तस्कर र वीरगञ्ज भन्सारका कर्मचारीले किसान र नागरिकलाई क्षति गरिरहेको घटना सार्वजनिक
दिपेन्द्र चौहान,
प्रकाशित २०८१ फागुन २ शुक्रबार
1.4k
Shares
वीरगञ्ज । विस्तारै माछा उत्पादनमा आत्मनिर्भर हुन लागेको देशलाई डुबाउँदै तस्कर र वीरगञ्ज भन्सारका भ्रष्ट कर्मचारीहरूले नेपालका किसान र नागरिकमाथि क्षति पुर्याइरहेको घटना सार्वजनिक भएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाबाट खटेको टोलीले पूर्व पश्चिम राजमार्गको कन्काई नगरपालिका-१ स्थित जामुनखाडी नजिकैबाट एउटा पिकअपलाई खान अयोग्य रहेको भारतीय माछासहित माघ २८ गते सोमबार बिहान नियन्त्रणमा लिएपछि यस बदनियतपूर्ण कार्यको भण्डाफोर भएको हो ।
सुरज फिश सप्लायर्सका संचालक वीरगञ्ज महानगरपालिका बस्ने विपिन साह तुरहाले उक्त माछा भारतबाट झिकाई वीरगञ्ज भन्सार कार्यालय(आई सी पी)र क्वारेन्टाइन कार्यालयका कर्मचारीहरुलाई मिलाएर पास गराई झापा जिल्लामा पठाउँदा १४ सय केजी विभिन्न जातका भारतीय माछा नियन्त्रणमा लिएर सशस्त्र प्रहरीले नष्ट गरेको छ।
जसको नेपाली बजार मूल्य अन्दाजी ४ लाख २० हजार रुपैयाँ रहेको जनाइएको छ। प्र-१-०२-च- ४८४९ नं को पिकअपमा माछा बरामद गर्दा न्यु आदर्श फिस सेन्टर इनरुवाले सुरज फिस सप्लायर्सबाट खरिद गरी झापा गाउँपालिकाको वसन्त माछा पसल र मा लक्ष्मी फिश सप्लायर्स भद्रपुरको नाउँबाट बिल काटेको कागजात सशस्त्र प्रहरीले बरामद गरेको थियो।
नेपालमा गत २०७९/८० को आवमा नेपालमा ३ हजार ७ सय ३२ टन माछा आयात भएको थियो । आ व २०८०/८१ मा एक हजार टन भन्दा बढी ४ हजार ८ सय ८६ टन माछा आयात भएको थियो।
नेपालमा माछाबाट वार्षिक ५२ अर्ब ५७ करोड ४४ लाखको कारोबार हुने गरेको छ । नेपालमा साना ठूला ५२ हजार २ सय ९७ पोखरी छन् । जुन १५ हजार ६ सय ४४ हेक्टरमा फैलिएको छ । जसबाट वार्षिक ८४ हजार ३९ टन माछा उत्पादन भएको छ ।
भारतको आन्ध्र प्रदेशबाट वीरगञ्जसम्म माछा आइपुग्दा घटीमा ४/५ दिन लाग्ने गरेको र सो माछालाई सड्न नदिन 'फर्मालिन' नामक केमिकलको प्रयोग हुने गरेको छ।
वार्षिक ५२ अर्बको यो कारोबारमा माफियाहरुको गिद्धे दृष्टि परेको छ।