रौतहट । जिल्ला अदालत रौतहटका एक जना न्यायाधीशले न्याय नगरेको भन्दै विरोध प्रदर्शन गरिएको छ । कर्तब्य ज्यान मुद्दाका अभियुक्तलाई सफाइ दिएको भन्दै स्थानीय पीडितहरुले जिल्ला अदालत रौतहटको अगाडि सोमबार प्रदर्शन गरेका हुन् ।
स्थानीय यमुनामाई गाउँपालिका–४ बाट दर्जनौँको संख्यामा सोमबार गएका महिला पुरुषको समूहले अदालतको अगाडि जिल्ला न्यायाधीश मनोज केसीविरुद्द प्रदर्शन गरेका छन् ।
यमुनामाई गाउँपालिका–४ सरुअठा गाउँका अनुठा गुप्ताको छोरा वर्ष ५२ का रामविनोद गुप्तालाई २०७६ असार ४ गते राति १० बजे गाउँकै एक समूहले मरणासन्न हुने गरी कुटपिट गरेको थियो ।
टाउकोमा गम्भीर चोट लागेका विनोदको उपचारको क्रममा नेशनल मेडिकल कलेज वीरगंजमा ६ दिनपछि असार १० गते मृत्यु भएको थियो ।
पीडितको किराना पसलमा उधारो सामान नदिएको रिसमा स्थानीय विन्देश्वरी सिंह, रामकिशोर सिंह, रोहितकुमार सिंह भन्ने राजा सिंह, रोशन सिंह, अरविन्द्र कुमार सिंह, बडाबाबु सिंह , रामविनोद सिंह र निखिलकुमार सिंह मिलेर बिनोद लाई कुटपिट गरी सबै जना फरार भएको मृतकका बाबु अनुठा गुप्ताले बताएका छन् ।
मृतकका भाइ राजन गुप्ता र उनकी श्रीमतीले दिएको जाहेरीको आधारमा नाबालक निखिल सिंह र विन्देश्वरी सिंह, रामकिशोर सिंह, रोहितकुमार सिंह, रोशन सिंह, अरविन्दकुमार सिंह, वडाबाबु सिंह र रामविनोद सिंहमाथि तत्कालै जिल्ला प्रहरी कार्यालय रौतहटमा कर्तब्य ज्यान मुद्दा दर्ता भएको थियो ।
अभियुक्त ७ जनामध्ये रामकिशोर सिंह र रामविनोद सिंहलाई एक वर्षअघि प्रहरीले पक्राउ गरी कारबाहीको लागि जिल्ला अदालत रौतहटमा मुद्दा पेस गरेको थियो। तर उनीहरू दुवै जनालाई तत्काल जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश दिएको थियो।
धरौटीमा छुटेका अभियुक्त दुवै जना रामकिशोर सिंह र रामाबिनोद सिंहलाई आइतबार जिल्ला अदालत रौतहटमा पेस गर्दा जिल्ला न्यायाधीश मनोज केसीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाईको फैसला सुनाएको थियो ।
पीडित पक्षको जाहेरीवाला राजन गुप्ता र अनिता देवी आफ्ना समर्थकसहित सोमबार रौतहट जिल्ला अदालत अगाडि न्याय नभएको विरोधमा नारा जुलुस प्रदर्शनमा उत्रेका हुन् ।
पीडित पक्षले आफ्नो भाइको हत्या गरेको व्यक्तिलाई सफाई दिएकोमा आफू मर्माहित भएको दुःखेसो पोखेका छन् ।
घटनाका अन्य ४ जना आरोपी भने हालसम्म फरार रहेका छन् । एक जना नाबालक १३ वर्षीय निखिलकुमार सिंहलाई तत्काल सुधार गृह वीरगञ्ज र पछि अदालतको आदेशमा अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।