arrow

विद्यालयको १० बिगाहा जग्गा व्यक्तिगत भोगचलनमा

logo
प्रकाशित २०७३ पुष १८ सोमबार
mahottari 1.jpg.jpeg
महोत्तरी । सम्बन्धित पक्षको लापर्बाहीको कारण महोत्तरीको सुन्दरपुरमा रहेको जनता माध्यमिक विद्यालयको नाममा रहेको १० बिगाहा जग्गा व्यक्तिगत भोगचलनमा रहेको छ । 
 
वर्षौंदेखि सो जग्गा संरक्षणको लागि विद्यालय तथा स्थानीयले समयमै चासो नदेखाएपछि विद्यालयको नाममा रहेको साढे १४ बिगाहा जग्गामध्ये १० बिगाहा जग्गा अलपत्र अवस्थामा रहेको छ । वर्षौंदेखि स्थानीयले अवैधरुपमा उपभोग गर्दै आएता पनि सम्बन्धित निकायको यसतर्फ ध्यान जान सकेको छैन । 
 
विद्यालयभन्दा दस किलोमिटरको दूरीमा रहेको १० बिगाहा जग्गामा ठूलाठूला रुख लगाइएको छ । तारबारले छेकबार गरेता पनि वर्षौंदेखि संरक्षणको अभावमा सो जग्गा स्थानीयले भोगचलन गर्दै आएका छन् । विद्यालयको छेउमै रहेको साढे ४ बिगाहा क्षेत्रफल बराबरको पोखरी पाँच वर्षको लागि रु १५ लाखमा टेन्डरमा लगाएता पनि अन्य जग्गाको हकमा विद्यालय नै अनविज्ञ रहेको छ । वर्षौंदेखि विद्यालयमा सो जग्गाको कारोबारको सम्बन्धमा कुनै किसिमको अभिलेख नराखिएको विद्यालय स्रोतले जनाएको छ । 
 
केही वर्षपूर्व विभिन्न कारणले गर्दा लामो समयसम्म बन्द रहेको सो विद्यालयमा आफू आउँदा कुनै किसिमको हिसाबकिताब पारदर्शी तरिकाले आफूलाई नबुझाएको विद्यालयका प्रधानाध्यापक सूर्यदेव यादवले बताउनुभयो । कतिपय ठेकेदारले वर्षौंसम्म विद्यालयबाट टेन्डर स्वरुप लिएको जग्गाको रकम विद्यालयले पाउन नसकेको प्रधानाध्यापक यादवले जानकारी दिनुभयो । 
 
यता विद्यालयको जग्गा यसरी अलपत्र अवस्थामा रहनुको कारण विद्यालयमा लामो समयदेखि व्यवस्थापन समिति नहुनु तथा प्रधानाध्यापकले समयमै तदारुकता नदेखाएको नै मुख्य कारण रहेको स्थानीय राजनीतिककर्मी रामेश्वर यादव बताउनुहुन्छ । यस विषयमा विद्यालयले कहिल्यै पनि अभिभावक भेला नबोलाउनु, सम्बन्धित निकायसमक्ष गुनासो नराख्नुले विद्यालयको नै कमीकमाजोरी रहेको यादवले धारणा राख्नुभयो । 
 
यस सम्बन्धमा चाँडै नै यथार्थ कुरा बुझेर उचित कदम उठाइने गाविस कार्यालय सुन्दरपुरले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ