काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुङ्ग्याउन दबाब सृजना गर्नुपर्ने बताएका छन् ।
बेपत्ता योद्धा राजेन्द्र ढकालको २६ औँ स्मरण दिवसका अवसरमा आज यहाँ आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिकको सार्वजनिकीकरणको सवाल’ विषयको कार्यक्रममा उनले शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउन सबैले दबाब सिर्जना गर्नुपर्ने अवस्था उत्पन्न भएको बताए ।
शान्तिप्रक्रियालाई निष्कर्षमा पुग्न नदिन केही तत्व लागेका उल्लेख गर्दै उनले भने, “ शान्तिप्रक्रियालाई जटिल मोडमा पु¥याउने प्रवृत्ति पनि देखिएको छ, त्यो तत्वले टुङ्गिन लागेको शान्तिप्रक्रियालाई रोकिराखेको छ ।”
शान्तिप्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई चाँडो टुङ्गोमा पुर्याउन सबै राजनीतिक दल इमान्दार हुनुपर्नेमा जोड दिँदै उनले यस सम्बन्धमा नेपाली कांग्रेस र नेकपा एमालेसँग छलफल गर्ने बताए ।
एमाले नेता अग्नि खरेलले शान्तिप्रक्रियालाई टुङ्गो लगाउन सरकार र आफ्नो पार्टी इमान्दार रहेको बताए । “शान्तिप्रक्रियालाई सफल बनाउन सरकार सकारात्मक छ, एमाले केन्द्रीय समिति बैठकमा पेस भएको दस्तावेजमा पनि शान्तिप्रक्रियालाई निष्कर्षमा लैजाने विषय उल्लेख छ”, उनले भने, “शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरकार र विपक्षी दल एक ठाउँमा उभिनुपर्छ ।”
पूर्वकानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन कानूनी पक्षलाई मात्र नहेरी द्वन्द्वपीडित दुवैपक्षबीच सहमति एवं विश्वासको वातावरण बन्नुपर्नेमा जोड दिए ।
नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुङ्ग्याउन विलम्ब भएमा मुलुकको छवि अन्तर्राष्ट्रिय रुपमा धुमिल हुने बताए ।
प्रचण्डको सत्तालिप्साले नै बिगार्यो शान्ति प्रक्रिया
तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा २०६३ साल मंसिर ५ गते वृहत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो ।
संविधान सभाबाट नयाँ संविधान निर्माणसँगै शान्ति प्रक्रिया टुंगोमा पुर्याउने सम्झौतामा तत्कालीन विद्रोही माओवादीका तर्फबाट अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका थिए ।
त्यसपछि सशस्त्र द्वन्द्व त्यागेर सत्तासँग जोडिएको माओवादीले कहिल्यै पछाडि फर्कनु परेन । २०५२ साल फागुनबाट सशस्त्र द्वन्द्व थालेको माओवादीका कारण दश वर्षको अवधिमा १७ हजार नेपालीले ज्यान गुमाए ।
हजारौँ घाइते भए । लाखौँ विस्थापित भए । माओवादीबाट चार पटक प्रधानमन्त्री भए । डा. बाबुराम भट्टराई एक पटक तथा प्रचण्ड तीन पटक । २०६३ देखि माओवादी अधिकांश समय सत्ताकै वरिपरि छ ।
माओवादीका नाममा देशको अर्बौँ स्वाहा भएको छ तर शान्ति प्रक्रिया टुंगोमा पुगेको छैन । प्रचण्ड स्वयं नै जागरुक छैनन् ।
उनी सत्तामा भएका बेलामा शान्ति प्रक्रिया भुलिहाल्छन् । उनलाई सत्ताको उन्मादले सोच्ने फुर्सद नै हुँदैन । सत्ताबाट बाहिर भए भने अनि आफ्नो पीडित कार्यकर्ताको अगाडि गएर भने शान्ति प्रक्रियाको चर्चा गर्छन् ।
माओवादीभित्रका पीडित र माओवादीले गर्दा भएका पीडितहरु कयौँ अझै पनि घर न घाटका छन् । कयौँ पलायन भइसके । तर प्रचण्डलाई यसबारे सोच्ने फुर्सद नै छैन ।
माओवादीले चाहेको भए २०६४ सालमै शान्ति प्रक्रिया टुंगोमा पुग्न सक्थ्यो । २०६४ चैत २८ गते भएको पहिलो संविधानको निर्वाचनमा माओवादी ठूलो दल बन्यो । तर उसले कतै पनि शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने बारे सोचेन ।
उसले शक्तिको कसरी दुरुपयोग गर्न सकिन्छ भन्ने बाहेक केही पनि नसोचेको अहिलेसम्मको घडीले देखाएको छ । तर के यसरी नै समय कट्छ त ?
अब त सोच्नुपर्ने बेला आएको छ । पीडितले न्याय पाउने आशामा धमाधम ज्यान गुमाइरहेका छन् ।