arrow

चौरासीमा एकल बहुमत ल्याउन अहिलेदेखि नै केन्द्रित हुन नेता कार्यकर्तालाई  देउवाको निर्देशन

logo
सुनिल आउजी, 
प्रकाशित २०८१ फागुन २७ मंगलबार
deuba-81-11-27.jpg

धनगढी । नेपाली कांग्रेसको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रम धनगढीमा शुरु भएको छ । प्रशिक्षणको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा बाल्दै सभापति देउवाले आगामी निर्वाचन २०८४ मा केन्द्रित भएर पार्टीलाई अघि बढाउन आवश्यक रहेको बताए  । उनले  पार्टीलाई एकढिक्का बनाउँदै २०८४ मा केन्द्रित भएर काम गर्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिए ।

सभापति देउवाले आगामी निर्वाचनमा बहुमत ल्याउन आपसमा मेलमिलाप, समझदारी कायम गरि जनताको मन जितेर एकताबद्ध भएर अघि बढ्नु पर्ने बताए । 

सुदूरपश्चिम प्रदेशबाटै जितको लहर ल्याउने गरी अहिलेदेखि निर्वाचनको तयारी गर्न पनि सभापति देउवाले निर्देशन दिए । उनले प्रशिक्षण कार्यक्रमले नेता कार्यकर्तामा थप उत्साह, जाँगर ल्याउने विश्वाससमेत ब्यक्त गरे । 

उद्घाटनका क्रममा पार्टी उपसभापति पूर्णबहादुर खड्का, प्रदेश सभापति वीरबहादुर बलायर लगायतले पार्टीलाई बलियो बनाएर लैजानु पर्ने बताउँदै त्यसका लागी सबै नेता कार्यकर्ता एकजुट भएर लाग्नु पर्ने उल्लेख गरे ।

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिमका नौ वटै जिल्लाबाट गरी डेढ सय अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको छ । प्रशिक्षण कार्यक्रम आज र भोलि दुई दिनसम्म चल्ने नेपाली कांग्रेस प्रदेश समितिले जनाएको छ ।

यसैबीच, देउवा धनगढीमा संचालन भइरहेको महायज्ञमासमेत सहभागी भएका छन् । सुदूरपश्चिम साहित्य समाजद्वारा आयोजित महायज्ञमा मंगलबार दिउँसो सहभागी भएर सभापति देउवाले शुभकामना दिए । 

शुभकामना दिँदै सभापति देउवाले नेपाल धार्मिक देश भएकाले यस्ता यज्ञ महायज्ञले सबैलाई जोड्ने बताए । उनले हिन्दू बाहुल्य भएको देशमा धार्मिक गतिविधि बढेमा धार्मिक प्रर्यटकको समेत संख्या बढ्ने र यसले राष्ट्रलाई फाइदा पुग्ने बताए । सो अवसरमा सभापति देउवाले कथा वाचिका राधिका दासीबाट प्रसादसमेत ग्रहण गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ