पूर्व राजामाथि प्रचण्डको टिप्पणी- इतिहासको रछ्यानमा मिल्क्याइएका तत्त्वहरू फेरि सल्बलाए [भिडियो]
कांग्रेस र एमालेलाई अन्तर्राष्ट्रिय सङ्घ संस्थाले तोकेरै ठग भने
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १० शनिबार
711
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै इतिहासको रछ्यानमा मिल्क्याइएका तत्त्वहरू सल्बलाएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिले देशमा राजनीतिक परिस्थिति चुनौतीपूर्ण रहेको दाबी गरे । उनले सरकारको उपलब्धि दिनप्रतिदिन नराम्रो हुँदै गएको र जनतामा सरकारप्रति आक्रोश र असन्तुष्टि पोखिँदै गएको बताए ।
उनले सरकारप्रतिको आक्रोश र असन्तुष्टिलाई लिएर पूर्व राजा शाहले पुनरागमन गर्न भन्दै दिवा स्वप्न देख्ने गरेको बताए । उनले सरकारप्रतिको आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिहरूले आफ्नो आफ्नो हिसाबले प्रयोग गर्ने कोसिस गरिरहेको बताए ।
उनले भने, ‘अहिले देशमा राजनीतिक परिस्थिति अलि चुनौतीपूर्ण नै छ । आजै पनि तपाईँले मिडियामा हेर्नुभयो होला सरकारको पर्फमेन्स दिनप्रतिदिन नराम्रो हुँदै गएको छ, जनतामा दिनप्रतिदिन सरकारप्रति असन्तुष्टि र आक्रोश बढ्दै गएको छ । सरकारप्रतिको यो आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिहरूले आफ्नो आफ्नो हिसाबले प्रयोग गर्ने कोसिस पनि गरिरहेका छन् । मलाई लाग्छ तपाईँहरू सबैले यो कुरालाई महसुस गरिरहनुभएकै छ । अझ त्यसमा पनि इतिहासमा इतिहासको एउटा रछ्यानमा मिल्क्याइएका तत्त्वहरू पनि फेरि एकचोटी पुनरागमन हुने हो की भन्ने दिवा स्वप्नमा छन् र त्यस खालका प्रचारबाजीहरू पनि भइरहेका छन् ।’
प्रचण्डले अन्तर्राष्ट्रिय सङ्घ संस्थाले नेपाली कांग्रेस र नेकपा एमालेलाई तोकेरै ठगहरू हुन् भनेको आरोप लगाए । उनले अहिले देश ग्रे लिस्टमा पर्न लागेको र भ्रष्टाचारमा अग्रणी भएको बताए । सरकारलाई सिधै अन्तर्राष्ट्रिय सङ्घ संस्थाले अपमानजनक ढङ्गले सरकार भ्रष्टाचारमा लिप्त भनेको पनि बताए ।
प्रचण्डले भने, ‘अहिले फेरि नेपाल आर्थिक रूपले ग्रे लिस्टमा र भ्रष्टाचारमा अग्रणी भएको छ । सरकारलाई सिधै अन्तर्राष्ट्रिय सङ्घ संस्थाले बढो अपमानजनक ढङ्गले सरकार भ्रष्टाचारमा लिप्त छ । ठगहरू हुन् यी पार्टीहरू भनेर कांग्रेस र एमालेलाई त ताकेर नै भनेको पनि तपाईँ हामीले देखिरहेका छौँ ।’ प्रचण्डले अब माओवादी केन्द्र सङ्घ र प्रदेशमा प्रतिक्रियावादी र दलालहरूसँग मिलेर सरकार बनाउनेतिर नजाने दाबी गर्दै आफ्नो खुट्टामा उभिने बताए ।