arrow

बक्सिङमा नक्कली खेलाडीलाई खेलाएको आरोप

पीडित खेलाडीले गरे कारवाहीको माग

logo
प्रकाशित २०७३ पुष १३ बुधबार
arju-budha-magar-ji.jpeg
काठमाडौं। पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा बक्सिङ् विधामा सहभागी मध्यपश्चिमाञ्चलका खेलाडी अर्जुन बुढामगरले आफ्नो विरुद्धमा फेक खेलाडी खेलाईएको आरोप लगाएका छन् । 
 
बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर खेलाडी बुढामगरले यस्तो आरोप लगाएका हुन् । उनले जारी प्रतियोगितामा पश्चिमाञ्चलले नक्कली खेलाडी यादव थापालाई रिङमा उतारेर आफूविरुद्ध अन्याय गरेको आरोप लगाए । 
 
उनले भने,‘मैले यो कुरा थाहा पाउनेवित्तिकै गुरुलाई भनेको थिएँ, त्यतिवेला नै गुरुले प्राविधिक समितिमा उजुरी हाल्नुभयो, त्यतिवेला फेक खेलाडी थापालाई खेल्न नदिने निर्णय गरिएको थियो, तर अन्तिममा थापालाई नै रिङ्मा उतारियो, मैले बाध्य भएर नखेल्ने भन्दापनि गुरुको आज्ञा पालना गर्दै रिङमा गएँ, तर खेल प्रर्दशन गरिन् ।’
 
उनले यो विषयलाई लिएर निर्णाय मण्डलमै विवाद भएको समेत जानकारी दिए । मगरले अघि भने,‘नक्कली खेलाडी खेल्न नपाउने भनेर नेपाली अन्र्तराष्ट्रिय रेफ्रीले समेत भन्नुभएको थियो, त्यतिमात्रै होईन प्रमुख प्रशिक्षकको कुरालाई समेत लत्याएर दुई चार जनाको एकलौटी निर्णयले गर्दा यस्तो भयो, नक्कली खेलाडीलाई खेल्न दिईयो, र उनकै पक्षमा निर्णय गरियो, यो अत्यन्तै दुःखलाग्दो कुरा हो, आज मलाई अन्याय भोलि अरु साथीहरुपनि यस्तै खाले गलत निर्णयको शिकार हुनुपर्नेछ, त्यसैले मैले बाध्य भएर अन्यायको विरुद्धमा आवाज उठाएको छु, मलाई न्याय चाहियो ।’
 
उनले नक्कली खेलाडीलाई यस्तो राष्ट्रिय प्रतियोगिता सहभागी गराउने प्रशिक्षकलाई पनि कारवाही गरिनुपर्ने जोडदार माँग गरेका छन् । त्यतिमात्रै होईन, उनले नक्कली खेलाडीलाई पनि कडा कारवाही हुनुपर्ने जिकिर गरे । उनले यसको लागि निश्पक्ष छानविन गर्नको लागि एउटा समिति गठन गर्न समेत सम्बन्धित सरकारी निकायसमक्ष माग गरेका छन् । 
 
कार्यक्रममा पीडित खेलाडी बुढामगरले आफूलाई यस्तो गलत निर्णय गर्ने निर्णायक समितिका दुई चार जना सदस्यहरुले फोनमार्फत आगामी दिनमा कुनै प्रतियोगितामा सहभागी हुन नदिने भन्दै धम्की दिईरहेको समेत जानकारी दिए । 
 
उनले भने,‘म माथि अन्याय भएकोले म त्यहाँबाट सिधै काठमाडौं आएको छु, तर मलाई उनीहरुले फोनमार्फत धम्की दिईरहेका छन्, उनीहरुले खुलेआम नक्कली खेलाडीलाई खेलाएको कुरा स्विकार गरिसकेका छन्, त्यतिमात्रै होईन, आफुहरुले निर्णय समेत गरिसकेकोले तँ जहाँ गएपनि जा यो निर्णय सही छ भनेका छन् ।’ पीडित खेलाडी बुढामगरले निर्णायक मण्डलका कारण आफ्नो करियर र सपनामा ठूलो चोट पुगेको समेत गुनासो पोखे । 
 
उनले अघि थपे,‘यस्तो गलत निर्णयका कारण आज मेरो सपनामा ठूलो चोट पुगेको छ, भोलिका दिनमा साफ, एशियनहुँदै ओलम्पिक बक्सिङ्मा नेपालको झण्डा फहराउने सपनामा ठूलो धक्का लागेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ