप्तरीमा राखेर प्रशासनमा परिवर्तन ल्याउन सफल भएकोसमेत स्रोत बताउँछ ।
एक स्थानीय नेताका अनुसार रोहिंग्यालाई भविष्यमा मतदाता बनाउने योजनासहित अहिले सहयोग गरिरहेको बुझिएको छ ।
पछिल्लो समय मधेस प्रदेशमा रोहिंग्याको संख्या बढिरहँदा कुनै ठूलो आपराधिक घटना गराउन सक्रिय रहेको आशंकासमेत गरिएको छ ।
यस सम्बन्धमा नेपाल प्रहरीले सूक्ष्म अध्ययन गरिरहेको बताएको छ । एक प्रहरी अधिकृतका अनुसार सुराक पाउन नसके पनि उनीहरुको अचानक वृद्धि भएको संख्याले भने केही न केही चलखेल भइरहेको संकेत पाइएको हो ।
एमालेका स्थानीय नेताहरु संलग्न भएको आरोप लागे पनि जिल्ला एमालेले यसबारेमा कुनै चासो नराखेको पाइएको छ ।
रोहिंग्याको संख्या अहिले देशैभर बढ्दै गएको छ । काठमाडौँमा समेत उत्तिकै मात्रामा बढ्दै गएको छ ।
नेपालमा सन् २०१२ देखि नै यिनीहरुको सक्रियता बढ्दै गएको हो । काठमाडौँ उपत्यकाको कपन र सुनाकोठीमा त रोहिंग्या शरणार्थीको बसोबास नै छ ।
पछिल्लो चार वर्षको अवधिमा रोहिंग्याको संख्या तेब्बरले बढेको पाइएको छ । यद्यपि सरकारले भने यसलाई नजरअन्दाज गरेको पाइएको छ । ठाउँपिच्छे नै राजनीतिक सहारा लिएर उनीहरु बसेका छन् ।
यसले नेपालमा रहेर ठूलै धार्मिक वा सांस्कृतिक चलखेल भएको आशंकासमेत बढ्दै गएको छ । नेपालमा रोहिंग्या बंगलादेश र भारत हुँदै नेपालमा आएको विश्वास गरिन्छ ।