गोरखा। नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले जननिर्वाचित प्रतिनिधिले लेखेको संविधानको धज्जी उडाउनेहरु आफैँ पतन हुने बताउनुभएको छ । संविधानमा उल्लेख भएका हक, अधिकार र कर्तव्यबारे जनतालाई जानकारी दिन गोरखाको छेपेटारमा आयोजित कार्यक्रममा उहाँले मधेसी मोर्चा र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानको धज्जी उडाउन खोजेको आरोप लगाउनुभयो ।
मोर्चाले संविधान जलाएको र एनेकपा (माओवादी)का पूर्व नेता भट्टराईले आफैँ संलग्न रहेर लेखेको संविधान जारी भएलगत्तै कार्यान्वयनको सट्टा हक, अधिकारबिहीन संविधान भन्दै हिँडेकोमा सिटौलाले आपत्ति प्रकट गर्नुभयो । राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा भट्टराईले संविधानको स्वामित्व ग्रहण नगरेको भन्दै उहाँले जुन देशमा बस्यो त्यही देशमा नाकाबन्दी गर्नु मधेसी मोर्चाले गलत निर्णय भएको बताउनुभयो । रासस