पाइनै छाड्यो कालो तिल, आयातित सहजताले कृषकले गर्नै छाडे खेती
पंडितले पूजा गराउन जाँदा आफैँले जोहो गरेर लैजान थाले
नृपेन्द्रबहादुर मल्ल,
प्रकाशित २०८१ माघ २३ बुधबार
906
Shares
मुगु । पहिले पहिले गाउँघरमा सहजै पाइने कालो तिल अहिले लोप हुने अवस्थामा पुगेको छ। स्थानीयस्तरमा तेल निकाल्ने परम्परागत विधिहरू हराउँदै जाँदा र बजारमा आयातित तेल सहजै पाइन थालेपछि तिल खेतीतिर कृषकहरु उत्साही नहुँदा कालो तिल लोप हुँदै गएको हो ।
गाउँका वृद्धवृद्धाका अनुसार पहिले महिलाहरू ढुङ्गाको दुनेरी प्रयोग गरी तेल निकाल्ने गर्थे । तर अहिले यो परम्परागत विधि हराउँदै गएको छ। आधुनिक प्रविधिको प्रयोग र बाहिरी तेलको सहज उपलब्धताले गर्दा स्थानीय उत्पादन घट्दै गएको स्थानीय कृषक लाप्से विकले बताए ।
‘पहिले हरेक घरमा तिल खेती गरिन्थ्यो, अहिले न त खेतबारी बाँकी छ, न त पुरानो परम्परा। बजारमा सहजै पाइने तेलले हाम्रो परम्परागत खेती नै विस्थापित भइसकेको छ’, स्थानीय बासिन्दा झुप्री नेपाली भन्छिन् ।
कालो तिल पूजाआजाका साथै शरीरमा मालिस गर्न र खानलाई अधिक मात्रामा प्रयोग हुने भएकाले तिल खेती नगर्ने सायद कोही हुँदैन थिए । तर अहिले बजारमा आयातित खानेतेल सहजै पाउन थालेपछि मानिसहरुले तिलखेती गर्न नै छोडे ।
स्वास्थ्यका हिसाबले घरमै उत्पादन गरेको तेलको फाइदा भनेर साध्य छैन तर पनि सहज उपलब्धता खेतीको झन्झट नहुने भएपपछि फाइदा बेफाइदा नहेरी आयातित खानेतेलतर्फ मानिसहरु आकर्षित भएका छन् ।
केही वर्ष पहिला सहजै पाइने कालो तिल अहिले पाउनै मुस्किल छ । गाउँघरमा बिहावारी, ब्रतबन्ध, घरपूजा र विभिन्न धार्मिक कार्य पर्दा पूजा गर्न, होम गर्न तिल जौँको आवश्यकता पर्छ ।
अहिले कालो तिल नपाइँदा यी कार्यहरु गर्न कठिनाइ हुने गरेको र ब्राम्हणले आफैँ पहिल्यै कालो तिलको जोहो गरेर पूजा आजामा जानुपर्ने बाध्यता रहेको ब्राम्हण लक्ष्मी प्याकुरेल सुनाउँछिन् ।
सिंगै तिलको मात्र खेती नगरिए पनि अन्य अन्नबालीहरुको बीचबीचमा तिल लगाउने गरिन्थ्यो । यसरी लगाइएको तिल पाकेपछि सुकाएर दाना झारिन्थ्यो र परम्परागत दुनेडीको प्रयोग गरी तेल निकालिन्थ्यो ।
विशेष गरी पहाडी र हिमाली भेगमा परम्परागत रूपमा तेल निकाल्ने चलन रहेको भए पनि हाल यो प्रवृत्ति हराउँदै गएको छ।
सरकारले स्थानिय तेलबाली प्रवर्द्धन गर्न पहल नगरेको र आयातित तेलमाथि निर्भरता बढेको कारण परम्परागत कालो तिल खेती लोप हुने अवस्थामा पुगेको विज्ञहरूले बताएका छन् ।
स्थानीय उत्पादन प्रवर्द्धन गर्न सरकारको ध्यान जानु आवश्यक रहेको किसानहरूको माग छ। यदि समयमै उचित नीति ल्याइएन भने स्थानीय उत्पादनहरू पूर्ण रूपमा हराउने चिन्ता ब्यक्त गरिएको छ।