arrow

कुमारी सहकारीको डेढ अर्ब ठगी : जिसस प्रमुख थापासहित पाँच पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २१ सोमबार
rajkumar-thapa-kumari-sahakari-beni.jpg

पाेखरा । सहकारी ठगीको आरोपमा एमाले नेता एवं म्याग्दी जिल्ला समन्वय समिति प्रमुखसहित पाँच जना पक्राउ परेका छन् । 

बेनी नगरपालिका-८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताका बचत रकम हिनामिना गरेको आरोपमा जिसस प्रमुख राजकुमार थापासहित सहकारीका पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

थापासहित सहकारीका तत्कालीन व्यवस्थापक तथा सञ्चालक समितिमा रहेका मनप्रसाद थजाली, थमबहादुर गर्वुजा, रुद्रबहादुर गुरुङ र देवीकुमारी थापालाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।

सहकारी रजिष्ट्रार कार्यालय पोखराले गरेको छानबिनका क्रममा उक्त सहकारीका बचतकर्ताका रकम दुरुपयोग गरेको भेटिएको र आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई प्रतिवेदन पठाएको थियो । त्यसै आधारमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

थापाको नेतृत्वमा सर्वसाधारणका एक अर्ब ४९ करोड रुपैयाँ हिनामिना गरिएको सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीले गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

सहकारीका हालका अध्यक्ष यमबहादुर रोकाले ०८१ जेठ २५ मा सहकारी रजिस्ट्रारको कार्यालयमा निवेदन दिएर संस्थाको आर्थिक हिसाबकिताब छानबिन गरिदिन माग गरेका थिए । त्यसपछि सहकारी रजिस्ट्रारको कार्यालयले वित्तीय विश्लेषक निर्मल गौतमलाई छानबिन गर्ने अधिकारी तोकेको थियो ।

२०६५ सालमा खुलेको सहकारीमा थापा सुरुवाती दुई कार्यकाल सचिव र ०७९ मा जिसस प्रमुख निर्वाचित हुनुअघिसम्म उपाध्यक्ष थिए ।

एक सय १९ पृष्ठ लामो छानबिन प्रतिवेदनमा सर्वसाधारणको रकम हिनामिनामा मुख्य दोषी थापालाई नै किटान गरिएको छ ।

प्रतिवेदनअनुसार थापाले बेनी बजारमा चलाउँदै आएको निजी स्कुल बुद्ध एकेडेमीमा सहकारीबाट १६ करोड रुपैयाँ लगिएको छ । सहकारीको रकम लैजाँदा थापाले कुनै धितो राखेका छैनन् । 

यस्तै थापा र लोकबहादुर पुनले सहकारीबाट १८ करोड निकालेर पर्वतको जलजला गाउँपालिकामा जग्गा किनेका छन् ।

यस्तै सहकारीबाट १० करोड निकालेर राजकुमार थापा, लोकबहादुर पुन, गेमबहादुर घर्ती र मनप्रसाद छजालीका नाममा जग्गा खरिद गरिएको छ ।

सहकारीको रकमबाट जग्गा खरिद गरेर प्लटिङ गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । उनीहरूले रकम निकाल्दा पनि कुनै धितो राखिएको छैन ।

यसैगरी थापाकी श्रीमती र सहकारीका सञ्चालक समितिका पदाधिकारीका नाममा १५ करोड रकम निकाशा भएको छ । 

सहकारीकै पूर्वव्यवस्थापक रुद्रबहादुर गुरुङले पाँच करोड, लेखासमितिका पदाधिकारी लोकबहादुर पुनले ३० लाख रुपैयाँ हिनामिना गरेको पाइएको छ । 

सहकारीको कार्यक्षेत्र म्याग्दी जिल्ला हो । चार हजार तीन सय ८६ बचतकर्ता रहेको सहकारीमा चार सय १८ जना सेयर सदस्य छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ