रवि लामिछानेलाई चितवनबाट पोखरा लगियो, तयारी पर्साको
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २० बिहिबार
633
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । सहकारी ठगी प्रकरणसहित चार ओटा मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कास्की लगिएको छ । चितवनमा सरकारी वकिलको कार्यालयमा उनको बयान बुधबार राति ९ बजे सकिएपछि बिहीबार बिहानै पोखरा लगिएको हो ।
प्रहरीका अनुसार उनलाई उज्यालो भएपछि लैजाँदा सडकमा अनावश्यक अवरोध हुने ठानेर प्रहरीले बिहानै लगेको हो । रविलाई काठमाडौँबाट मंगलबार बिहान चितवन लगिएको थियो ।
मगलबार र बुधबार गरी दुई दिन बयान भएपछि उनलाई पोखरा लगिएको हो । उनलाई पर्सा प्रहरीले पनि पक्राउ पुर्जी जारी गरेकाले सिधै वीरगञ्ज लग्ने कि पोखरा लगेर वीरगञ्ज लैजाने भन्ने अन्योलबीच पोखरामै लगिएको हो ।
रविलाई कास्की प्रहरीले कार्तिक २ गते साँझ काठमाडौँबाट पक्राउ गरी ३ गते पोखरा लगिएको थियो । उनी त्यतिबेलादेखि निरन्तर हिरासतमा छन् । यसअघि उनलाई रुपन्देहीमा पनि बयानका लागि लगिएको थियो ।
उनीमाथि पाँच ओटा सहकारी ठगेको आरोप छ । बुधबार चितवनमा बयान चलिरहँदा पर्साको सानोपाइला सहकारी संस्था ठगी प्रकरणमा रविसहित १४ जनाविरूद्ध पक्राउ पूर्जी जारी भएको थियो।
बुधबार जिल्ला अदालत पर्साले लामिछानेसहित छविलाल जोशी, जीबी राई, रामबहादुर खनालसहितका व्यक्तिविरूद्ध पक्राउ पूर्जी जारी गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरूविरूद्ध सानोपाइला सहकारी संस्था ठगीमा अनुसन्धानका लागि पक्राउ अनुमति मागेको हो।
‘हामीले पक्राउ अनुमति मागेकोमा आज अदालतले पूर्जी जारी गरेको छ,’ पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले भने।
पर्साको सानोपाइला सहकारी संस्था ठगीमा ४३७ जनाले जाहेरी दिएका छन्। उक्त सहकारीको ३३ करोड ५० लाख ७० हजार ४२७ रुपैयाँ ठगी भएकोबारे अनुसन्धान चलिरहेको छ।
उक्त सहकारीको अनुसन्धानमा अहिलेसम्म छवि र रविलाई बयानमा बोलाइएको छैन। जिबी फरार छन् भने पक्राउ परेकाहरूलाई काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको सहारा नेपाल, कास्की पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम सहकारी ठगीमा सरकारी वकिलले बयान लिइसकेको छ।
अब उनीहरूलाई पर्सा लगिने छ।
छविलाई कास्की प्रहरीले असोज ६ गते तथा रविलाई कार्तिक २ गते पक्राउ गरेको थियो । रविमाथि सहकारी ठगीसहित चार ओटा आरोपमा अनुसन्धान भइरहेको छ ।
तत्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, शेयर होल्डर तथा प्रबन्ध निर्देशकको हैसियतमा रविमाथि विभिन्न पाँच सहकारीबाट रकम लगेको आरोपमा अनुसन्धान भइरहेको हो ।
यसका मुख्य योजनाकार मानिएका रवि र छविका साझेदार जीबी राई भने फरार छन् ।