काम गरेकै ठाउँबाट १५ लाख चोरेर भागेका दुई जना पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १४ सोमबार
697
Shares
पोखरा। पोखराको सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसबाट करिब १५ लाख रुपैयाँ चोरी भएको छ । यही माघ ११ गते दिउँसो १ बजेको समयमा पार्टी प्यालेसबाट उक्त रकम चोरी भएको हो ।
पैसा चोरीको सूचना प्राप्त गर्ने बित्तिकै खटिएको वडा प्रहरी कार्यालय बैदामको टोलीले दुई जनालाई पक्राउ गरेको छ ।
स्रोतका अनुसार उनीहरु पार्टी प्यालेसमै तीन महिनादेखि काम गर्दै आएका थिए । रकम चोरी भएको दुई दिन अघिमात्र उनीहरुले काम छाडेका थिए ।
पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका वडा नं. १० का २२ बर्षीय ईश्वर श्रेष्ठ र स्याङ्जा भिरकोट नगरपालिका वडा नं.३ घर भएकी २९ बर्षीया पूजा श्रेष्ठ छन् ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा माघ १३ गते बुटवल उपमहानगरपालिका वडा नं.११ कालिका नगरको होटलबाट नियन्त्रणमा लिइएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
उनीहरुको साथबाट १२ लाख ५२ हजार पाँच सय ८० रुपैयाँ र मोबाईल ३ थान बरामद भएको डीएसपी शर्माले जानकारी दिए ।
उनीहरुबिरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी कसूर मुद्दामा १३ गतेदेखि नै लागू हुने गरी छ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी शर्माले बताए ।