गान्धीराजको ‘सुस्वास्थ्य’ : मनोयोगले परिमार्जन र परिष्कार पाएको पुस्तक
मानसाग्नि,
प्रकाशित २०८१ फागुन ३ शनिबार
645
Shares
बिहानीको सूर्योदय र चराको संगीतसँगै म साधनाको स्रोतबाट उठेर छतमा पुगेकै थिएँ, फोनको घण्टी बज्यो । मेरा लागि र साहित्य साधकहरुका लागि प्रिय प्रा.डा. गोविन्दराज भट्टराईको सुमधुर स्वर संगीत गुन्जियो ।
‘सुस्वास्थ्य’ नामक किताबका लेखक गान्धीराज काफ्ले भूमिका लेखाउन म कहाँ आउनु भएको थियो । यो किताबको गहिराइमा पुगेर सुझाव, सल्लाह र भूमिका मैलेभन्दा तपाईंले राम्रो दिन सक्नुहुन्छ भनेर पठाएको छु , सहयोग गरिदिनु होला । दुई तीन दिनपछि पहिलो पटक गान्धीराज काफ्लेसँग फोन संवाद र भेट पनि भयो ।
हजुरआमा, आमा र बाको प्रेम, प्रसाद र प्रार्थनाले फुलेको कमल म । उनको जीवन पनि त्यही त्रिवेणीले पवित्र रहेछ । बाल्यकालमा दुब्लो–पातलो र स्वास्थ्यमा देखिएका समस्याहरुको समाधानमा चिकित्सक र चिकित्सालय चहारेर थाकेका उनी जवानीमा स्वास्थ्यको नालीबेली खोज्न लागे ।
यही खोजले विश्वविख्यात राजनीतिज्ञ, साहित्यकार एवम् अन्यको स्वास्थ्य कस्तो थियो र कसरी व्यवस्थापन गर्दथे भन्ने खोज्न थाले । यसै खोजको उपलब्धि ‘सुस्वास्थ्य’ हो भन्ने मलाई लाग्दछ । मैले तीन पटक दोहोर्याएर पढेँ ।
हरेक पटक सुझाव–सल्लाह दिन्थेँ । उनले मनोयोगले परिमार्जन र परिष्कार गर्दथे । पत्रकार र लेखकका रुपमा लामो समय अक्षरको उपासना गरेका गान्धीराज काफ्ले आफैँमा सिद्धहस्त लेखक हुन् । सत्य–तथ्यको गहिराइमा पुगेर लेख्ने लेखकमध्ये उनी पनि एक हुन् ।
त्यसैले त झन्डै एक वर्ष पाण्डुलिपि मैले राखेर पटक पटक बोलाउँदा पनि मुस्कान र विनम्रतामा कुनै कमी हुँदैनथ्यो । उनमा राम्रो र सिद्धहस्त लेखक बन्ने संभावना उच्च छ । अक्षरको साधना निरन्तर चलिरहोस् ।
भाग–एकमा महात्मा गान्धी, बीपी कोइराला, गणेशमान सिंह, सन्त कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, वीरनारायण चौधरी, मोरारजी देसाई, जहाँगिर टाटा, सत्यनारायण गोयन्का, लियो टाल्सटाय, हेलन केलर र विस्मार्कका जीवनशैली, स्वास्थ्य अवस्था र व्यवस्थापनका बारे उल्लेख छ । यी लेखबाट उनीहरुको स्वस्थ्यकर दीर्घजीवनको कथामात्र जानिँदैन स्वयम्लाई कसरी स्वस्थ्य राख्ने भन्ने सूत्र पनि भेटिन्छ ।
भाग–दुईमा स्वास्थ्य विचार अन्तर्गत स्वास्थ्यका आधारशिलाका बारेमा उत्खनन गरिएको छ । शरीर, मन र चेतनालाई नजिकबाट बुझेर अन्तरसम्बन्धबाट सम्पूर्ण स्वास्थ्य कसरी प्राप्त गर्न सकिन्छ ? त्यसको चेत र चिन्तन प्रष्ट्याउन खोजिएको छ । यो महत्वपूर्ण र मूल्यवान छ । महर्षि पतञ्जलिदेखि महर्षि चरकसम्म र अध्यात्मदेखि अन्नपानीसम्म छ । सोचदेखि सूचनासम्मले स्वास्थ्यको मूललाई यस खण्डमा प्रस्ट्याउने प्रयत्न छ ।
स्वास्थ्यलाई केन्द्रमा राखेर यसरी गरिएको व्यक्ति विश्लेषण सायद नेपाली भाषामा पहिलो हो । कसैको पदचिन्हलाई नपछ््याई स्वयम्को सोच र सिँचनद्वारा यति राम्रो ग्रन्थपुष्प दिनुले लेखकको लेखन कलालाई उचाइ दिएको छ ।
यसमा सङ्ग्रहित केही व्यक्तिसँग म नजिक थिएँ । प्राकृतिक जीवनशैली र प्राकृतिक चिकित्साका प्रवल समर्थक र प्रचारक मोरारजी देसाईसँग उनका अन्तिम दशवर्षमा प्राकृतिक चिकित्साको नेपाल र भारतमा विकास एवम् विस्तारका लागि धेरै पटक भेटघाट भएको थियो ।
क्यान्सरलाई कर्मयोगले जितेका, सकारात्मक सोच र प्रवल इच्छाशक्ति भएका बीपी कोइरालाको रोग र देशको पीडाका बीचबाट निडरतासाथ मुस्कुराउँदै बाँचेको जीवन लोभलाग्दो थियो । गणेशमान सिंहलाई कडा कब्जियत र अन्य समस्याहरुमा प्राकृतिक चिकित्साका माध्यमबाट सहयोग पुर्याएको बेला उनको सरल जीवन र त्यागले सिर्जित स्वास्थ्य नजिकबाट देखेको हुँ ।
कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालाई प्राकृतिक चिकित्साका माध्यमबाट स्वास्थ्य राम्रो बनाउने कला सिकाउने पटकपटक मौका पाएकै हुँ । सत्यनारायण गोयन्कासँग भारतीय प्राकृतिक चिकित्साका धरोहर विठ्ठलदास मोदीका माध्यमबाट पटक पटक सहजीवन पाएको हुँ ।
मेरा प्रिय लेखक–अन्वेषक लियो टाल्सटाय र फ्रायडलाई सर्वाङ्गीण पढेको छु । यतिबेला यो ‘सुस्वास्थ्य’ पुस्तक पढिरहँदा लेखकले गरेको मेहनत र सत्यतथ्यप्रति हार्दिकता व्यक्त गर्दछु । कमै लेखकले गहिराइमा पुगेर लेख्ने गरेको पाइन्छ । यस अर्थमा गान्धीराज काफ्ले एक सफल लेखकको रुपमा देख्दछु ।
यो पुस्तक हरेक पुस्तकालय र पुस्तासम्म पुग्न जरुरी छ । लेखकको लेखनी अविच्छिन्न चलिरहोस्, यही मङ्गल कामनासहित यस क्षणका लागि बिदा । (साधनाको क्षेत्रमा ‘मानसाग्नि’का नामबाट परिचित डा. हरिप्रसाद पोखरेल प्राध्यापक, चिकित्सक र लेखक हुन् । पुस्तकमा उनले लेखेको भूमिकाबाट)