arrow

चौथो साफ महिला च्याम्पियनसिप फुटबलः भारतविरुद्ध नेपाललाई कीर्तिमान रच्ने अवसर

खेल दिउँसो २ः१५ बजे

logo
प्रकाशित २०७३ पुष १८ सोमबार
nepali-women-football-team.jpeg
 
काठमाडौं । भारतको सिलीगुडीमा जारी चौथो साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा सोमबार नेपालले भारतसंग खेल्दैछ । दिउँसो नेपाली समय अनुसार २ः१५ बजे कञ्चनजंघा मैदानमा हुने खेल नेपालका लागि अहिलेसम्मकै चुनौतीपूर्ण हुनेछ । 
 
नेपालले यो खेल जित्यो भने भारतलाई पहिलो पटक हराउने कीर्तिमान रच्नेछ । यसअघिका तीन वटै संस्करणमा नेपाल भारतसंग फाइनलमा पराजित भएको थियो । 
 
नेपालका मुख्य प्रशिक्षक कुमार थापाले नेपाल आफ्नो रणनीतिमा सफल हुँदै आएकाले भारतलाई पनि जित्ने दावी गरेका छन् । उनले भनेका छन्, ‘यसअघि खेलेका रणनीतिमा हामी सफल भएका छौं, भारतविरुद्ध पनि त्यस्तै रणनीति बनाउँदै छौं ।’
 
उनले ‘भारत आक्रमण गर्न आतुर हुने भएकाले हामीले बंगलादेशको रणनीति अपनाउँछौं र डिफेन्डरलाई सक्रिय बनाउँछौं, भारत विफल भएपछि हामी हाम्रो खेल खेल्छौं ।’
 
 
नेपालका लागि सावित्रा भण्डारीले प्रतियोगितामा ११ गोल गरिसकेकाले भारतविरुद्ध पनि उनैले गोल बर्साउने अपेक्षा गरिएको छ ।
 
 
भारतीय प्रशिक्षक सजिद दारले पनि साबित्रालाई रोक्न प्रयास गर्ने बताएका छन् । उनले समूह चरणको कमजोरीलाई हटाउने बताएका छन् । उनले भनेका छन्, ‘नेपालले सधै हामीलाई टक्कर दिंदै आएको छ, हामी सम्हालिएर खेल्नेछौं ।’
 
नेपालले समूह चरणमा माल्दिभ्सलाई ९–० ले, भुटानलाई ८–० ले तथा श्रीलंकालाई १–० ले पराजित गर्दै समूह विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो । 
 
भारत भने अर्को समूहको उपविजेता हो । प्रतियोगिताको अर्को सेमिफाइनलमा बंगलादेश र माल्दिभ्स भिड्ने छन् ।



नयाँ