arrow

रवि लामिछाने काठमाडौँ प्रहरीको हिरासतमा, सोमबार फेरि अदालतमा उपस्थित गराइने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २८ आइतबार
ravi-lamichane-81-9-28y.jpg

काठमाडौँ । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा लिइएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सोमबार पुनः अदालत पेश गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेपछि उनलाई प्रहरी हिरासतमा लगिएको हो ।

अधिकारीको इजलासमा भएको लामिछानेको बयान सकिए पनि थुनछेक बहस शुरू नभएपछि सोमबार अदालतमा उपस्थित गराउने सर्तमा हिरासतमा राख्ने आदेश दिइएको थियो ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा अदालत खुल्नु अगावै नै बबरमहलस्थित काठमाडौँ जिल्ला अदालत पुगेका लामिछानेले बयान दिन शुरू गरेका थिए । 

अदालतले कास्की जिल्ला अदालतझैँ धरौटी मागेमा उनी छुटने छन् भने नमागे वा बयान नसकिएमा उनी अझै हिरासतमा रहने छन् । 

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहीबार साँझ ६५ लाख धरौटी बुझाएर पोखराबाट छुटेका थिए । 

त्यहाँबाट छुटे पनि शुक्रबार जिल्ला अदालत, काठमाडौँमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी हाजिर हुन सकेका भने थिएनन् । 

 जिल्ला प्रहरी कास्कीको हिरासतवाट मुक्त भए पनि शुक्रबार राति मात्रै काठमाडौँ आइपुगेका कारण उनी शुक्रबार अदालतमा हाजिर हुन नसकेको उनकी श्रीमती निकिता पौडेलले जानकारी दिएकी थिइन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि उनी अदालतमा हाजिर भएका थिए ।

 उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

उनीमाथि यसअघि रुपन्देही, चितवन र पर्साको सहकारीमा पनि ठगी गरेको आरोपमा सरकारी वकिलको कार्यालयमा बयान भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ