रुन्चेको गोदामबाट सशस्त्रले बरामद गर्यो ५० लाखको तस्करीको सामान, दाखिला गर्दा नाम गायब
दिपेन्द्र चौहान,
प्रकाशित २०८१ माघ १४ सोमबार
1k
Shares
वीरगञ्ज । देशकै नामुद कहलिएका तस्कर मदन गुप्ता ऊर्फ रुन्चेको गोदामबाट सशस्त्र प्रहरीले सोमबार बिहान छापामारी गरेर ५० लाख भन्दा बढीको तस्करीको कपडा र हार्डवेयरको सामान बरामद गरेको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्मका इन्चार्ज सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको नेतृत्वमा खटेको टोलीले वीगञ्जको आदर्शनगरस्थित जय माँ दुर्गा करियर (ट्रान्सपोर्ट) को गोदामबाट २९ पोका कपडा र हार्डवेयरको सामान बरामद गरेको भएता पनि वीरगञ्ज भन्सार कार्यालयमा सामान दाखिला गर्दा सामान कहाँबाट र कसकोबाट आएको भनी केही उल्लेख गरिएको छैन ।
जबकि छापामारी गर्दा साक्षी किनाराको लागि वीरगञ्ज भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा सन्दीप पराजुलीसहित ४ जनाको टोली त्यही उपस्थित थियो ।
गत चैत महिनामा जय माँ दुर्गा करियर (ट्रान्सपोर्ट) मा २० लाख बराबरको तस्करीको सामान बरामद गरी तत्कालीन जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले सो तस्करीको सामान मदन गुप्ता ऊर्फ रुन्चेको भएको प्रहरी प्रतिवेदन वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको भएता पनि उनी माथि कारबाही भएन ।
एक महिना नबित्दै गत वैशाखमा तत्कालीन सिमा सुरक्षा गुल्मका इन्चार्ज सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको नेतृत्व खटेको टोलीले ६६ लाखको कपडा, काजु, स्टिलका भाँडावर्तन, ग्याँस चुल्हा, लहँगा , सर्टिङ्ग सुटिङ्ग लगायतका सामान जय माँ दुर्गा करियर (ट्रान्सपोर्ट)बाट बरामद गरेर वीरगञ्ज भन्सारमा दाखिला गराउँदा पनि मदन गुप्ता ऊर्फ रुन्चेमाथि कुनै कारबाही भएन ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वार्टरका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीसँग 'तपाईले पठाएको सूचनामा कसबाट र कहाँबाट सामान बरामद भएको हो ? किन उल्लेख गरिएन ?' भन्ने प्रश्नमा उनले सामान पक्राउ गर्दा कोही पनि दाबी गर्न नआएकाले सामान भन्सारमा बुझाएको र अब विस्तृत अनुसन्धान र कारबाही गर्ने काम वीरगञ्ज भन्सारको भएको बताए ।
मदन गुप्ता ऊर्फ रुन्चे वीरगञ्ज भन्सार कार्यालयका घुसखोर कर्मचारीहरुका प्यारा भएकोले हालसम्म उनीमाथि भन्सार कार्यालयले कुनै किसिमको कारबाही आगाडि नबढाएको एक कर्मचारीले बताए ।