काठमाडौँ । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सोमबार पनि प्रहरीको हिरासतमा रहेका छन् । सोमबार उनको थुनछेक बहस सकिएर जाहेरीवालाको तर्फबाट शुरू भए पनि उक्त बहस नसकिएपछि उनी सोमबार हिरासतमै रहेका हुन् ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा सो बहस भइरहेको हो । सोमबार कार्यालय खुल्ने बित्तिकै अदालत पुगेका रविलाई बहस जारी रहेकाले प्रहरीकै हिरासतमा पठाइएको हो ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि गत बिहीबार साँझ ६५ लाख धरौँटी बुझाएर पोखराबाट छुटेका थिए ।
कार्तिक २ देखि उनको हिरासत बसाई ८६ दिन भएको छ । पहिलो चरणमा ८४ दिन भए पनि दोस्रो चरणमा दुई दिन थपिइसकेको छ । उनीमाथि पाँच ओटा जिल्लाका सहकारी ठगेको आरोप छ ।