arrow

अब प्रत्येक स्वास्थ्य संस्थामा निःशुल्क मिर्गौला परीक्षण, शुरु भयो पत्रकारहरुबाट

'निःशुल्क परीक्षण' प्रचारप्रसारको लागि प्रेस युनियनले देखायो सक्रियता

logo
प्रकाशित २०७३ पुष ११ सोमबार
Press-Union.jpeg
काठमाडौं । नेपाल प्रेस युनियनले निःशुल्क रुपमा पत्रकारहरुको मिर्गाैला परीक्षण गराएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको संयोजनमा सोमबार युनियनको केन्द्रीय कार्यालयमा भएको निशुल्क मिर्गौला परीक्षणको स्वास्थ्यमन्त्री गगनकुमार थापाले शुरुवात गरे । युनियनले सधैंगरी कार्यक्षेत्रमा खटिने पत्रकारहरुको स्वास्थ्य परीक्षण आवश्यक रहेको ठहर गर्दै आफ्नो रजत बर्षको अवसरमा यस्तो कार्यक्रम गरेको थियो । युनियनले पहिलो पटक मिर्गाैला रोगको मात्रै परीक्षण गरिएको भएपनि आगामी दिनहरुमा यस्तै जोखिमपूर्ण रोगहरु लाग्न सक्ने अंगहरुको परीक्षण कार्यक्रम गर्दै जाने प्रंतिबद्धता व्यक्त गरेको छ । 
 
Image may contain: 10 people
 
शुभारम्भ कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री थापाले समयमा नै ध्यान नदिँदा क्यान्सर र मिर्गौला सम्बन्धि रोगबाट धेरैले ज्यान गुमाउन पुगेको भन्दै पत्रकारहरुले नै यस्तो कार्यक्रम गर्नाले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरे । अहिले स्वास्थ्य मन्त्रालयमा दैनिकजसो मिर्गौला र क्यान्सर रोगका पीडितहरु सरकारसँग सहयोग माग्न आउने गरेको भन्दै त्यस्ता रोगहरुको बेलैमा उपचार नगराउँदा कतिपयले त ज्यानै गुमाउनु पर्ने अवस्था समेत रहेको बताए । मानिसहरुमा नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्ने जानकारी नै नभएर पनि समस्या सिर्जना भईरहेको भन्दै मन्त्रालयले चेतना जगाउने काममा समेत सक्रियता देखाउन थालेको जानकारी दिए ।
 
Image may contain: 5 people, people sitting, table and outdoor
 
गाउँगाउँमा स्वास्थ्य परीक्षण 
यस्तै, कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री थापाले मृगौला परीक्षणका लागि प्रयोग हुने “डिपिस्टीक किट” सवै जिल्लामा पठाई सकिएकाले त्यसको उपयोग गर्न सवैलाई आह्वान गरेका छन् । स्वस्थ जीवन जीउनको लागि हरेक ६÷६ महिनामा मिर्गौला परीक्षण गर्नु पर्ने भएपनि नेपालमा धेरैले परीक्षण नगर्ने गरेकोले धेरैले अकालमा ज्यान गुमाउनु परिरहेको बताए । उनले यसको रोकथामको लागि गाँउ गाँउमा परीक्षणको अवस्था गरिएको जानकारी पनि दिए । 
 
स्वास्थ्य मन्त्रालय अन्तर्गतको आपुर्ति व्यवस्थापन महाशाखाले कात्तिकको दोस्रो साता नै देशभरी पहिलो चरणमा २० लाख जनाको मृगौला परीक्षण गर्न पुग्नेगरी किट पठाएको मन्त्रालयले जनाएको छ । आवश्यकता अनुसार अरु पनि किट पठाउन सकिने महाशाखाको भनाई छ । जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेको किटलाई स्थानीय आवश्यकता अनुसार मातहतका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा पठाउन लगाईएको महाशाखाका निर्देशक भिमसिंह टिंकरीले जानकारी दिए । 
 
Image may contain: 3 people, crowd and outdoor
 
गाँउ गाँउमा निःशुल्क मृगौला परीक्षणको व्यवस्थाका बारेमा धेरैलाई जानकारी नभएकाले प्रचार प्रसार गर्नका लागि सोमबार नेपाल प्रेस युनियनले पत्रकारहरुको निःशुल्क मृगौला परिक्षण कार्यक्रमको आयोजना गरेको हो । प्रेस युनियनको रजत उत्सवका अवसरमा स्वास्थ्य मन्त्री थापाका प्रेस संयोजक जीवन भण्डारीको प्रस्तावमा प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीको संयोजकत्वमा मृगौला परीक्षण कार्यक्रम आयोजना गरिएको हो । मृगौला परिक्षणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौका स्वस्थ्यकर्मीहरु राजकुमार मिश्र, भोलानाथ पौडेल, रुपा बुढाथोकी र सहयोगी जानुका चालिसेले प्राविधिक सहयोग गरेका थिए ।
 
कार्यक्रममा युनियनका महासचिव अजयबाबु शिवाकोटीले कुनैपनि रोग नदेखिँदा नदेखिँदै पनि पत्रकार सूर्यकुमार क्षेत्रीको एकै पटक त्यस्तो स्थिती भएको स्मरण गर्दै पत्रकारको स्वास्थ्यको लागि युनियनले पहिलेदेखि नै विविध कार्यक्रमहरु गर्दै आएको बताए । उनले बेलाबखतमा स्वास्थ्य उपचार गराएर सम्भावित रोगबाट बचाउनको लागि प्रेस युनियनले यस्तो कदम चालेको भन्दै आगामी दिनमा पनि युनियनले स्वास्थ्यसँग सम्बन्धित अन्य यस्तै कार्यक्रम सञ्चालन गर्ने बताए । 
 
Image may contain: 2 people, people sitting and indoor
 
काठमाडौंमै १० स्थानमा हेल्थ सेन्टर 
सरकारले अस्पताल खोलेर मात्र नहुने भन्दै आफ्ना जनताहरुलाई समयसमयमा स्वास्थ्य परीक्षण गराउन चेतना जगाउने काम पनि सरकारकै रहेको भन्दै मन्त्री थापाको पहलमा काठमाडौं महानगरपालिकासँग समन्वय गरी स्वास्थ्य मन्त्रालयले अहिले राजधानीमा १० ठाउँमा ‘हेल्थ सेन्टर’ खोलेर निशुल्क स्वास्थ्य परीक्षण तथा जनचेतना जगाउने कामगर्न लागिरहेको छ । 
हामी रोग लागेपछि सहयोगको लागि लाखौं रुपैयाँ खर्च गर्छौ । तर, रोग लाग्न भन्दा पहिले जनचेतना जगाएर रोगको रोकथाम गर्नतर्फ भने सरकारको ध्यान गएको छैन ।’ मन्त्री थापाले भने ‘यही कमजोरीलाई अन्त्य गर्दै स्वास्थ्यको पहुँचमा भएकाहरुलाई नियमित स्वास्थ्य परीक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्ता सेन्टरहरु खोल्न लागिएको हो ।’ 
Image may contain: 19 people, people sitting and indoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ