arrow

बाटोमै बच्चा जन्माउन बाध्य आमाहरू 

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८१ माघ १२ शनिबार
janakbahadrur-shahi-81-10-1.jpg

सबै गाउँ बस्ती पुग्ने सडक बाटो र सुविधायुक्त स्वास्थ्य संस्था हुम्लामा अभाव नै छ । तैपनि गाउँमा बनेका काम चलाउ स्वास्थ्य संस्था र पालिकास्तरबाटै राखिएका स्वास्थ्यकर्मीले सकेको सेवा दिइरहेका छन् ।

विडम्बना त्यही नाजुक अवस्थाका स्वास्थ्य संस्था र उपलब्ध अपुग श्रोत साधनको प्रयोग गर्न पनि अधिकांशले बेवास्ता नै गरिरहेका छन् । त्यही कुराको सिकार बनिन् सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी २७ वर्षीया भान भण्डारी । उनले गत साता आइतबार बाटोमै सन्तान जन्माइन् ।

उमेरले भर्खर २७ लागेकी भण्डारीको यो तेस्रो सन्तान हो । भण्डारीलाई घरबाट स्वास्थ्य चौकी पुग्न मात्रै १५ मिनेट पैदल हिँड्न पर्छ । अहिले त गाउँमै प्रसूति सेवा दिइन्छ । उनले नियमित चार पटक जाँचसमेत गराएकी थिइन् । स्वास्थ्यकर्मीले मिति भन्दा केही दिन अगाडि पनि हुन सक्ने भएकाले तयारीमा बस्न,घरायसी काम कम गर्न र समस्या पर्दा खबर गर्न सचेत गराउँदा गराउँदै यो अवस्था भोगिन् ठेह गाउँकी भानले ।

भानले मात्रै होइन हुम्लासहित कर्णालीका अधिकांस दुर्गम गाउँबस्तीका महिलाहरुले भोग्नु पर्ने समस्या हो यो । ग्रामीण बस्तीका स्वास्थ्य संस्थाहरुमा स्तरीय स्वास्थ्य सेवा प्रवाह नहुनु र समयमा आफू सचेत नहुनुको परिणति भाग्नु पर्यो सिमकोट –२ ठेहे गाउँकी भान भण्डारीले । गाउँमा सुविधा सम्पन्न प्रसूति सेवा नहुँदा बाटोमै बच्चा जन्माइन् ।

प्रस्रव पीडा सहन नसकेपछि उनी गत साता आइतबार बिहान गाउँमै रहेको स्वास्थ्य चौकीमा पुगेकी थिइन् । नियमित रुपमा रक्तस्रावसँगै रक्तचाप कम भएपछि भण्डारीको उपचार स्वास्थ्य चौकीले थेग्न नसक्ने र आफूसँग थप उपकरण नभएका कारण सुरक्षित प्रसुती सेवाका लागि जिल्ला अस्पताल सिमकोटमा रिफर गरेको, ठेहे स्वास्थ्य चौकीबाट सदरमुकाममा रहेको जिल्ला अस्पताल जान तीन घण्टा लाग्ने  र केही दिनअघिको हिमपातले सडकमा बरफ जमेका कारण गाडी जान नसक्ने भएपछि स्टेचरमा बोकेर सिमकोट लैजान क्रममा एक घण्टाको बाटो हिडेपछि सिमकोट–३ बरगाउँको चुकेडी भन्ने स्थानमा बाटोमै भण्डारीले छोरीलाई जन्म दिएको ठेहे स्वास्थ्य चौकीका प्रमुख दाने बोहोराले बताए । 

उनले भने, 'गुणस्तरीय प्रसुती सेवासँगै सुरक्षित स्वास्थ्य सेवामा पहुँच नभएकै कारण ग्रामिण क्षेत्रका सुत्केरी महिलाहरुले नियमित यस्ता नियति भोग्नु परेको छ । प्रायः दुर्गम जिल्लाका अस्पतालमै चिकित्सक छैनन्। भएका पनि नियमित बस्दैनन् र सेवा निरन्तर चालु हुने अवस्था छैन । जसको मारमा सर्वसाधारण नागरिक छन् । त्यसमा पनि आर्थिक अवस्था कमजोर भएका अति गरिब, विपन्न तथा दलित समुदायलाई नै बढी समस्या देखिएको छ ।'

पहिला पहिला स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउनेको संख्या शून्य थियो । सबैले घरमै गराउने र गाह्रो भएपछि मात्रै अन्यत्र लिनु पर्ने बाध्यताले बाटोमै हुने, ज्यान जानेसम्मको घटना हुन्थ्यो । 

अहिले यो अवस्था छैन । नियमित स्वास्थ्य जाँच र संस्थागत सुत्केरी गराए बापतको रकमका लागि सेवा लिन स्वास्थ्य संस्थामा बाध्य भएर आए पनि स्वइच्छा र चाहना राखेर आउनेहरुको संख्या निकै कम रहेको वास्तविकता स्वास्थ्यकर्मीले सुनाउने गरेका छन् । 

अहिले भण्डारी र उनले जन्माएको बच्चा सकुशल छन् । दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको स्वास्थ्यकर्मीले बताएका छन् । यो एउटा उदाहरण मात्रै हो जिद्दी, जबरजस्ती र अज्ञानता पहिलो समस्या भए पनि परिवारको पूर्व तयारी नहुने कुराले यस्ता घटनाहरू दोहोरिने गरेका छन् ।

यस्ता समस्या गाउँमा अझै छन् । स्वास्थ्य संस्था टाढा हुने, बेथा लागेको बेला आफन्त नभेटिने, आर्थिक नहुने जस्ता समस्या पनि देखिएका छन् । ती भन्दा बढी पूर्व तयारी नगर्ने, के हुने हो, भन्ने दम्भ राख्ने, परिवारले समेत वास्ता नगर्ने कारणले नै समस्या निम्त्याएको जिल्ला अस्पताल हुम्लाकी नर्सिङ ईन्चार्ज सरिता बोहोराले बताइन् ।

औषधि पर्याप्त नहोला, भनेको समयमा स्वास्थ्य कर्मी नहोलान्, तर पनि भएको र उपलब्ध हुने कुराको सेवाका लागि स्वास्थ्य संस्था पुग्ने कुरामा स्वयम व्यक्ति र परिवार सचेत र जिम्मेवार नहुनु, भौगोलिक विकटताका कारण दुर्गमका महिलाको पीडा बाटोमै सुत्केरी, घण्टौंको पैदल हिँडेर स्वास्थ्य संस्था पुग्नु पर्ने बाध्यता र आर्थिक अवस्था लगायतका कारण जिल्लाको ग्रामिण क्षेत्रका महिला बाटोमै सुत्केरी हुनु बाध्य भएको उनले बताइन् ।

ग्रामिण क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य उपचार गर्न र प्रसूति सेवाका लागि सुविधासम्पन्न अस्पतालमा जाने आर्थिक हैसियत छैन ।

गाउँकै स्वास्थ्य संस्थामा उपचारका लागि योग्य चिकित्सक र सुविधाजनक  उपचार सेवा पाइँदैन । रोग पालेर बस्नु पर्ने र समस्या आउँदा पनि जोखिम मोलेर जीवनको बाजी थाप्नु पर्ने बाहेक अर्को विकल्प छैन  हुम्लाका महिलाहरुलाई ।  

भण्डारीको मात्रै नभएर हुम्लाका अधिकांश प्रसूति व्यथा लागेका आमाहरुको प्रजनन् स्वास्थ्य निकै दयनीय अवस्थामा रहेको छ । गर्भावस्थामा कडा परिश्रम, कम उमेरमा बच्चा जन्माउनु, नियमित स्वास्थ्य परीक्षण नहुनु, पौष्टिक आहारको कमी लगायतका विविध कारणले सुत्केरीको ज्यान जोखिममा पर्ने गरेको छ ।

कर्णाली करिडोर पनि सहज हुन बाँकी छ । जिल्ला अस्पताल सिमकोट पुग्न कच्ची सडक सञ्जालले थप समस्या छ । सडक खुलेको समय पनि जीप रिर्जभको भाडा मात्रै १० देखि १२ हजार तिर्नु पर्ने बाध्यता छ । जुन हैसियत त्यस क्षेत्रका सबै नागरिकसँग छैन । 

उपचारकै कारण अकालमै ज्यान गुमाउनु पर्ने, रोग पालेर बस्नु पर्ने अवस्थामा रहेका कति हुम्ली महिलाहरुले सुत्केरी हुन नसकी ज्यान गुमाउनु परेको छ । यी समस्या समाधानका लागि जिल्ला अस्पताल सिमकोटमै सुबिधा सम्पन्न विशेषज्ञ सहितको चिकित्सक सेवा सञ्चालनमा छ । 

यस क्षेत्रका आमाहरुले वर्षौंदेखि भोग्नु परेको पीडाबाट मुक्त गराउन र सर्वसाधारण नागरिकलाई सहज उपचार सेवा दिनु पर्ने विशेषज्ञ डाक्टर हिमबिक्रम शाहीले बताए ।

हुन पनि विश्व मानव अधिकारले दिएका अधिकार नेपालीले पाउनु त कता हो कता स्वास्थ्य उपचारसमेत नपाउने अवस्थाले गर्दा हुम्लीहरु नारकीय जीवन बाँचिरहेका छन् । 

सुत्करी हुने बेथा त यो ज्यूँदो उदाहरण भयो नै हुम्लामा त सिटामोल र जीवनजल नहुँदा कयौँ नागरिकले प्राण त्याग्दै आएका छन् । संघीय सरकारले कल्पेको योजनाको पहुँच त कर्णालीवासीका लागि आकाशको फल नै भयाे । यो फल नेताहरुले देखाउन थालेको दशकौँ भइसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ