सहकारी ठगीमा दुई करोड ७९ लाख धरौटी बुझाएका रविको सांसद पद निलम्बन फुकुवा गर्न माग
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २५ शुक्रबार
2.6k
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी ठगी मुद्दा खेपिरहेका पार्टी सभापति रवि लामिछानेको निलम्बन फुकुवाको माग गरेको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परी चार स्थानबाट धरौटीमा रिहा भइरहेका सभापति लामिछानेको सांसद पद निलम्बन फुकुवाको माग गरेको हो ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै कार्यवाहक सभापति तथा सांसद डीपी अर्यालले उक्त माग गरेका हुन् । ‘पूर्वाग्रही तरिकाले थुनामा राखेको र अहिले धरौटीमा रिहा भइसकेका हाम्रा सभापति रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न माग गर्दछु’, उनले बैठकमा भने ।
सांसद अर्यालले लामिछानेमाथि सरकारले प्रतिशोध साँधिरहेको दाबी गर्दै सदनले पनि त्यसलाई समर्थन गरेको अनुभूति भएकोसम्म भन्न भ्याएका छन् । उनले सभापति लामिछानेको निलम्बन फुकुवा नगरे त्यसको मूल्य महँगो पर्ने पनि जनाए ।
विभिन्न सहकारीवाट ग्यालेक्सी टीभीमा रकम लगेको अभियोगमा लामिछानेमाथी सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्दीकरणका मुद्दा चलिरहेको अवस्था छ ।
सोही अभियोगमा सभामुख देवराज घिमिरेले लामिछानेलाई पदबाट निलम्बन गरेका थिए । लामिछाने कास्कीबाट ६५ लाख, काठमाडौँबाट ६० लाख, रूपन्देहीबाट १ करोड तथा चितवनबाट ५४ लाख रुपैयाँ तिरेर धरौटीमा रिहा भएका छन् ।
उनलाई अब पर्सामा मुद्दा हाल्ने तयारी भइरहेको छ ।
अहिलेसम्म उनले २ करोड ७९ लाख धरौटी बुझाइसकेका छन् ।