रवि लामिछाने आज स्वर्णलक्ष्मी ठगीमा काठमाडौँ अदालतमा उपस्थित हुँदै
सूर्यदर्शन सहकारी ठगीमा ६५ लाख धरौटी बुझाएर बिहीबार साँझ रिहा
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २८ आइतबार
670
Shares
तस्बिर – सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेर ८४ दिनपछि गत बिहीबार साँझ ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेपछि लामिछाने ।
काठमाडौँ । पूर्व उपप्रधान तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज सहकारी ठगी प्रकरणमा काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुँदैछन् । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि गत बिहीबार साँझ ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।
त्यहाँबाट छुटे पनि शुक्रबार काठमाडौँ जिल्ला अदालतमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी काठमाडौँ जिल्ला अदालतमा हाजिर हुन सकेनन् ।
कास्की जिल्ला प्रहरीको हिरासतबाट मुक्त भए पनि हिजो साँझ अबेर मात्रै काठमाडौँ आइपुगेकाले उनी शुक्रबार अदालतमा हाजिर हुन नसकेको उनकी श्रीमती निकिता पौडेलले जानकारी दिएकी थिइन् ।
‘आइतबार भने उहाँ स्वयं जिल्ला अदालत काठमाडौँमा उपस्थित हुनु हुनेछ,’ उनले जानकारी दिँदै भनिन् ।
थप रूपमा कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौँले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि उनी अदालतमा हाजिर हुन लागेका हुन् ।
उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
उनीमाथि यसअघि रुपन्देही, चितवन र पर्साको सहकारीमा पनि ठगी गरेको आरोपमा बयान भइसकेको छ ।