काठमाडौँ । पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा उपविजेता भएको नेपाली पुरुष टोली र महिला टोली खुशी लिएर स्वदेश फर्किएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रथम खो खो विश्व कपका ऐतिहासिक पदक विजेता खेलाडीसहितको टोलीलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ ।
राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा हरिप्रसाद लम्साल, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, राखेपका सदस्य नन्दा बस्याल, दीपेन्द्र विष्ट, सुवर्ण श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, विना श्रेष्ठ, अञ्जना श्रेष्ठ, भानबहादुर चन्द, जनकसिंह धामी, काठमाडौँ महानगरपालिका प्रतिनिधि, नेपाल खो खो संघका अध्यक्ष प्रदीप महर्जन लगायतले टोलीलाई बधाई दिँदै स्वागत गरे ।
विमानस्थलको प्रेस कक्षमा सदस्य–सचिव घिसिङले पूरा टिमको मिहिनेतले विश्व कपमा ऐतिहासिक सफलता सम्भव भएको बताउँदै उमेर समूहका खेलाडीलाई मध्यनजर गर्दै राखेपले सञ्चालन गरिरहेको छात्रवृत्ति कार्यक्रमअन्तर्गत खो खोलाई पनि समावेश गरिएको बताए ।
सदस्य–सचिव घिसिङले राष्ट्रिय खेलकुद विकास नियमावली– २०७९ मा व्यवस्था भए बमोजिम नै खेलाडीलाई पुरस्कृत गरिने बताउँदै १५ दिनभित्र आवश्यक कागजात पेश गर्न खो खो संघलाई निर्देशन दिए ।
फाइनलमा खेलाडीको हौसला बढाउन सदस्य–सचिव घिसिङ नयाँदिल्ली गएका थिए । उनी पनि सोमबारै स्वदेश फर्किएका हुन् ।
कप्तानद्वय हेम पनेरु र सरस्वती कडायतले पदक जित्ने लक्ष्यका साथ विश्वकपमा सहभागी भएको बताउँदै लक्ष्य पूरा भएकोमा खुशी व्यक्त गरे ।
दुवैतर्फका फाइनलमा नेपाल भारतसँग पराजित भएको हो । भारतको नयाँ दिल्लीस्थित ईन्दिरा गान्धी इन्डोर हलमा माघ ६ गते राति सम्पन्न फाइनल खेलमा नेपालको पुरुष टिम आयोजक भारतसँग ५४–३६ अङ्कले पराजित भएको हो ।
पुरुषतर्फ नेपाल समूह ‘ए’को उपविजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । नेपाल पहिलो खेलमा भारतसँग ४२–३७ अङ्कले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले पेरूलाई ८०–३४ अङ्कले, तेस्रो खेलमा ब्राजिललाई १३४–८ अङ्कले तथा चौथो खेलमा भुटानलाई ९८–८ अङ्कले हराएको थियो ।
नेपालले क्वार्टरफाइनलमा बङ्गलादेशलाई ६७–१८ अङ्कले तथा सेमिफाइनलमा इरानलाई ७२–२० अङ्कले पराजित गरेको थियो ।
महिलातर्फ नेपाल उपविजेता
नेपाल फाइनल खेलमा भारतसँग पराजित भएको हो । भारतको नयाँ दिल्लीस्थित ईन्दिरा गान्धी इन्डोर हलमा सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग ७८–४० अङ्कले पराजित भएको हो ।
यसअघि सेमिफाइनल खेलमा नेपालको महिला टोलीले युगान्डालाई ८९–१८ अङ्कले पराजित गरेको थियो । क्वार्टरफाइनल खेलमा भने नेपालले इरानलाई १०३–८ अङकको हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
समूह ‘सी’ मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४ अङ्कले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ अङ्कले, तेस्रो खेलमा श्रीलङ्कालाई ११०–१० अङ्कले तथा चौथो खेलमा बङ्गलादेशलाई ८४–२४ अङ्कले पराजित गरेको थियो ।
महिला टोली अपराजित रहँदै फाइनलमा पुगेको थियो ।
नेपालको कुनै पनि खेलबाट विश्वकपको फाइनलमा पुगेको यो पहिलो पटक हो ।