अवैध मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २६ शनिबार
907
Shares
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले कानूनी प्रक्रिया पूरा नगरी जनकपुर पिडारी चौकस्थित सञ्चालनमा रहेको मुस्कान अस्पताल बन्द गर्न निर्देशन दिएका छन्।
शुक्रबार राति ११ बजे मुस्कान अस्पतालमा पुगेका मुख्यमन्त्री सिंहले दर्ता, अनुमति लगायतको कागजात अस्पताल सञ्चालकसँग माग गरेका थिए । सो क्रममा सम्बन्धित निकायमा दर्ता नै नगरी अस्पताल सञ्चालन भइरहेको देखिएपछि मुख्यमन्त्री सिंहले शनिबार बिहानसम्म त्यहाँ भर्ना रहेका बिरामीलाई अर्को अस्पतालमा व्यवस्थापन गरी अस्पताल बन्द गरेर साँचो आफूलाई बुझाउन निर्देशन दिएर फर्केका थिए।
‘यो अस्पताल विधिवत प्रक्रिया पूरा गरेको देखिएन’ मुख्यमन्त्री सिंहले सञ्चालकलाई भने, ‘शनिबार बिहानसम्म आफैँले बन्द गरी साँचो मलाई जिम्मा लगाउनुस् । नभए मेरो टोली आउँछ र सबै सामान उठाएर लान्छ ।’
कानूनी प्रक्रिया पूरा गरी संचालित स्वास्थ्य संस्थालाई व्यवस्थित गर्दै अवैधानिक अस्पतालहरु बन्द गराउने जिम्मेवारी प्रदेश स्वास्थ्य मन्त्रीको हो । तर मन्त्रीले स्वास्थ संस्थाबारे चासो नदेखाएपछि मुख्यमन्त्री सिंहले अग्रसरता लिएका हुन् ।
पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले स्वास्थ संस्थाको अनुगमन अभियान शुरु गरेका थिए। तर मधेस प्रदेशमा उनको स्थानमा स्वास्थ मन्त्रीको जिम्मेदारी शत्रुधन सिंह कोइरीले पाएदेखि स्वास्थ संस्थाको अनुगमन निरीक्षण रोकिएको छ ।
प्रदेशको राजधानी जनकपुरदेखि आठै जिल्लामा प्रक्रिया पूरा नगरेको अवैध अस्पतालहरु छ्याप्छ्याप्ती सञ्चालनमा रहेको तथा उपचारको नाउँमा बिरामीहरुलाई लाखौँ ठगिरहेको गुनासो आउन थालेपछि मुख्यमन्त्री सतिशकुमार सिंह आफैँ अग्रसर भएर मध्यरातमा अनुगमन शुरु गरेका हुन् ।