arrow

सुस्वास्थ्यः साहित्य र स्वास्थ्यको सम्मिश्रण

logo
प्राडा अर्जुनदेव भट्ट,
प्रकाशित २०८१ फागुन १७ शनिबार
suswastha-arjundev-bhatta.jpg

‘सुस्वास्थ्य’ पुस्तकका दुई शीर्षक तेस्रो र चौथो पढ्न पाउँदा रचनाकार गान्धीराज काफ्लेसँगको पचास वर्ष पुरानो चिनापर्ची बिउँत्याउने मौका मिल्यो । 

त्यसबेला उहाँ अलि दुब्लो, पातलो, बालकै हुनुहुन्थ्यो, जनकपुरमा । अहिले काठमाण्डौँमा सेवा निवृत्त भइसक्नु भएछ , साथै रहेछ मधुमेह पनि । उस्तै, निकै दुब्लो । यो पनि रुपान्तरणको जल्दोबल्दो उदाहरण हो ।

अब फेरि “सुस्वास्थ्य”को सन्दर्भ नै जोडौँ । तेइस विभिन्न शीर्षक  भएको यो पुस्तक दुई भागमा बाँडिएको छ । भाग – एक स्वास्थ्य र व्यक्तित्वले पन्ध्र शीर्षक अँगाल्छ र नेपाल, भारत र विश्वका केही प्रमुख ऐतिहासिक व्यक्तित्वको जीवनी दर्पणको रुपमा झल्किन्छ । भाग–दुईको स्वास्थ्य विचारले पनि आठ शीर्षक ओगट्छ । 

व्यक्तित्वमध्ये बीपी कोइरालाको चर्चा गर्दा उहाँ झन्डै चालीस वर्ष घाँटीको क्यान्सर पीडित भएर पनि कर्म र जीवनलाई नै लक्ष्य बनाउनु भएकाले शारीरिक उर्जालाई निभ्न दिनु भएन । 

मनोबल उच्च राख्दै देश प्रतिको सङ्कल्प पूरा गर्न अन्तिम समयसम्म सव्रिmय रहनु भयो । हुन त उहाँको मनमा पनि अधीरता, स्वास्थ्य प्रतिको चिन्ता तथा कति पटक निदाउन नसकेकोमा आफ्नै किसिमले पीडा व्यक्त नभएको होइन; तर पनि उहाँ तनावमा पनि मुस्कुराउन सक्ने व्यक्तित्व हुनुहुन्थ्यो ।

उहाँ छ महिना घाँटीको उपचारमा बम्बैमा रहँदा आफ्नो रोगबारे अनभिज्ञ जस्तै हुनुहुन्थ्यो । त्यो आजको समयको जस्तो बिरामीलाई सबै कुरा खुलाएर भन्ने २१ सौँ शताब्दी थिएन । चिकित्सकले तोकेको जीवन चव्रmको अन्तिम रेखा सिरोपर गरी मृत्यु स्वीकार्न विवश हुन्थे बिरामीहरु तर बीपी देश विकासप्रतिको निष्ठा र सकारात्मक सोचले लामो समय व्याधिसँग लडिरहनु भयो ।      
                        
चिकित्सक भएको कारण म प्रत्येक दिन अनुभूति गरिरहेको हुन्छु जीवनमा लक्ष्य प्रष्ट अगाडि सारेर यात्रा कोर्नेहरु आफ्ना व्याधिहरुलाई केही हदसम्म कुल्चेर भएपनि अगाडि बढ्न सक्षम हुन्छन् । 

जबकि कर्म नगर्ने र लक्ष्य नभएका बिरामी जीवन चव्रmको पुग्न सक्ने रेखासमेत छोट्याउछन् । जीवनलाई सङ्घर्षशील र लक्ष्य निर्दिष्ट बनाउन मानिस शारीरिक र मानसिक रुपमा स्वस्थ्य हुनुपर्छ ।
 
‘लौह पुरुष’ गणेशमान सिंहको स्वास्थ्य कस्तो थियो त ? थिए उनी बचपन र युुवा अवस्थामा चुनौतीलाई मुक्काले बजार्ने योद्वा । झुक्न नजान्ने र चाकडीको घोर विरोधी । मेहनती र लक्ष्य निर्दिष्ट आवश्यक पर्दा । 

गणेशमान रोग व्याधिलाई मनोबलले किच्ने व्यक्ति हुन् । वीर अस्पतालमा उहाँको उपचारको सिलसिलामा मैले उहाँसँग निकै समय बिताएको छु । उहाँको मृगौलाका पत्थरी र प्रोस्टेट समस्याबारे नजिकबाट परिचित छु । उहाँप्रति हामी बढी चिन्तित हुन्थ्यौँ, उहाँ भने त्यसलाई आफूले पचाई सकेकोे भनेर अभिनय गर्नुहुन्थ्यो । 

जे होस्, मानसिक रुपमा कमजोर व्यक्तिभन्दा मनोबल उच्च भएको मानिसले रोगव्याधि बढी सहज रुपमा सामना गर्न सक्छ । कर्म, जीवनलक्ष्य र मनोबल रोगसँग लड्न चाहिने महत्वपूर्ण हतियार हुन् । 

सङ्घर्षशील व्यक्ति कठिन जीवन सहज जिउन र रोगसँग लड्न सबल हुन्छ । त्यस्तै सद्गुण अभ्यास गर्ने व्यक्ति स्वस्थ्य हुने सम्भावना पनि उच्च रहन्छ । 

पचास वर्ष भन्दा लामो चिकित्सा पेशाको महासागरमा पौडिदा म के अनुभूति गर्दैछु भने स्वास्थ्य सर्वप्रथम मानिसको आफ्नै हातमा छ । 

उसको सोच, कर्म, संघर्ष र मनोबलको खम्बामा ऊ आफैँले स्वस्थ्य, सव्रिmय र अनुशासित जीवनको बलियो कोठा खडा गर्न सक्छ । तर यो पनि बिर्सनु हुन्न कि स्वस्थ्य रहने एक, दुई, तीन उपाय भनेर किटान गर्ने कुरो भने हुँदै होइन । 

गान्धीराज काफ्लेको यो पुस्तकले थुप्रै पाठकहरुको स्वास्थ्य प्रतिको चेतना अभिवृद्वि गराएर खुशी र सुखी जीवन बाँच्न धेरैलाई सहयोग पुर्याउनेछ भन्नेमा मेरो विश्वास छ । 

यो पुस्तक वर्तमान नेपाली साहित्यको नवीन प्रयोग हो । साहित्य र स्वास्थ्यको सम्मिश्रण जसले कुनै पनि सचेत व्यक्तिलाई आकर्षित नगरी रहन सक्तैन । के सक्रिय र  स्वस्थ्य जीवन नचाहने कोही मानिस हुन सक्छ ?

स्वास्थ्यले गान्धीराज काफ्लेजीको जाँगर, जोस, विचारशक्ति र लेखन कलालाई साथ दिइरहोस् । मेरो हार्दिक शुभकामना उहाँ र उहाँको परिवारमा ! (सुस्वास्थ्यको भूमिकाबाट)

   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ