arrow

रवि लामिछानेको बहस सकिएसँगै आदेश आउँदै, अदालत बाहिर एकाएक बढाइयो सुरक्षाकर्मी, समर्थक पनि बढ्दै

logo
नारायण वली,
प्रकाशित २०८१ माघ १३ आइतबार
rupendehi-dc-81-10-13q.jpg

बुटवल । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको थुनछेक बहस सकिएको छ । बिहीबारदेखि रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्ध शुरू भएको थुनछेक बहस आज सकिएसँगै आदेश दिने भएको सूचना दिइएको छ । 

आदेश आजै आउने भएसँगै अदालत परिसर बाहिर रविका समर्थकहरुको बाक्लो उपस्थिति रहेको छ । सुरक्षाकर्मीको संख्या पनि उल्लेख्य रहेको छ । 

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुको संख्या बढाउँदै लगिएको छ । हाल भित्र र बाहिर गरी करिब डेढ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । थप्ने क्रम जारी छ ।

सरकारी वकिलको तर्फबाट शुक्रबारै बहस सकिएको भए पनि लामिछानेको तर्फबाट केही वकिलको बहस बाँकी रहेकाले आज उनी अदालतमा उपस्थित भएपछि बहस शुरू भएको थियो ।

सहकारी ठगीमा बुधबार पहिलो पटक रवि रूपेन्देही अदालतमा उपस्थित भएका थिए । सो दिनपछि हाजिरी जमानीमा रिहा भइरहेका छन् ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बोलाएको समयमा उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडिँदै आएको छ ।

आदेशले उनी धरौटीमा रिहा हुने कि हिरासतमा रहेर प्रक्रिया अगाडि बढ्ने भन्ने छिनोफानो गर्नेछ ।

सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाइ भने पुरक उजुरीमा राखिएको हो ।

 प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथी उजुरी गरिएको हो ।

उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन् । रुपेन्देहीपछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ । 

ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरेपछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ