arrow

रारामा पहिलो पटक देखिए कालो रङ्गको चितुवा र लोखर्के 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २३ आइतबार
rara-leo-2081-8-23.jpg

मुगु । मुगु जिल्लास्थित रारा राष्ट्रिय निकुन्जको जङ्गलमा पहिलो पहिलो पटक कालो रङ्गको चितुवा र लोखर्के देखा परेका छन् । निकुन्ज स्थापनादेखि कहिल्यै नदेखिएका यी वन्यज्न्तुहरु काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालयका सोधकर्ता विद्यार्थीहरुले रारा क्षेत्रमा स्तनधारी वन्यजन्तुहरुको अध्ययन, अनुसन्धान गर्न जडान गरेका क्यामेराहरुले कैद गरेको भिडियोमा देखिएको रारा राष्ट्रिय निकुन्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेले बताए । 
 
जडित क्यामाराहरुमा कालो रङ्गको चितुवा (मेलनेस्टिक लिओपट) हिमाली भालु, स्याल, कस्तुरी, बँदेल, लोखर्के जस्ता स्तनधारी वन्यजस्तु ट्याप भएका र तीमध्ये कालो रङ्गको चितुवा र लोखर्के पहिलो पटक देखिएको रारा राष्ट्रिय निकुन्जका सुचना अधिकारी धर्मजित साउतले जानकारी दिए ।

निकुन्ज भित्र पाइने ठूला तथा  मध्यम स्तनधारी जनावरको अभिलेखीकरण, तिनीहरूको गतिविधि र विवरणबारे अनुसन्धान गर्न क्यामेरा ट्य्राप प्रविधिको प्रयोग गरिएको हो । 

त्रिभुवन विश्वविद्यालय, प्राणी शास्त्र केन्द्रीय विभागमा विद्यावारिधि गरिरहेका विद्यार्थी तिलक थापा मगर, अनुसन्धानकर्मी विमलराज श्रेष्ठ, स्नातकोत्तरका विद्यार्थी वाचन प्रसाई र मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष बिर्खबहादुर रोकाया उक्त अनुसन्धानमा सक्रिय छन् । 

यो अनुसन्धानको सुपरिवेक्षण प्राणीशास्त्र केन्द्रीय विभागका सह–प्राध्यापक हरिप्रसाद शर्माले गरिरहेका थिए । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग र रारा राष्ट्रिय निकुन्ज कार्यालय मुगुको अनुमतिमा गत कार्तिक ६ गतेदेखि २१ दिनको लागि रारा राष्ट्रिय निकुञ्जको विभिन्न ४० स्थानमा क्यामेरा जडान गरिएको थियो ।
  
निकुन्ज क्षेत्रमा निकुन्ज कार्यालयले चराचुरुङ्गीहरुको गणना गर्दै आएको भए पनि यहाँ रहेका वन्यजन्तुहरु,जलचर,वनस्पतिहरुको अवस्था, अध्ययन र गणना कहिल्यै गरिएको छैन ।

जैविक विविधता, प्राकृतिक स्रोत साधनले भरिपूर्ण यो निकुन्जमा ५४ प्रजातिका स्तनधारी जनावर,२९६ प्रजातीका चराचुरुङ्गी,७ प्रजातीका माछा (जसमा ३ प्रजातीका असला जातका माछा विश्वभरिमा कतै पाउँदैन जो रारा तालमा मात्र पाइन्छन ) १ प्रजातीको उभयचर,१ प्रजातीको घर्षने वन्युजन्तु र १०२४ प्रजातीका वनस्पतिहरु पाइने गरेका छन् ।

रारा निकुन्ज क्षेत्रको संरक्षणमा समुदाय,निकुन्ज र नेपाली सेनाले ध्यान नदिएको, वनस्पति,चराचुरुङ्गी,वन्यजन्यु,जलचर र धलचरहरुको संख्या घट्दै गएको अनुमानित आरोप लागिरहेका बेला निकुन्जमा नयाँ प्रजातिका वन्यजन्तुहरु देखा पर्नु पछिल्लो समय संरक्षणमा समुदाय,निकुन्ज परिवार र नेपाली सेनाले खेलेको भूमिकाको प्रतिफल भएको निमित्त वरिष्ठ संरक्षण अधिकृत न्यौपाने बताउँछन् ।
 
उनी भन्छन्, 'रारा क्षेत्रमा कति प्रजाती र सख्यामा वनस्पति छन् ? वन्यजन्तु छन् ? जलचर र थलचर छन् त्यो लामो समयदेखि अध्ययन, अनुसन्धान र गणना हुन सकेको छैन नेपाल सरकारले वैज्ञानिक तरिका अपनाइ र आधुनिक उपकरण,प्रविधि र जनशक्तिको प्रयोग गरी अध्ययन, अनुसन्धान र गणना गर्नुपर्छ ।'

२०३० सालमा घोषणा भै २०३२ सालमा स्थापना भएको रारा राष्ट्रिय निकुन्जभित्र नेपालकै ठूलो र गहिरो रारा तालसमेत रहेको छ ।

१०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा राष्ट्रिय निकुन्जको १५ दशमलव ८३ वर्गकिलो किलोमिटर भूभागलाई सन् २००७ मा रामसार क्षेत्रमा सूचीकृत गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ