arrow

अमेरिकालाई आफ्नो आवाज सुनाउन युरोप आतुर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १३ मंगलबार
european-union-eu.jpg

काठमाडौँ ।  युरोपेली सङ्घ (ईयू) का विदेश नीति प्रमुख काजा कल्लासले आफ्ना समकक्षी मार्को रुबियोसँग वार्ताका लागि मङ्गलबार अमेरिका जाने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मस्कोसँग तीन वर्षदेखि जारी युद्ध अन्त्यका लागि वार्ता सुरु गरेर किएभ र यसका समर्थकहरूलाई किनारा लगाएपछि युरोप अमेरिकालाई आफ्नो आवाज सुनाउन आतुर छ ।

“तपाईं रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग जे चाहनुहुन्छ त्यही छलफल गर्न सक्नुहुन्छ, तर यदि यो युरोप वा युक्रेनको कुरा आउँछ भने युक्रेन र युरोपले पनि यो सम्झौतामा सहमति जनाउनुपर्छ,” सोमबार ईयूका विदेशमन्त्रीहरूको बैठकमा पत्रकारहरूसँग अमेरिकी राष्ट्रपतिलाई सङ्केत गर्दै कल्लासले भने । 

अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनलाई कमजोर बनाउन चाहेको आशङ्कालाई बढावा दिएका छन् । उनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीविरुद्ध व्यापक दवाव सिर्जना गरेका छन् । यसले रूसी बयानबाजीलाई प्रतिबिम्बित गर्दछ, जसमा उनलाई ‘तानाशाह’ पनि भनिएको छ।

“संयुक्त राज्य अमेरिकाबाट आएका सन्देशहरू हेर्ने हो भने, यो स्पष्ट छ कि त्यहाँ रूसी आवाजलाई धेरै बलियो रूपमा प्रतिनिधित्व गरिएको छ,” कल्लासले भने ।

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोनले सोमबार ह्वाइट हाउसमा अमेरिकी नेतालाई भेट्ने कार्यक्रम तय भएपछि ट्रम्प प्रशासनमा युरोपेली समुदायको बढ्दो पहुँचबीच कल्लासको वासिङ्टन भ्रमण हुन लागेको हो ।

ईयूका शीर्ष कूटनीतिज्ञले ब्रसेल्सका विदेशमन्त्रीहरूले किएभलाई प्रमुख हतियारको आपूर्ति बढाउने प्रस्तावमा छलफल गर्ने तर आपूर्तिका लागि समग्र यूरो मूल्यमा सम्झौता हुने सम्भावना नरहेको बताएका छन् । 

समूहले मस्कोमाथि औपचारिक रूपमा १६ औँ चरणको प्रतिबन्ध लगाउने छ जसमा रूसबाट आल्मुनियम आयातमा प्रतिबन्ध पनि समावेश छ।

भेटअघि अमेरिकाले संयुक्त राष्ट्र सङ्घको महासभामा युक्रेनी प्रस्तावको विरुद्धमा मतदान गरेको छ।  अमेरिकाले आफ्नो पुरानो नीति विपरीत युरोपेली देशहरूको विरुद्धमा गएर यो प्रस्तावको विरुद्धमा मतदान गरेको हो। रुस र युक्रेन बीचको युद्ध सुरु भएदेखि पहिलो पटक अमेरिका र इजरायलले युक्रेनको विरुद्धमा मतदान गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ